कोरोना दबाउन सिंगापुरको ‘क्रान्तिकारी’ रोडम्यापः संक्रमण गणना नै नगर्ने, लकडाउन हटाउने – Nepal Press

कोरोना दबाउन सिंगापुरको ‘क्रान्तिकारी’ रोडम्यापः संक्रमण गणना नै नगर्ने, लकडाउन हटाउने

के नेपालले सिंगापुर मोडेललाई पछ्याउन सक्ला ?

काठमाडौं । कोरोनाभाइरसको डेल्टा प्रजातिको संक्रमण वृद्धि भएसँगै एसिया प्रशान्त क्षेत्रीय मुलुकहरुले पुनः प्रतिबन्ध लागू गर्ने तयारी थालेका छन् । तर, सिंगापुरले भने जीवनलाई ‘न्यू नर्मल’ अवस्थामा फर्काउन नयाँ योजना अघि सारेको छ ।

सिंगापुरको तीन सदस्यीय कोभिड–१९ कार्यदलले यस्तो ढाँचा अघि सारेको छ, जसले अन्य मुलुकलाई छक्क तुल्याउन सक्छ । प्रस्ताव गरिएको रोडम्यापमा लकडाउन अन्त्य गर्नेदेखि सामूहिक कन्ट्याक्ट ट्रेसिङ पनि नगर्ने, क्वारेन्टाइनरहित यात्राको अनुमति दिनेदेखि भीडभाड हुने थलोलाई सुचारु गर्नेसम्मका छन् । यतिसम्मकी कोरोनाभाइरस संक्रमणको गणना नै नगर्नेसम्म ।

शून्य संक्रमण तुल्याउन प्रतिबन्धहरु लागू गर्ने मोडेललाई आत्मसात गरेका केही देश र क्षेत्रका लागि सिंगापुरको यो रोडम्याप एउटा क्रान्तिकारी प्रस्थानबिन्दु हुनसक्छ । सिंगापुरको यो कदम उसको मुख्य प्रतिस्पर्धी व्यापारिक सहर हङकङलाई पनिए उटा सन्देश हुनसक्छ जसले ठूला भीडभाड रोक्न प्रतिबन्धहरु लागू गरिरहेको छ ।

उक्त कार्यदलका सदस्यहरुले नयाँ प्रजातिको कोरोना फैलिए पुनः क्यारेन्टाइन र लकडाउन नियमलाई कडाइका साथ लागू गर्नुपर्ने हुनसक्छ र यस्तो गर्न सँधैभरी व्यवहारिक नहुने बताउँछन् । उनीहरुको भनाइमा अब कोभिडसँगै जीवन बाँच्नुपर्ने हुनसक्छ ।

‘दुःखद समाचार भनेको सम्भवतः कोभिड अब कहिल्यै अन्त्य हुँदैन । सुखद समाचार भनेको, अब कोभिडसँगै जीवन बाँच्नुपर्छ भन्ने मनस्थिति बनाउनुपर्छ’ गतसाता स्ट्रेट टाइम्समा प्रकाशित आलेखमा सिंगापुरका व्यापारमन्त्री गान किम योङ, अर्थमन्त्री लरेन्स वङ र स्वास्थ्यमन्त्री वङ ए कुङले भनेका छन् ।

सिंगापुरले  कसरी यस्तो गर्नेछ ?

सिंगापुरले महामारीलाई किन यति हलुका ढंगले लिँदैछ ? यसको एउटा सजिलो जवाफ छ: बढीभन्दा बढी खोप लगाउनु ।

जुलाई पहिलो सातासम्म आफ्नो दुई तिहाइ जनसंख्यालाई खोप लगाउने सिंगापुरको योजना छ । साथै, अगस्ट ९ भित्र सबैले खोप लगाउन पाउने उसको तयारी छ ।

‘खोप भनेकै भाइरसको संक्रमण र जोखिमलाई कम गर्ने एकमात्र उपाय हो, यदि तपाईं संक्रमित हुनुभयो भने पनि खोपले तपाईंलाई गम्भीर रोग लाग्नबाट जोगाउन सक्छ’ ती मन्त्रीले भने ।

बढीभन्दा बढीले खोप लगाउन सके भाइरस अनुगमन र नियन्त्रणका लागि सिंगापुरको संक्रमण संख्या परिवर्तन हुनसक्छ । सिंगापुरले यसअघि इन्फ्लुएन्जाको संक्रमण रोक्न आत्मसात गरेका विधिहरुलाई नै पालना गर्ने तयारी गरेको छ । मुख्यतः उसको अनुगमन अब कतिजना गम्भीर बिरामी भए र कतिजना भेन्टिलेटरमा जानुपर्ने परिस्थिती हुनसक्छ भन्नेतर्फ केन्द्रित हुनेछ । संक्रमित बिरामीलाई घरमै निको हुनको लागि अनुमति दिइनेछ ।

‘हामी हाम्रो स्वास्थ्य प्रणालीलाई लिएर बढी नै चिन्तित हुँदैनौं’ ती मन्त्रीहरुले उल्लेख गरेका छन् ।

नयाँ र संक्रामक भाइरस विश्वभर फैलँदै जाने भएकाले भविष्यमा त्यसलाई रोक्न पनि बहुवर्षीयरुपमा खोप अभियान संचालन गर्नुपर्ने र बेला–बेलामा बुस्टर (क्षमता प्रदान गर्ने) डोजहरु दिन सकिने पनि ती मन्त्रीहरुले उल्लेख गरेका छन् ।

अहिलेको समयमा परीक्षण र अनुगमन जरुरी भएपनि ट्रयाक र संक्रमितको सम्पर्कमा आएका र विदेशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्नुभन्दा ठूला समारोह र भीडभाडजन्य कार्यक्रम गर्नुअघि विशेषरुपमा परीक्षण गर्न सकिने उनीहरुको प्रस्ताव समेत छ ।

यसो गर्नका लागि छिटोभन्दा छिटो नतिजा दिने परीक्षण आवश्यक पर्छ किनभने अहिले प्रयोगमा आएको पीसीआर परीक्षणमा नतिजा थाहा पाउन समय लाग्छ । यसको विकल्पमा ब्रेथलाइजरजस्ता वैकल्पिक विधि जसले केही मिनेटमै नतिजाबारे जानकारी गराउँछन् र यी विधिहरु अहिलेलाई पाइपलाइनमा छन् ।

समय अगाडि बढेसँगै कोभिड–१९ को उपचारप्रति थप पहुँच बढ्दै जानेछ । यसअघि ती मन्त्रीहरुले गम्भीर बिरामी, मृत्यु हुनसक्ने सम्भावना भएकालाई थेरापीहरु दिन सकिने बताएका थिए । साथै, उनीहरुले बिरामी महसुस भए भीडभाड नजाने र स्वस्थ आहारविहारजस्ता पक्षलाई नागरिकले आफ्नो दायित्व सम्झेर पालना गर्नुपर्ने बताएका छन् ।

‘निकट अतितमा खोप, परीक्षण, उपचार र नागरिक हुनुको उत्तरदायित्वले ठूलो अर्थ राख्छन् । हाम्रो कर्तव्य पनि अहिलेभन्दा भिन्न हुनेछ’ उनीहरुले भनेका छन् ।

अन्य देशहरुलाई भने शंका

भाइरस नियन्त्रणका लागि सिंगापुरसँग राम्रो अनुभव र इतिहास छ । यसका लागि उसले अन्तर्राष्ट्रिय सीमामा नियन्त्रण, क्वारेन्टिनको स्थापना, कन्ट्याक्ट ट्रेसिङ र मास्क लगाउने तथा भीडभाड नगर्नेजस्ता सामाजिक दूरीका नियमहरुलाई कडाइका साथ लागू गर्यो ।

गतवर्ष अप्रिलमा भाइरसको संक्रमण उत्कर्षमा पुग्दासमेत सिंगापुरले महामारी व्यवस्थापन गरेको थियो । गत मेमा चांगी विमानस्थलका केही कामदारमा संक्रमण देखिएपछि सिंगापुरले तत्काल उडान पनि बन्द गरेको थियो ।

जोन हप्किन्स युनिभर्सिटीका अनुसार महामारी सुरु भएयता झन्डै ५७ लाख जनसंख्या मात्र भएको सिंगापुरमा गतमहिनासम्म दैनिक १८ जना संक्रमित हुने गर्थे भने त्यसयता ३६ जनाको मात्र मृत्यु भएको छ ।

खोप कम लगाएका र पुनः कडा प्रतिबन्ध लागू गरेका मुलुकहरुका लागि महामारी नियन्त्रण गर्न सिंगापुरको यो रोडम्याप एउटा प्रस्थानविन्दु हुनसक्छ । सोमबारदेखि अष्ट्रेलियाका चारवटा मुख्य सहरमा डेल्टा प्लस प्रजाति व्यापकरुपमा फैलिएपछि त्यहाँ लकडाउनका प्रावधानहरु लागू गरिएको छ ।

खोप लगाउनेको संख्या कम भएपनि अष्ट्रेलियाले सुरुआती चरणमा भाइरस नियन्त्रणमा सफलता प्राप्त गरेको थियो । सीएनएनको एक तथ्यांकअनुसार ५ प्रतिशत नागरिकलाई मात्र अष्ट्रेलियाले खोप लगाएको छ भने अमेरिकाले ४६ प्रतिशत र बेलायतले ४८ प्रतिशतलाई लगाएका छन् ।

आर्थिक सहर हङकङमा खोपप्रतिको हिच्किचाहट उच्च नै छ, जहाँ जनसंख्याको २१ प्रतिशतलाई मात्र खोप लगाइएको छ । डेल्टा प्रजातिको संख्यामा वृद्धि भएपछि जुलाई १ बाट हङकङले बेलायतसँग हुने सबै उडानलाई रोक लगाएको छ ।

चीनले १ बिलियन डोजभन्दा बढी खोप नागरिकलाई लगाइसकेको अनुमान गरिएको छ । डेल्टा भेरिएन्ट बढ्ने सक्ने सम्भावनाको कारण चीनको मुख्य आर्थिक थलो ग्वान्झाउले संक्रमितको नजिक पाइएका ५ हजार जना अट्न सक्ने क्वारेन्टिन निर्माण गरेको छ ।

नेपालमा निषेधाज्ञाकै भर

नेपालमा बुधबारसम्म कोभिड–१९ को दुबै डोज खोप लगाउनेको संख्या ७ लाख ५४ हजार भने २५ लाख पहिलो डोज खोप लगाएका छन् । यो भनेको मुलुकको कूल जनसंख्याको २.२५ प्रतिशत जति हुन आउँछ ।

खोप अभावको कारण अहिले खोप अभियान प्रभावित भएको अवस्था छ । खोप आउन पहल भैरहेको बताइएपनि तत्काल खोप आउने सुनिश्चितता देखिएको छैन । डेल्टा प्लस प्रजातिको संक्रमण पुष्टि भएको छ र दशैं आसपासबाट तेस्रो छाल आउने विज्ञहरु बताउँछन् ।

भाइरस नियन्त्रणका लागि प्रतिबन्धहरु लागू गर्ने जिम्मा अहिले प्रमुख जिल्ला अधिकारीहरुले लिएका छन् । काठमाडौं उपत्यकासहित मुलुकका अधिकांश जिल्लामा केही खुकुलोसहित निषेधाज्ञा जारी नै छ । मुलुकको संक्रमण दर झन्डै २३ प्रतिशत छ भने सक्रिय संक्रमित संख्या असार १५ गतेसम्म ३५ हजार ३१० छ ।

खासमा निषेधाज्ञा कोभिडको रोकथामका लागि तयारीको रुपमा प्रयोग हुनुपर्ने हो तर, उचित कन्ट्याक्ट ट्रेसिङ र वैज्ञानिक विधिबिना निषेधाज्ञा लागू गर्ने काम मात्र भइरहेको छ । ‘१० प्रतिशतमा संक्रमण दर झ¥यो भने मात्र हामीले चरणवद्ध रुपमा विभिन्न क्षेत्रहरु खुलाउन सक्छौं र ५ प्रतिशतमा झरेमात्र स्कुल र सार्वजनिक यातायात खुलाउन सकिन्छ’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले नेपाल प्रेसलाई भने ।

काठमाडौैं उपत्यकाका सीडीओहरुसँग पनि निषेधाज्ञा गर्नेबाहेक अन्य योजना देखिएको छैन । स्वास्थ्य मन्त्रालयको सुझावको आधारमा मात्र उनीहरु निषेधाज्ञा लम्बाइरहेका छन् ।

सीडीओहरु पनि सार्वजनिक यातायात र अन्य भीडभाड हुने क्षेत्रलाई तत्काल खुलाउने वा नखुलाउने भन्ने अलमलमा छन् । ‘व्यवसायीको दबाब पनि छ र हामीले स्वास्थ्य मन्त्रालयको सुझाव पनि मान्नुपर्ने अवस्था छ’ ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले नेपाल प्रेससँग भने, ‘हामीले मात्र गरेर हुने होइन, नागरिक पनि थप जिम्मेवार हुनुपर्छ भन्ने हो ।’

(सीएनएनसहित अन्तर्राष्ट्रिय संचारमाध्यमको सहयोगमा)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *