टीकटकद्वारा ७३ लाख प्रयोगकर्ताको एकाउन्ट निलम्बन, बालबालिकालाई प्रयोगमा कडाइ गर्ने – Nepal Press

टीकटकद्वारा ७३ लाख प्रयोगकर्ताको एकाउन्ट निलम्बन, बालबालिकालाई प्रयोगमा कडाइ गर्ने

काठमाडौं । बालबालिकाले आफ्नो प्लेटफर्म प्रयोग गरेको आशंकामा चिनियाँ भिडियो साझेदारी एप टीकटकले यो वर्षको पहिलो तीन महिनामा झन्डै ७३ लाख प्रयोगकर्ताको खातालाई निलम्बन गरेको छ। उसले निलम्बित ती खाताहरु कुल प्रयोगकर्ताको एक प्रतिशतभन्दा कम रहेको बताएको छ।

किशोर पुस्तामाझ लोकप्रिय टीकटक १३ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले मात्रै चलाउन पाउने नियम छ। निलम्बित अकाउन्टका बारेमा पहिलो पटक निर्देशिका प्रतिवेदनमा यस्तो विवरण सार्वजनिक गरिएको हो ।

यस्तो जानकारीले प्रयोगकर्ताको सुरक्षाका विषयमा पारदर्शिता र उत्तरदायित्व वहन गरेर अगाडि बढ्न सजिलो हुने समेत टीकटकले जनाएको छ ।

टीकटकका अनुसार तीन महिनामा नियम पालना नगरेका ६,१९,५१,३२७ भिडिओहरू हटाइएका छन् । तीमध्ये ८२ प्रतिशत भिडिओले हेर्नुभन्दा पहिले, ९१ प्रतिशत कुनै पनि प्रयोगकर्ताले गुनासो गर्नुभन्दा पहिले र ९३ प्रतिशत प्रकाशित भएको २४ घण्टाभित्रै हटाइएका हुन् ।

विज्ञापन नीति र निर्देशिका पालना नगरेका १,९२,९०० विज्ञापनहरू अस्वीकृत गरिएका छन् । कुल १,११,४५,५१४ अकाउन्टहरू निर्देशिका र प्रयोगका सर्तहरू पालना नगरेका कारण हटाइएका छन् । टीकटकले किशोर उमेरकालाई सुरक्षित राख्न १६ वर्ष नपुगेका प्रयोगकर्ताहरूलाई सन्देश पठाउन र आदानप्रदान र प्रत्यक्ष भिडिओ प्रसारण गर्ने सुविधा नदिएको बताएको छ।

टीकटक किशोर पुस्तामाझ चर्चित भएपनि हालै यसको प्रयोगमा कम उमेरका बालबालिकाको संख्या बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिएको छ। गत वर्ष न्युयोर्क टाइम्सले प्राप्त गरेको तथ्याङ्कमा एक चौथाइ अमेरिकी प्रयोगकर्ताहरू १४ वर्ष वा कम उमेरका रहेको देखिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर