चिनियाँ कम्युनिष्टको शताब्दी पार, नेपाली कम्युनिष्टको आपसी प्रहार – Nepal Press
नेपाल चिन्तन

चिनियाँ कम्युनिष्टको शताब्दी पार, नेपाली कम्युनिष्टको आपसी प्रहार

आज जुलाई १, २०२१, चिनियाँ कम्युनिष्ट पार्टीको १०० औं वर्षगाँठ । यस महत्वपूर्ण दिनको उपलक्ष्यमा चीनको ट्यानम्यान स्क्वायरमा आयोजित विशेष समारोहमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा जनगणतन्त्र चीनका महामहिम राष्ट्रपति सि जिनपिङबाट सो पार्टी इतिहासको गौरवमय गाथा स्मरण गर्नुभयो, र पार्टी स्थापना कालमा लक्षित समाजवाद स्थापनाका लागि प्रतिबद्धता दोहोर्‍याउनुभयो ।

चिनियाँ कम्युनिष्ट पार्टी विश्वको सबभन्दा ठूलो राजनीतिक पार्टी हो । १९२१ जुलाई १ मा ५० जना कम्युनिष्ट पार्टी सदस्यबाट शुरू गरिएको यो समाजवादी आन्दोलनमा हाल ९.५ करोडभन्दा बढी अनुशासित र पार्टीको अभियान तथा उद्देश्यमा प्रतिबद्ध पार्टी सदस्य छन् । १९९१ डिसेम्बर २५ मा तत्कालीन सोभियत संघबाट कम्युनिष्ट शासन ढलेपछि (अथवा ढालेपछि) अब विश्वमा कम्युनिष्ट आन्दोलनको उपाध्येयता सम्पूर्ण रूपमा असफल भयो भन्नेहरूका लागि आजको चीन र चिनियाँ कम्युनिष्ट पार्टीको सामर्थ्य गतिलो जवाफ हो ।

दोश्रो विश्व युद्धताका, विशेषगरी सन् १९४५ मा, जापानको भीषण आक्रमणबाट चीन तहसनहस थियो । यही सेरोफेरोमा चिनियाँ कम्युनिष्ट पार्टीले सशस्त्र क्रान्तिमार्फत सन् १९४९ मा सत्ता कब्जा गरेपछि जनगणतन्त्र चीनको घोषणा गरेर शासन सत्ता हातमा लिएको थियो । सो समयमा करिब ५४ करोड जनसंख्या रहेको चीनमा अत्यधिक भोकमरी थियो, र चीनलाई विश्वका गरिब देशमध्येमै गनिन्थ्यो । सन् १९५० मा चीनको प्रतिव्यक्ति आम्दानी प्रतिवर्ष ६१४ अमेरिकी डलर थियो र यो विश्वको ४५ औं स्थान थियो । अफ्रिकी मुलुक कंगो चीनभन्दा एक स्थान माथि ४४ औं स्थानमा थियो र उसको प्रतिव्यक्ति प्रतिवर्ष आम्दानी ६३६ अमेरिकी डलर थियो । पहिलो स्थानमा रहेको संयुक्त राज्य अमेरिकाको सो आँकडा ९,५७३ अमेरिकी डलर (१५ गुणा बढी) थियो ।

यहाँका कम्युनिष्ट पार्टीका नेताहरू आन्तरिक लडाइँमा अग्रसर भइरहँदा कम्तीमा आजको विशेष दिनमा चीनको समृद्धिको एउटै कारण कम्युनिष्ट आचरण र सिद्धान्त नै हो भन्ने कुरा पुनःताजगी गर्नुपर्छ भन्ने लाग्छ । ऐतिहासिक भौतिकवादमा विश्वास गर्ने कम्युनिष्ट विचारधाराका मानिसलाई चिनियाँ कम्युनिष्ट पार्टीको १०० वर्षको इतिहास एउटा महत्वपूर्ण पाठशाला हो ।

अमेरिकाले सन् १८७१ मै विश्वको पहिलो अर्थतन्त्र हासिल गरेको हो । सन् १९१७ मा भ्लादिमिर लेनिन नेतृत्वको बोल्सेभिक पार्टी (पछि मार्च १९१८ मा रसिया कम्युनिष्ट पार्टी नामाकरण) ले सशस्त्र मजदुर आन्दोलनमार्फत सोभियत संघलाई नियन्त्रण (अक्टोबर क्रान्ति) गरेपछि स्थापना भएको कम्युनिष्ट शासनबाट अर्थतन्त्रलाई विस्तारै सुधार्दै लाने क्रममा सन् १९२८ देखि १९४२ सम्मको तीव्र आर्थिक वृद्धिसँगै रसिया अमेरिकासँग टक्कर लिन सक्ने अवस्थामा पुग्यो । समाजवादी आन्दोलनलाई देखि नसहने अमेरिका र समाजवाद स्थापनार्थ तीव्र गतिमा अगाडि बढिरहेको रसियाबीच आर्थिक रूपमा प्रतिस्पर्धा थियो नै, सैद्धान्तिकरूपमा त्योभन्दा ठूलो प्रतिस्पर्धा (कतिपय अवस्थामा निषेधको स्तरमा) थियो । विडम्बना भन्नुपर्छ, सोभियत युनियनको आठौं तथा अन्तिम नेता, रसियन कम्युनिष्ट पार्टीका महासचिव मिखाइल गोर्वाचोक सत्तामा आएपछि (१९८५–१९९१) समाजवादी प्रजातन्त्रको नाउमा विभिन्न षडयन्त्रको जालोमा परी उदारवादी नीति ल्याएपछि अन्ततोगोत्वा सन् १९९१ मा कम्युनिष्ट शासनको सोभियत संघ ढल्यो र देश पनि तहसनहस भयो ।

यो घटनालाई समाजवादी आन्दोलन इत्तरका शक्तिहरू तथा पुँजीवादी अर्थशास्त्रीहरूले ठूलो विजय उत्सवका रूपमा मनाए र अब ब्रम्हाण्डमा समाजवादी आन्दोलन र नीति सम्भव छैन भन्ने उद्घोष गर्न समेत भ्याए । एउटा आशालाग्दो र रहरलाग्दो समाजवादी आन्दोलन अवसान भइरहेको यही समयमा उसकै छिमेकी मुलुक चीनमा समाजवादको कसिलो आन्दोलन हुर्किरहेको विश्वले चाल पाएका थिएनन् ।

सन् १९५० र ६० को दशकमा समेत विश्वको गरिब देशहरूको पंक्तिमा स्मरण गरिने चीनमा समाजवादी कार्यक्रमहरू लागू हुन थालेपछि विस्तारै आर्थिक परिसूचकहरू सुधार हुन थालेका थिए, क्रान्तिकारी भूमिसुधार कार्यक्रम लागू भएपछि कृषि उत्पादनमा वृद्धि हुँदै भोकमरी समस्या समाधान हुन थालेका थिए । समाजवाद स्थापनाका लागि आर्थिक समुन्नति नै पहिलो खुड्किलोको रूपमा ग्रहण गर्दै सन् १९७८ मा चिनियाँ कम्युनिष्ट पार्टीका नेता देङ स्याओपिङको नेतृत्वमा खुल्ला बजार नीति ल्याएपछि विस्तारै लम्किरहेको चीन अब कुद्न थाल्यो । गरिब देश चीनमा भइरहेको यो प्रगति र परिवर्तन विश्व नजरमा खास केन्द्रीत थिएन । यो नीति परिवर्तनसँगै चीनको श्रम बजार र उत्पादनमा ठूलो प्रगति हुन थाल्यो र सोही वर्ष आर्थिक वृद्धि दर ११.३२ प्रतिशतले उकालो लाग्यो । सन् १९८० मा १ अर्ब जनसंख्या नाघिसकेको चीन विश्वको सातौं अर्थतन्त्रमा उक्लियो र उसको कुल ग्राहस्थ उत्पादन ३०५.३५ अर्ब अमेरिकी डलर पुग्यो, जबकी जम्मा २२.६ करोड जनसंख्या रहेको विश्वको पहिलो अर्थतन्त्र भएको अमेरिकाको सोही आँकडा २.८६ खर्ब (करिब १० गुणा बढी) अमेरिकी डलर थियो ।

चीनको यो दोहोरो अंक हाराहारीको आर्थिक वृद्धिदरले झण्डै ४ दशक (सन् २०११ सम्म) निरन्तरता पायो । कुनै वर्ष त झन् चीनले आर्थिक वृद्धिदरमा चमत्कार नै गर्‍यो, जस्तो कि सन् १९८४ मा १५.२ तथा १९९२ र २००७ मा १४.२ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्‍यो । यसरी सन् २०११ मा आइपुग्दा चीन विश्वको दोश्रो ठूलो अर्थतन्त्रको स्थानमा रहेको जापानलाई उछिनेर अमेरिका पछि आफूलाई दोस्रो स्थानमा उभ्यायो । सन् २०१० को अन्त्यमा जापानको कुल ग्राहस्थ उत्पादन ५४.७४ खर्ब अमेरिकी डलर थियो भने चीनले सोही वर्ष ५८ खर्ब अमेरिकी डलर पुर्‍यायो । यद्यपी यो वर्षसम्म पनि पहिलो रहेको अमेरिकाको सोही आँकडा चीनभन्दा ३ गुणा बढी १५५.४ खर्ब अमेरिकी डलर थियो । चीनले आफ्नो सम्पन्नता तीब्र गतिमा अगाडि बढाउँदै गर्दा अमेरिका र चीन बीचको आर्थिक खाडल निरन्तर ओरालो लाग्दै गर्दा सन् २०२० को अन्त्यमा आएर अमेरिकाको कुल ग्राहस्थ उत्पादन २०८.१ खर्ब अमेरिकी डलर पुग्यो भने चीनको १४८.६ खर्ब अमेरिकी डलर पुगेको थियो । कोभिड १९ ले विश्वलाई थिलथिलो पारेको सन् २०२० मा चीनको आर्थिक वृद्धि दर ३.२ प्रतिशत रह्यो भने अमेरिकाको आर्थिक बृद्धि दर ३.५ प्रतिशतले नकारात्मक रह्यो । सो वर्ष सकारात्मक आर्थिक वृद्धि गर्ने विश्वको एक मात्र मुलुकको रूपमा दर्ज गर्न समेत चीन सफल रह्यो ।

पछिल्लो एक दशकमा अमेरिकाभन्दा चीनको आर्थिक क्षमता एक तिहाईबाट बढेर दुई-तिहाईमा पुगेको छ । बेलायतमा केन्द्रीय कार्यालय भएको संस्था सेन्टर फर इकोनोमिक एण्ड विजिनेस रिसर्चका अनुसार कोभिड महामारीका कारण यी दुई देशबीचको आर्थिक खाडल झन् तीव्र गतिमा संकुचित हुँदै सन् २०२८ मा चीनले अमेरिकालाई उछिन्ने तथ्यांक प्रस्तुत गरेको छ र सो वर्षपछि चीनको आर्थिक आधिपत्य धेरै वर्षसम्म रहनसक्ने अनुमान पेस गरेको छ ।

सर्वोच्च शिखर सगरमाथाको पारीपट्टी समाजवादको यो यात्रामा जनताहरू एकताबद्ध भएर लम्किरहेका बखत सोही शिखरको वारी पट्टी कम्युनिष्टहरू एक-अर्कालाई सकाउने युद्धका लागि हतियार ताछिरहेका छन् ।

समाजवादी अर्थशास्त्र र केन्द्रीकृत शासन प्रणालीमा रहेको चीनले कोरोना महामारीको बेला आफ्नो अद्भूत क्षमता प्रदर्शन गर्‍यो । वास्तवमा यो महामारी विरुद्धको लडाइँ विश्वका देशहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने एउटा कडी पनि थियो । चीनको उहानमा सर्वप्रथम पत्ता लागेको कोरोना भाइरसलाई त्यही क्षेत्रमा सिमित गर्न चीनले ठूलो मेहनत गर्‍यो, तर यो प्रयास अगावै (पत्ता लाग्नु अगावै) भाइरसले चीनको नाका पार गरिसकेको रहेछ । यो भाइरसको संक्रमणबाट बचाउन चीन र चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो सम्पूर्ण सामथ्र्य तथा नेता/कार्यकर्ता र जनता परिचालित गर्‍यो ।

फलस्वरूप प्रथमपटक चीनमै देखिएको भाइरसले १.४ अर्ब जनसंख्या भएको चीनमा आजसम्म जम्मा ९१,७९२ जना (०.००६४ प्रतिशत) मात्र संक्रमित भएका छन् र यो संक्रमण संख्याको आधारमा १०० औं स्थान हो । जबकी ३३ करोड जनसंख्या भएको अमेरिकाको आज सम्मको संक्रमण संख्या ३,४५,४०,८४५ जना (जनसंख्याको १.०३ प्रतिशत) रही अमेरिका पहिलो स्थानमा छ ।

यसैबीच चीनले उहानमा योजना बनाएको १० दिनमा १००० शय्या क्षमताको कोभिड १९ केन्द्रित अस्पताल निर्माण गर्‍यो । यो तीव्र गतिको सफलता पछाडिको मूल कारण के हो भन्ने एकजना पत्रकारको प्रश्नमा उहानका मेयर चाउ सियानवाङले भन्नुभएको छ, ‘कम्युनिष्ट शासन प्रणालीका कारण यो सम्भव भएको हो, प्रजातान्त्रिक शासन प्रणालीमा यती तीव्र कामको कल्पना गर्न सकिन्न’ ।

कोभिड १९ विरुद्धको लडाइँकै अनुभवबाट स्पष्ट हुन्छ, जनताको पक्षमा काम गर्ने नेतृत्व पंक्ति हुँदा कम्युनिष्ट शासन प्रणाली जत्तिको अरु कुनै शासन प्रणाली सम्भव छैन । चीनको यो तीव्र विकासको एकमात्र कारण चिनियाँ कम्युनिष्ट पार्टी हो भन्ने कुरामा विमत्ति नै छैन । चीन आफू आर्थिक रूपमा समृद्ध भइरहँदा अरुलाई पनि साथै लैजानुपर्छ भन्ने सिद्धान्तबाट निर्दिष्ट भइरहेको देखिन्छ । यही सिद्धान्तको कार्यान्वयन स्वरूप सन् २०१३ मा शुरु भएको चीनको (विशेषगरी राष्ट्रपति सि जिनपिङ)को महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड ईनिसियटिभ (विआरआई) ले विश्वलाई एउटै यातायात सञ्जालमा जोडेर आर्थिक लाभलाई विश्वका सबै जनतालाई समानान्तर वितरण गर्ने नीति ल्याएको छ । सन् २०२७ सम्म चीनले यस परियोजनामा १२ देखि १३ खर्ब अमेरिकी डलर खर्च गर्ने अनुमान गरिएको छ । नेपालसहित हालसम्म ६० देशले यो परियोजनामा सहकार्य गर्न चीनसँग सम्झौता गरिसकेको छ । आज समय यस्तो आएको छ कि कुनै पनि विपन्न मुलुकको समृद्धिको यात्राको भविष्य उसको चीनसँगको सम्बन्धमा भरपर्ने देखिन थालेको छ ।

चीनकोे यो विश्वव्यापी प्रभाव, आर्थिक सम्पन्नता तथा विज्ञान, प्रविधि र सैनिक क्षमतामा तीव्र विकासको श्रेय केवल चिनियाँ कम्युनिष्ट पार्टीलाई जान्छ । यो पार्टीले चिनियाँ जनतालाई अनुशासित, धैर्यवान र कामप्रति लगाव हुन सिकायो, बदलामा चिनीयाँ जनतालाई सुख, शान्ति र समुन्नत समाज उपहार दियो । चीनले आज चिनियाँ कम्युनिष्ट पार्टीको १०० औं वार्षिकोत्सव मनाइरहँदा सबै चिनियाँ जनता सो पार्टीसँग नतमस्तक छन्, आदर गर्छन् र कृतज्ञता प्रकट गरिरहेका छन् ।

पछिल्लो एक दशकमा अमेरिकाभन्दा चीनको आर्थिक क्षमता एक तिहाईबाट बढेर दुई-तिहाईमा पुगेको छ । बेलायतमा केन्द्रीय कार्यालय भएको संस्था सेन्टर फर इकोनोमिक एण्ड विजिनेस रिसर्चका अनुसार कोभिड महामारीका कारण यी दुई देशबीचको आर्थिक खाडल झन् तीव्र गतिमा संकुचित हुँदै सन् २०२८ मा चीनले अमेरिकालाई उछिन्ने तथ्यांक प्रस्तुत गरेको छ र सो वर्षपछि चीनको आर्थिक आधिपत्य धेरै वर्षसम्म रहनसक्ने अनुमान पेस गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले आफ्नो देशलाई मात्र समृद्ध र सफल बनाएन, कम्युनिष्ट शासन पद्धतिबाट तीव्र आर्थिक क्रान्ति सम्भव छ भन्ने कुराको दृष्टान्त समेत विश्वलाई प्रदर्शन गरिरहेको छ । साथै, २०५० सम्ममा आधारभूत रूपमा समाजवाद (शाब्दिक रूपमा ‘चिनियाँ शैलीको समाजवाद’भनिएको छ) लागू गरिसक्ने महत्वकांक्षी लक्ष्य राखेको चीनले सोही लक्ष्यलाई कार्यान्वयन गर्न चाहिने योजनाहरूलाई कार्यान्वन गरिरहँदा विश्वमा समाजवाद सम्भव छ भन्ने कुरालाई प्रोत्साहित गरिरहेको छ । पुँजीवाद नै अन्तिम सत्य हो भन्ने अर्थशास्त्रीका पण्डितहरूलाई यो गतिलो जवाफ पनि हो ।

सर्वोच्च शिखर सगरमाथाको पारीपट्टी समाजवादको यो यात्रामा जनताहरू एकताबद्ध भएर लम्किरहेका बखत सोही शिखरको वारी पट्टी कम्युनिष्टहरू एक-अर्कालाई सकाउने युद्धका लागि हतियार ताछिरहेका छन् ।

यहाँका कम्युनिष्ट पार्टीका नेताहरू आन्तरिक लडाइँमा अग्रसर भइरहँदा कम्तीमा आजको विशेष दिनमा चीनको समृद्धिको एउटै कारण कम्युनिष्ट आचरण र सिद्धान्त नै हो भन्ने कुरा पुनःताजगी गर्नुपर्छ भन्ने लाग्छ । ऐतिहासिक भौतिकवादमा विश्वास गर्ने कम्युनिष्ट विचारधाराका मानिसलाई चिनियाँ कम्युनिष्ट पार्टीको १०० वर्षको इतिहास एउटा महत्वपूर्ण पाठशाला हो । एउटा कम्युनिष्ट पार्टीका नेता/कार्यकर्ता मात्र हैन, सम्पूर्ण कम्युनिष्ट पार्टीहरू एकताबद्ध भएर मात्र विषम भू-राजनीतिक परिस्थितिमा रहेको हाम्रो देशलाई समृद्धिको यात्रामा अग्रसर गराउन सकिन्छ भन्ने कुरा अनुभूत गर्न यो दिनले विशेष अर्थ राख्दछ ।

१०० औं वर्ष गाँठको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी, चिनियाँ जनता र कम्युनिष्ट विचारधारमा विश्वास गर्ने मानव जगतलाई हार्दिक शुभकामना व्यक्त गर्दै मानव जातिको समग्र विकासमा कम्युनिष्ट सिद्धान्त, नीति र आचरण उचित प्रयोगको शुभकामना दिन चाहन्छु ।

लेखकबाट थप : –

१. नेकपा विवाद : ‘देङ सिआओ पिङ’ जन्माउने प्रसव पीडा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *