कांग्रेसमा सहमति- क्रियाशील सदस्यताको टुंगो भागबण्डाबाटै – Nepal Press

कांग्रेसमा सहमति- क्रियाशील सदस्यताको टुंगो भागबण्डाबाटै

काठमाडौं । नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद समाधान राजनीतिक सहमतिका आधारमा हुने भएको छ ।

मापदण्डबारे निर्णय लिन बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले तत्कालका लागि सहमतिका आधारमा पारित हुनेजति सदस्यता टुंग्याउन छानबिन समितिलाई निर्देशन दिएको छ ।

सहमति नजुट्ने विवादका हकमा छानबिन समिति र निर्वाचन समितिले आपसमा मापदण्ड बनाएर टुग्याउन सक्ने निर्णय बैठकले गरेको छ । ‘एकप्रकारले मापदण्ड बनाउने त भनियो तर डकुमेन्छ पारित भएको छैन । पहिले सहमति हुनेजति सदस्यता टुंग्याउदै जाने जहाँ बाधा पर्छ त्यही मापदण्ड वा थप निर्णय लिने सहमति बनेको छ’, बैठकमा सहभागि कांग्रेस नेताले भने । ती नेताका अनुसार मापदण्डमै विवाद बढेपछि मध्यमार्गी उपाय खोजिएको हो ।

‘कतिपय जिल्लाका विवाद समितिले सहज रुपमा टुंग्याउन सक्ने खालको छ । राजनीतिक सहमतिका आधारमा त्यस्ता विवाद टुंग्याउने, जहाँ मिल्दैन त्यहाँ निर्वाचन समितिसंग बसेर मापदण्ड अनुसार गर्ने र त्यसरी पनि नटुंगिएका सदस्य अर्को महाधिवेशनलाई थाँती राख्ने निर्णय भएको छ’, ती नेताले भने । सहमतिका आधारमा टुंग्याउने निर्णयले क्रियाशील सदस्यतामा भागबण्डा हुनसक्ने ती नेताले संकेत गरे । ‘मापदण्डभन्दा सहमति मुख्य भएपछि त अब क्रियाशीलमा भागबण्डा हुने निश्चित छ । भागबण्डा बाहेकपनि कांग्रेसमा सहमति हुन्छ र ?’, ती नेताले प्रश्न गरे ।

कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार असार २० गतेसम्म क्रियाशील सदस्यता छानबिन समितिले केन्द्रीय समितिलाई सदस्यताको विवरण बुझाउनुपर्नेछ । पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छुट्टाछुट्टै बैठक बसेको थियो । प्रस्तावित मापदण्डमा दुवै पक्ष सहमत नभएपछि सदस्यता छानबिन सहमतिका आधारमा अघि बढाउन लागिएको हो । कांग्रेस केन्द्रीय कार्यालयमा हालसम्म ८ लाख बढी नयाँ र नवीकरण भएका क्रियाशीलको सदस्यको सूची आइपुगेको छ ।

सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले पदाधिकारी बैठकको निर्णयले सहमतिका आधारमा सदस्यता टुंग्याउन बाटो खोलेको बताए । ‘अब हामी सहमतिकै आधारमा सदस्यता टुंगो लगाउँछौं । सहमति हुन नसकेका विषयमा के गर्ने भन्ने पनि सहमति भएकोले अब क्रियाशीलबारे विवाद रहँदैन’, लेखकले भने । बैठकले अन्य दलबाट कांग्रेस प्रवेश गरेकाहरुको सदस्यता नवीकरणमा पनि सहमतिबाट निर्णय लिने निर्णय गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर