सरकारी पक्षको बहस सकिने, सभामुख पक्षको सुरु हुने – Nepal Press

सरकारी पक्षको बहस सकिने, सभामुख पक्षको सुरु हुने

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सरकारी पक्षको बहस आज सकिँदैछ ।

सोमबार महान्यायाधिवक्ता रमेश बडालको बहसबाट सरकारी पक्षको बहस सुरु भएको थियो । आज चियासत्र अगाडि सरकारी पक्षको बहस सकिदैछ ।

संवैधानिक इजलासले मुद्दाका विपक्षीलाई बहसका लागि दिएको १५ घण्टामध्ये सभामुख बाहेकको सरकारी पक्षलाई १४ घण्टा समय दिइएको थियो । सो अवधिमा महान्यायाधिवक्ता बडालबाहेक नायब महान्यायाधिवक्ताहरु पदमप्रसाद पाण्डेय, विश्वराज कोइराला।

टेकबहादुर घिमिरे र श्यामकुमार भट्टराईले बहस गरेका छन् । त्यस्तै सहन्यायाधिवक्ताहरु गोपालप्रसाद रिजाल, सञ्जीवराज रेग्मी लगायतले बहस गरेका छन् । प्रधानमन्त्री र राष्ट्रपतिका तर्फबाट नीजि कानून व्यवसायीका रुपमा वरिष्ठ अधिवक्ताहरु सुशील पन्त, बिजयकान्त मैनाली, अग्नि खरेल लगायतले बहस गरेका छन् ।

आज सरकारी पक्षको बहस सकिएपछि सभामुख अग्निप्रसाद सापकोटा पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् । मुद्दामा विपक्षी बनाइए पनि सभामुख पक्षका कानुन व्यवसायीले रिटको पक्षमा बहस गर्नेछन् । सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लवकुमार मैनाली र उपेन्द्रकेशरी न्यौपानेले बहस गर्नेछन् ।

अधिवक्ताद्वय मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले पनि सभामुखको तर्फबाट बहस गर्नेछन् । संवैधानिक इजलासले सभामुख पक्षलाई दिएको १ घण्टामा आवश्यकता परे थप गरिदिने जनाएको छ ।

सभामुख पक्षको बहसपछि रिट निवेदन पक्षले ३ घण्टा जवाफी बहस गर्नेछ भने एमिकस क्यूरीका ४ जना सदस्यले ३० मिनेटका दरले २ घण्टामा आफ्नो राय दिनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर