एमाले एकताका लागि क्रियाशील नेताहरु आज पनि छलफलमा, माधव पक्षको स्थायी कमिटी बैठक – Nepal Press

एमाले एकताका लागि क्रियाशील नेताहरु आज पनि छलफलमा, माधव पक्षको स्थायी कमिटी बैठक

काठमाडौं । शुक्रबार बोलाइएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि सहभागी गराउन दुवै पक्षका नेताहरु आज पनि बिहानैदेखि छलफलमा जुटेका छन् ।

बुधबार महाधिवेशन आयोजक कमिटी भंग गरी एमालेले २०७५ जेठ २ अघिकै पदाधिकारीका हैसियतमा माधव नेपाल पक्षसहितको बैठक बोलाएको छ । सो बैठकलाई एमाले एकताको ‘डेडलाइन’ भनिएको छ ।

बुधबार राति अबेरसम्म एमालेका दोस्रो तहका नेताबीच छलफल भए पनि केही विषयमा सहमति हुन सकेको छैन । विशेषगरी जेठ २ अघिको एमालेको मात्र बैठक बस्नुपर्ने माग नेपाल पक्षको छ ।

त्यस्तै अदालतमा एमालेका २३ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर तथा समर्थनको विषयमा के गर्ने ? भन्नेमा कुरा मिलेको छैन । त्यस्तै एमाले एकतावद्ध भएर पार्टी नेतृत्वको सरकारको निरन्तरताको पक्षमा लाग्ने भन्ने शब्दमा समेत नेपाल पक्षका केही नेता सहमत छैनन् ।

बुधबारदेखिनै संस्थापन पक्षबाट उपमहासचिव विष्णु पौडेल र नेताहरु सुवास नेम्वाङ तथा शंकर पोखरेल वार्तामा छन् । वार्तामा नेपाल पक्षका उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य, गोकर्ण विष्ट र नेता सुरेन्द्र पाण्डे सहभागी छन् ।

आज बिहान उपप्रधानमन्त्री तथा गृहमन्त्री पौडेलले विपद् व्यवस्थापनसम्बन्धी बैठक राखेकाले छलफलमा केहीबेर सहभागी भएर निस्केका छन् भने अरु नेताहरुको छलफल चलिरहेको छ ।

यसैबीच माधव नेपाल पक्षले शुक्रबारको केन्द्रीय कमिटी बैठकमा भाग लिने कि नलिने भन्ने बारेमा आफ्नो समूहको निर्णय गर्न आजै स्थायी कमिटीका सदस्यहरुको बैठक राखेको छ ।

दिउँसो बस्ने बैठकले यसबारेमा सामूहिक धारणा बनाउने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर