माधव पक्षलाई केन्द्रीय कमिटीको अल्टिमेटम– एमाले रोज्ने कि विपक्षी गठबन्धन ? (भिडियो) – Nepal Press

माधव पक्षलाई केन्द्रीय कमिटीको अल्टिमेटम– एमाले रोज्ने कि विपक्षी गठबन्धन ? (भिडियो)

काठमाडौं । माधव नेपाल पक्षको सहभागिताबिनै नेकपा एमालेको १३ औं केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । अब १४ औं केन्द्रीय कमिटी बैठक प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले फैसला गरेको भोलिपल्ट बस्ने निर्णय समेत भएको छ ।

माधव नेपाल पक्षसँग सहमति हुन नसकेपछि एमालेले अब आइतबार साँझसम्मको डेडलाइन तोकेको छ । आइतबार साँझसम्म विपक्षी गठबन्धनमा लागेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन विघटित प्रतिनिधिसभाका २३ जना सदस्यलाई निर्देशन दिएको छ ।

आइतबार साँझसम्म हस्ताक्षर फिर्ता नभए उनीहरु एमालेमा नरहेको स्वतःसिद्ध हुने बैठकपछि प्रचार विभागका उपप्रमुख सूर्य थापाले बताए । अध्यक्ष ओलीले पनि सर्वोच्चको फैसला आउँदासम्म ज–जसको हस्ताक्षर कायम रहन्छ उनीहरु एमाले नहुने बताइसकेका छन् ।

सर्वोच्चको फैसलासँगै एमाले विभाजनको औपचारिक प्रक्रिया पूरा हुने संकेत देखिएका छन् । वरिष्ठ नेता माधव नेपालले हस्ताक्षरकर्ता सांसदहरुसँग शनिबारै छलफल गरेका थिए । उनले हस्ताक्षर फिर्ता लिनु आत्महत्यासरह हुने भन्दै केपी ओलीसँग मिल्न नसकिने बताइसकेका छन् ।

माधव नेपाल पक्षधर वार्ताकार नेताहरुले समेत उनलाई मनाउन गरेको प्रयास असफल भएको छ । बिहीबार साँझ दुवै पक्षका दोस्रो तहका नेताहरुबीच भएको सहमति लागू नभएपछि एकताको सम्भावना टरेको हो । यद्यपि, माधव नेपाल पक्षका वार्ताकार नेताहरुले अझै सम्भावना बाँकी रहेको बताइरहेका छन् ।

तर शनिबार दिउँसो समिट होटलमा बसेको बैठक निष्कर्षमा पुग्न सकेन । माधव नेपालले हस्ताक्षर फिर्ताको ओलीको शर्त मानेर एकताको औचित्य नरहेको बताएपछि परिस्थिति अर्को दिशामा गएको छ । संसद विघटन र अदालतमा विचाराधीन मुद्दासँग एमालेको एकताको सम्बन्ध नरहेको नेपाल पक्षको तर्क छ ।

तर एमालेले भने विपक्षी गठबन्धन रोज्ने कि एमाले रोज्ने भन्ने अन्तिम विकल्प दिएको छ । यसबीचमा विपक्षी गठबन्धन छाडेर फर्किनेलाई एमालेमा पूर्ववत् जिम्मेवारी दिइने महासचिव ईश्वर पोखरेलले बताए । तर विपक्षी गठबन्धनमा जानेहरु एमालेबाट स्वतः बाहिरिएको मानिने उनको भनाइ छ ।

एमालेको दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटी बैठक बोलाउनुको मुख्य उद्देश्य सर्वोच्च अदालतको आदेश कार्यन्वयन र माधव पक्षको मागको सम्बोधन नै थियो । माधव पक्ष बैठकमा सहभागी नभए पनि अब केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा भोलि विपक्षी गठबन्धनमा लागेका सांसदलाई कारवाही गर्ने आधार ओलीले बनाएका छन् ।

माधव नेपाल ओलीसँग वार्ता गर्ने वा एमालेमा क्रियाशील हुने सम्भावना कम्तिमा पनि सर्वोच्च अदालतको फैसलाअघि छैन । उनी आफ्नो पक्षका नेताहरुको दबाबमा परिन्छ भनेर शुक्रबार सम्पर्कविहीन समेत भए । नेपालले अलग पार्टीको अभ्यास गरिसकेका छन् ।

नेपालनिकट स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट आफूहरुले पनि नयाँ पार्टीको फैसला गर्ने बताइसकेका छन् । तर पनि सुरेन्द्र पाण्डेलगायतका नेताहरु माधव नेपालसहितको एमाले एकताका लागि प्रयास गरिरहेका छन् ।

अहिलेको अवस्था भनेको माधव नेपालले विपक्षी गठबन्धन छाड्न नसक्ने र दोस्रो तहका वार्ताकार नेताले माधव नेपाल छाड्न नसक्नेमा देखिन्छ । माधव नेपाल समूह सग्लै एमालेबाट अलग हुन्छ कि केही नेता एमालेमै रहन्छन् ? अबको प्रश्न यतिमात्र हो ।


प्रतिक्रिया

3 thoughts on “माधव पक्षलाई केन्द्रीय कमिटीको अल्टिमेटम– एमाले रोज्ने कि विपक्षी गठबन्धन ? (भिडियो)

  1. माधव नेपालले हैसियत खोजेका हुन् । निर्वाचन र महाअधिवेशन पूर्व यो संभव छैन । अत अव जता गएपनि उहालाई सुरक्षीत अवतरणको खोजी चाहीएको छ । सायद अव उहाको कठीन राजीतिक यात्रा शुरु हुदैछ ।

  2. नेपालले अलग पार्टीको अभ्यास गरिसकेका छन् । It is already mentioned in News then why do you wait for him. Better to go ahead. You are just killing time.

  3. एमालेको दशौं महाधिवेशन आयोजक कमिटी भंग गरेर केन्द्रीय कमिटी बैठक बोलाउनुको मुख्य उद्देश्य सर्वोच्च अदालतको आदेश कार्यन्वयन र माधव पक्षको मागको सम्बोधन नै थियो । माधव पक्ष बैठकमा सहभागी नभए पनि अब केन्द्रीय कमिटी बैठकको निर्णयका आधारमा भोलि विपक्षी गठबन्धनमा लागेका सांसदलाई कारवाही गर्ने आधार ओलीले बनाएका छन् ।
    Good Go ahead.

Leave a Reply to Nawaraj Sharma Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर