नयाँ सरकार बनेपछि खोप ल्याउन अहिल्यैबाट तयारी थालिसक्यौं : प्रचण्ड – Nepal Press

नयाँ सरकार बनेपछि खोप ल्याउन अहिल्यैबाट तयारी थालिसक्यौं : प्रचण्ड

मलाई कहिले यता कहिले उता गर्ने कसले बनायो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सरकार चाँडै बन्ने भन्दै त्यसपछिका योजनाहरु सुनाएका छन् । नयाँ सरकार बनेपछि खोप ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखिने उनले सुनाए ।

आज विपक्षी गठवन्धनले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले सर्वोच्चले संसद पुन:स्थापना गर्ने विश्वास व्यक्त गर्दै नयाँ सरकार चाँडै बन्ने दावी गरेका हुन् ।

सरकार बनेपछिका योजना उनले यसरी सुनाए :

‘मैले अस्ति पनि भनेँ… नयाँ सरकार बनेपछि हामी जाने भनेको त संविधान, लोकतन्त्र, राष्ट्रियता, जनजीविकाको पक्षमा नै हो । पहिलो त हाम्रो उद्देश्य जिउधनको रक्षा नै हुन्छ । नयाँ सरकार बन्ने वित्तिकैको पहिलो एजेन्डा खोप ल्याउने बनाइन्छ । त्यसका लागि अहिल्यैदेखि तयारी सुरु गरिएको छ । विभिन्न मित्रराष्ट्रहरुसँग खोपसम्बन्धी स्थिति के छ भन्ने छलफल थालिएको छ । सरकार बन्नेबित्तिकै खोप ल्याउने र जनताको जिउधन रक्षा गर्ने कामलाई प्राथमिकता दिइन्छ ।’

‘खोपपछि बाढीपिडितको राहत र पुन:स्थापनालाई प्राथमिकता दिइन्छ । यो बीचमा भएका भ्रष्टाचार, गलत नियुक्तीहरु अवैधानिक नियुक्तीहरु…. यो सरकार नै वैधानिक छैन । यो सरकार त कामचलाउ पनि होइन । अवैधानिक सरकारले गरेका अवैधानिक नियुक्ती खारेज गरेर अघि बढ्छौं ।’

आफूहरु र प्रधानमन्त्री केपी ओली उस्तै नभएको प्रचण्डले फेरि दोहोर्‍याए । आफूलाई अस्थिर भनेर आलोचना गरिएकोमा पनि उनले गुनासो गरे ।

प्रचण्डले भने, ‘प्रचण्ड कहिले यता, कहिले उता भन्नुहुन्छ । मलाई कहिले यता, कहिले उता गर्ने कसले बनायो ?’

त्यसपछि उनले यसरी ब्याख्या गरे :

‘मेरो एउटै मात्र प्रश्न छ तपाईंहरुसँग, उत्तर चाहिया छैन र स्पष्टीकरण दिन खोज्या पनि होइन । मेरो प्रश्न के छ भने मलाई कसले यस्तो बनायो ? मेरो कमजोरी त होला मानेँ । म युद्धबाट शान्तिमा आएँ । शान्तिबाट संविधानसभामा जान बल गरेँ । संघीय लोकतान्त्रिक गणतन्त्रमा आएँ । सुरुमा एमालेसँग मिलेर सरकार बनाएँ । सैनिक सर्वोच्चता कि नागरिक सर्वोच्चता भन्नेमा लडाई परो । म सेनालाई हावी गराउने प्रवृत्तिका विरुद्ध लडेँ । गम्भीर राजनीतिक संकट पैदा भयो । सत्ता साझेदारले नै छोड्ने स्थिति भएपछि मैले सजिलै कुर्सी छोडिदिएँ । यो सबै कुरा हिसाबै गर्नु नपर्ने हो ? युद्धमा ठिकै थिएँ, शान्तिमा आउनु गल्ति हो ? संविधासनभा, लोकतान्त्रिक गणतन्त्र गराउनु गल्ति भएको हो ?’

‘किन यस्तो भयो ? किन भयो यस्तो ? मैले देशमा चुनाव गरिसकेपछि र संविधान भइसकेपछि जनभावनाअनुसार राजनीतिक स्थायीत्वका लागि कम्युनिष्ट आन्दोलन एक ठाउँमा ल्याउने प्रस्ताव गरेर गल्ति गरेँ ? तपाईंहरुले भन्न खोजेको त्यही हो ? कि के हो ? मैले केपीसँग गलत सम्झौता गरेको थिएँ ? राजनीतिक प्रतिवेदन पढ्नुहोला । लिडरसिपको बारेमा गरिएका सहमति गल्ति थिए त ? राष्ट्रको अहितमा थिए त ?’

‘एकजनाले सोध्नुभयो, केपीले धोका दिन्छ भन्ने थाहा थियो नि, त्यही केपीलाई फेरि प्रधानमन्त्री बनाउन किन गएको ? पहिले लिखित थिएन, योपटक त लिखित गरिएको छ भन्ठानेँ मैले । सम्झौता गर्‍या छ । नेताहरुको टिमै बसेर गर्‍या छ । दस्तावेज तयार पारिएको छ । केपीको हाम्रो हस्ताक्षर छ भनेपछि यस्तो त नहोला भन्ठानेँ । मेरो गल्ति हो त्यो ? अब अहिले भिलेन भए त गर्ने के ? हुँदा रछन् नि त । कुन चैं कम्युनिष्ट पार्टी छ भिलेन नभएको ? जन्मिन्छन् नि । लड्ने हो । लड्दै जाने हो ।’

‘खगेन्द्रजी, कृष्णजीले सकेसम्म झ्याँको झार्न खोज्नुभो । मैले के भनेँ भने मैले केपीलाई यति साह्रै अपराधि त छैनन् कि भन्ठानेँ । छन् भने पनि सम्झौता गराएको छु, हिजो पञ्चायतविरोधि आन्दोलनदेखिको साथी माधवजी साथमा हुनुहुन्छ, सबै भएपछि ठीक गरिएला भन्ठानेँ । तर सकिएन । सक्न त सक्या हो । बहुमत पनि बनाएको हो तर पनि सकिएन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर