मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्यो – Nepal Press

मर्स्याङ्दी नदीले सतर्कता तह पार गर्यो

मनाङ । अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ । मंगलबारदेखि परेको वर्षाका कारण आज मर्स्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो ।

पछिल्लो ६ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । लमजुङको घरेढुङ्गा, राइनसटारलगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ ।

बाढीले छाब्दीखोला पुल बगायो

अविरल वर्षासँगै आएको बाढीले व्यास–१ र १३ जोड्ने छाब्दीखोलाको पुल बगाएको छ । बुद्धसिं मार्गअन्तरगत बेलबासनजिक रहेको पुल आज बिहान बाढीले बगाएको हो ।

मंगलबारदेखि जिल्लामा निरन्तर वर्षा भइरहेको छ । पुल बगाएसँगै स्थानीयवासीलाई वारपार गर्न समस्या भएको स्थानीयवासी अमर भण्डारीले जानकारी दिए ।

छिर्कनेमा घर पुरियो

अविरल वर्षासँगै आएको पहिरोले आज बिहान व्यास नगरपालिका-१२ छिर्कनेमा एक घर पुरिएको छ । बिहान ३ बजे आएको पहिरोले घर पुरिएको हो ।

घर पुरिए पनि मानवीय क्षति भने नभएको स्थानीयवासीले बताएका छन् । घरमा रहेका पाँच जनाले भागेर ज्यान जोगाएका छन् ।
रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *