बढी भाडा लिने ८ चालक पक्राउ – Nepal Press

बढी भाडा लिने ८ चालक पक्राउ

काठमाडौं । ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानको अनुगमन गरी यात्रुसँग बढी भाडा लिएर ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टिकट काउण्टरका कर्मचारी र निजी सवारी साधनका चालकहरु रहेका छन् ।

निषेधाज्ञा खुकुलो भएपछि सुरु भएको अनुगमनका क्रममा ती व्यक्तिहरुलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि प्रहरीको सम्बन्धित प्रभागमा पठाइएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए ।

ट्राफिक प्रहरीले कोटेश्वरबाट प्र १-०१-००१ज३४९२ नम्बरको बोलेरो जीप चालक झापाका ३८ वर्षीय पुण्यप्रसाद गिरी, बा२०च२४२ नम्बरको निजी स्कर्पियो चालक गोर्खा च्याङ्लीका ३८ वर्षीय सन्तबहादुर कुमाल र मे१ज२९९३ नम्बरको बोलेरो जीप चालक इलाम घर भएका २६ वर्षीय खेमबहादुर पाँचकोटीलाई यात्रुसँग बढी भाडा लिई ठगी गरेको आरोपमा पक्राउ गरी कारवाहीका लागि प्रहरी प्रभाग, कोटेश्वरमा बुझाएको छ ।

त्यसैगरी बालकुमारी, ललितपुरबाट भक्तपुर बस्ने ४६ वर्षीय राजीव हिङ्गजुलाई बा१७च ५००१ नम्बरको स्कर्पियोसहित प्रयोजनविपरीत भाडामा यात्रु बोकेको अवस्थामा नियन्त्रणामा लिइएको छ भने सोही स्थानबाट सप्तकोसी हाइस काउण्टरमा काम गर्ने झापाका २८ वर्षीय संजय खड्कालाई बढी भाडा लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइ प्रहरी वृत्त सातदोबाटोमा बुझाएको छ ।

अन्य पक्राउ पर्नेमा कलंकीबाट बा१४च ४२८६ नम्बरको गाडी चालक कन्चनपुरका अम्मर ऐर, बा६च २१४९ नम्बरको स्कर्पियो चालक भक्तपुरका ३७ वर्षीय श्याम मछ्या र मित्रपार्कबाट को२च २५८२ नं को मारुती भ्यान चालक धनकुटाका ३९ वर्षीय हरेन्द्र बुढाथोकी रहेका छन् । पक्राउ परेका सबै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्तमा बुझाएको महाशाखाले जनाएको छ ।

यात्रुसँग बढी भाडा लिई ठगी गरेको कसुरमा हालसम्म ६९ जनालाई पक्राउ गरिएको छ । रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *