डिजाइन नै गलत भएकाले कमला पुल भासियोः पूर्वमन्त्री झा – Nepal Press

डिजाइन नै गलत भएकाले कमला पुल भासियोः पूर्वमन्त्री झा

जनकपुरधाम । पूर्वमन्त्री रामचन्द्र झाले गलत डिजाइनकै कारण सिरहा–धनुषा जोड्ने हुलाकी सडक अन्तर्गतको कमला पुल भासिएको बताएका छन् ।

पुल भासिएपछि अवलोकन गर्न पुगेका नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले भने, ‘एक त डिजाइन नै गलत थियो ।

डिजाइनअनुसार काम पनि भएन । त्यसैले पुल भासियो । मैले त शिलान्याशका बेला नै डिजाइन सच्याउन भनेको थिएँ ।

पूर्वपश्चिम राजमार्गमा रहेको कमला पुल करिब ८ सय मिटरको छ । हुलाकी सडकसम्म आउँदा थप चार नदी मिलेपछि नदी फराकिलो बनेको छ । तर ७ सय मिटर मात्र पुल बनाउने डिजाइन भएको थियो । उनले भने– कम्तिमा एक हजार मिटरको पुल बन्नुपर्थ्यो ।

उनका अनुसार पिलरको गहिराई ३७ मिटर हुनुपर्ने स्टमेटमा उल्लेख छ । तर मात्र १७ मिटर गहिराइमा पिलर खडा गरियो । यसमा ठूलो रकमको चलखेल भएको शंका गरिएको छ । मन्त्री, नेता र तत्कालीन डिई अर्जुन यादवको मिलोमतोमा पप्पु कन्ट्रक्सनले गुणस्तरहीन काम गरेको उनको आरोप छ ।

‘पुलको डिजाइन सच्याउन सोहीबेला जनकपुरस्थित मुजेलियामा रहेको यातायात कार्यालय घेराउसम्म भएको थियो’, उनले भने, ‘तर हाम्रो कुरा कसैले सुनेन । परिणामतः पुल भासियो ।’

पुल भासिएको विषयमा छानविन गरी दोषीमाथि काराही गर्नुपर्ने सिरहा– धनुषाका सो क्षेत्रका बासिन्दाको पनि माग छ ।

पुलका १२ पिलरमध्ये दुईवटा भासिएको छ । बिहीवार एउटा पिलर मात्र भासिएको थियो । तर शुक्रबार अर्को पिलर पनि भासिएको छ ।

४२ महिनामा निर्माण गर्नेगरी पप्पु–लुम्बिनी जेभीले पुलको ठेक्का लिएको थियो । तर ७ वर्षमा पप्पुले पिलर मात्रै ठड्यायो । पछि घाटा लाग्ने भन्दै काम नै छाड्यो । त्यसपछिको काम लुम्बिनी बिल्डर्सले गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर