नारायणगढदेखि काठमाडौंसम्म ७ ठाउँमा पहिरो, ४ सवारी पुरिए, १ जनाको मृत्यु – Nepal Press

नारायणगढदेखि काठमाडौंसम्म ७ ठाउँमा पहिरो, ४ सवारी पुरिए, १ जनाको मृत्यु

काठमाडौं । अविरल वर्षापछिको पहिरोमा ट्रक पुरिँदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले चारवटा सवारी पुरिएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले दिएको जानकारीअनुसार पहिरोले पुरिएका चारमध्ये ना ८ ख ४५४० नम्बरको ट्रकको मात्र पहिचान खुलेको छ । मृतक सोही ट्रकमा सवार रहे पनि उनको सनाखत भएको छैन ।

विहीबार रातीदेखि नै अवरुद्ध रहेको नारायणगढ–मुग्लिन सडकमा थप पहिरो र लेदोमाटो झर्दा काठमाडौंबाट गएका सवारीहरु मुग्लिनमा र पूर्व तथा पश्चिमबाट राजधानी आएका सवारीसाधनहरु नरायणगढमै रोकिएका छन् । मालबाहक तथा यात्रुबाहक सवारीको लामो लाइन लागेको छ ।

वर्षा नरोकिएकाले पहिरो पन्छाउने काम सुरु हुन सकेको छैन । नारायणगढदेखि काठमाडौंसम्म सात स्थानमा ठूलो पहिरो गएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । तीमध्ये मुग्लिनबाट नारायणगढसम्म पाँच स्थानमा ठूलो पहिरो झरेको छ ।

चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित सत्रकिलो, पाँचकिलो, चारकिलो र जलवीरे तथा भरतपुर महानगरपालिका-२९ को सेती दोभानमा ठूलो पहिरो खसेको छ ।

त्यस्तै पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिकासहित गजुरी गाउँपालिकाको सेतीपूलमा पनि पहिरोले सडक अबरुद्ध भएको छ ।

धादिङ सदरमुकाम जोड्ने कालु पाँडे राजमार्ग अन्तर्गत सिद्धलेक गाउँपालिका-६ परेवाटारमा पनि ठूलो पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर