प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा- फैसलाअघि ७ घण्टाको बहस बाँकी – Nepal Press

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा- फैसलाअघि ७ घण्टाको बहस बाँकी

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अब बहसका लागि ७ घण्टाको मात्रै समय बाँकी छ । संवैधानिक इजलासले मुद्दा छिटो किनारा लगाउन बहसका लागि समय व्यवस्थापन गरेको थियो ।

सोहीअनुसार अब बहसका लागि ७ घण्टा मात्रै समय बाँकी छ । बाँकी ७ घण्टामध्ये २ घण्टा सभामुख पक्षका कानून व्यवसायीलाई छुट्याइएको छ । सभामुख पक्षका कानून व्यवसायीले आज बहस गर्नेछन् । वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लवकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपाने तथा अधिवक्ताहरु मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले सभामुखको तर्फबाट बहस गर्नेछन् । रिटमा विपक्षी बनाइए पनि सभामुख अग्निप्रसाद सापकोट रिट निवेदनको पक्षमा अर्थात् प्रतिनिधिसभा विघटनको विपक्षमा रहेका छन् ।

सभामुख पक्षको बहस सकिएपछि रिट निवेदक पक्षको जवाफी बहस हुनेछ । जवाफी बहसका लागि ३ घण्टा समय छुट्याइएको छ । वरिष्ठ अधिवक्ताहरु शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल र बद्रीबहादुर कार्कीले जवाफी बहस गर्नेछन् । आज सभामुख पक्षको बहस सकिएलगत्तै जवाफी बहस सुरु हुने सम्भावना छ ।

जवाफी बहसपछि एमिकस क्यूरीको तर्फबाट नेपाल बार र सर्वोच्च बारका २–२ जना गरी ४ जना कानून व्यवसायीले आफ्नो राय प्रस्तुत गर्नेछन् । एमिकस क्यूरीमा नेपाल बारबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठक रहेका छन् । सर्वोच्च बारबाट एमिकस क्यूरीमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहेका छन् ।

संविधानको धारा ७६ (५) अनुसार सरकार गठनका लागि दावी नपुगेको ठहर राष्ट्रपतिले गरेपछि प्रधानमन्त्रीको सिफारिसमा गत जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन भएको थियो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवसहित १ सय ४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले रिट दायर गरेका थिए । रिटमा प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश, निर्वाचन घोषणा बदर लगायतका मागदावी गरिएको छ ।

संवैधानिक इजलासको व्यवस्थापन अनुसार ७ घण्टामा बहस सकिने हुँदा ढिलोमा बुधबारसम्म फैसला आउन सक्ने आँकलन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर