नारायणगढ–मुग्लिनको पहिरो, सधैंको पिरलो (फोटो/भिडियो) – Nepal Press
नारायणगढ–मुग्लिनको पहिरो, सधैंको पिरलो (फोटो/भिडियो)
विप्लव काफ्ले २०७८ असार १८ गते १७:२५
२०७८ असार १८ गते १७:२५

चितवन । वर्सेनि बर्षायाम लागेसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थाल्छ । यसवर्ष पनि बर्षात् सुरु भएसँगै यो सडकखण्डमा पहिरो खस्न थालेको छ । अनि, यो सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुले विगतमा जस्तै सास्तीको सामना गरिरहनु परेको छ ।

सडकखण्डको चारकिलोमा बिहीबार खसेको पहिरो हटाइनसक्दै फेरि पहिरो खसेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख भगवानराज थापाले भने– ६/७ घण्टा लगाएर पहिरो हटाइयो, फेरि उत्रै पहिरो खसिहाल्यो । पहिरो पन्छाउन अझै केही समय लाग्ने भयो ।

नारायणगढबाट पहिरो खसेको ठाउँ ३१ किलोमिटर टाढा पर्छ । २०७२ सालदेखि नारायणगढ–मुग्लिन सडकखण्ड विस्तार थालिएको थियोे ।

चारकिलोमा करिब ३ सय मिटर ‘नेट रकिङ’ राखिएको छ । तर, ‘रक नेटिङ’ नभएको भागबाट पहिरो खसेको प्रहरीले जनाएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी तथा इञ्जिनियर शिव खनालले रक नेटिङ नभएको ठाउँको खोल्साको भागमा पहिरो गएको बताए । यो सडकखण्डको १६ ठाउँमा रक नेटिङ गरिएको छ ।

अहिले नयाँनयाँ ठाउँ ठाउँबाट पहिरो खसिरहेको छ । माथिल्लो भूभागमा खनिएका ग्रामीण सडकका कारण धेरै पहिरो गएको खनालले बताए ।

२०७४ सालमा भूगर्वविद्को अध्ययन टोलीले यो सडकखण्डको ३२ ठाउँमा पहिरोको जोखिम रहेको निष्कर्ष निकालेपछि सोही अनुसार रक नेटिङ गरिएको थियो ।

यस्तै बिहीबार राति १४ किलोमा एउटा विशाल ढुंगो खसेको छ । ढुंगो पन्छाउने काम भइरहेको छ । उक्त ढुंगा करिब ८० टनको भएको प्रहरीले जनाएको छ । यो सडकखण्डमा ३ दिनयता एक दर्जन बढी सानाठूला पहिरो खसेका छन् । चारकिलो, पाँचकिला, केराबारी, चौधकिलो, मौरीपुलमा पहिरो झरेको हो ।

२०७२ सालदेखि सडक स्तरोन्नतिको काम २०७५ सालमा सम्पन्न भएको थियो । ३४ किलोमिटर लामो यो सडकखण्डमा ११ देखि ९ मिटर फराकिलो स्तरीय कालोपत्रे गरिएको छ । तर, पहिरोको जोखिम भने विगतकै जस्तै छ ।