चितवनमा बाढी पहिरो : दुईजनाको मृत्यू, ग्यास उद्योग डुबानमा – Nepal Press

चितवनमा बाढी पहिरो : दुईजनाको मृत्यू, ग्यास उद्योग डुबानमा

चितवन । पहिरोमा पुरिएर चितवनमा २ जनाको मृत्यू भएको छ । कालिका–११ दानेटारका अन्दाजी ५२ वर्षिय ज्ञानबहादुर चेपाङको शव घैयावारी नजिकै खोला छेउमा फेला परेको थियो ।

आफन्तको घर जान दिउँसो २ बजे निस्केका उनी एक्कासी पहिरोमा पुरिएर वेपत्ता भएका थिए । यस्तै राप्ती–१२ पर्खाल भन्ने ठाउँमा पहिरोले २ घर पुर्दा १ जनाको ज्यान गएको छ भने ३ जना वेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाका अनुसार मृतकको शव करिव ५० मिटर तल फेला परे पनि पहिचान खुल्न सकेको छैन । सो ठाउँमा १६ गाईगोरु, १६ वटा बाख्रा बगाएको अनुमान गरिएको छ ।

उता, राप्ती–१२ वाक्राङका ३ घरका सदस्य पहिरोमा परेर हराइरहेकोे स्थानीय सन्दीप चेपाङले बताए । यस्तै, कालिका–१० सिद्धि छेरवाङमा १ घर पहिरोले बगाएको छ । चेपाङ अभियान्ता केपीकिरण शर्माका अनुसार ४ वर्षिय बालक घाइते छन् ।

पहिरोले घर बगाउन थालेपछि अन्य सदस्य भागेर बाँच्न सफल भएको उनले बताए । खैरहनी १ वेल्सीमा रहेको बाबा ग्याँस उद्योगमा बाढीले क्षती पुर्याएको छ । उद्योगका निर्देशक विमल कालाखेतीका अनुसार कयर खोलाले कैयन ग्यासका सिलिण्डर बगाएर लगेको छ । बगाएको सिलिण्डरबारे अझै अनुमान लगाउन नसकिएको उनले बताए । उद्योगमा करिब १५ हजारसम्म सिलिण्डर थिए ।

यता, नारायणगढ–मुग्लिन सडक खण्डमा विहान २ बजेदेखि खसेको पहिरो हटाउने काम जारी रहेको छ । चितवन प्रहरी प्रवक्ता थापाका अनुसार भरतपुर–२९ केराबारीमा खसेको पहिरो हटाउन २ वटा डोजर प्रयोग गरिएको छ । निरन्तरको वर्षाले पहिरो खस्ने गरेकाले बाटो सुचारु गर्न ढिलाई भएको हो ।

पूर्वी चितवनका राप्ती, लदरी, कयर र लोथर खोलामा आएको बाढी कैयन खेत तथा घरमा पसेको छ । भर्खरै रोपाई भएका सयौँ विघामा असर पु¥याएको छ । खैरहनीको लदरी खोलामा रहेको धुसरी पुल बाढीले भत्काएको छ । पूर्वपश्चिम राजमार्गको करिब २ किलोमिटर उत्तरतर्फ रहेको सो पुलले रत्ननगर र खैरहनीलाई जोड्ने गर्दथ्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *