नदीजन्य समस्या परे सम्पर्क गर्न काठमाडौं महानगरपालिकाको आग्रह – Nepal Press

नदीजन्य समस्या परे सम्पर्क गर्न काठमाडौं महानगरपालिकाको आग्रह

काठमाडौं । यसवर्ष मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य समस्या रोकथामको काम थालेको छ । महानगर क्षेत्र भएर बग्ने नदीमा बाढी आउँदा विगत वर्षमा जस्तो समस्या नदोहोरीयोस् भनेर मनसुन सुरु भएसँगै बाढीजन्य विपद रोकथाम गर्न थालेको हो । महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा बाढीजन्य समस्या भएमा मोवाइल नं. ९८५१० २४३०५ मा सम्पर्क गर्न पनि कामपाले नगरवासीलाई आग्रह गरेको छ ।

भारी वर्षा भएको समयमा नदीमा पानीको बहाव बढ्ने र यसले जनधनको क्षति पुर्‍याउन सक्ने भएकाले नदी किनारामा बसोबास गर्ने परिवारलाई सतर्क रहन र जोखिमको सम्भावना देखेमा तत्काल जानकारी गराउन महानगरपालिकाले आग्रह गरेको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार गएका वर्षहरुमा धोवीखोलाबाट अनामनगर क्षेत्र, बल्खु खोलाबाट बल्खु क्षेत्र, सामाखुशी नदीबाट सामाखुशी क्षेत्रमा बाढीजन्य समस्या रहेको र अहिले त्यो समस्या फेरी नआओस् भनेर सम्भावित जोखिम पूर्वानुमान गरेर काम थालिएको हो ।

सामाखुशीलगायत नदी क्षेत्रको सफाइ र सम्भावित जोखिमका लागि काम भइरहेको प्रवक्ता डङ्गोलले बताए । यसबाहेक बाढीजन्य प्रकोपको व्यवस्थापनका लागि एउटा लोडर, पानी तान्ने सक्सन गाडी र पम्प, त्रिपाल, भर्‍याङ्, डोरीलगायत सामाग्रीको व्यवस्था गरिएको छ । सम्भावित विपद् व्यवस्थापन गर्न नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीसहित क्षेत्रगत साझेदारसँग समन्वय गरेर काम गर्ने तयारीसमेत भएको बताइएको छ ।
रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर