असार १८ एमाले एकताको डेडलाइन, बैठकमा आउनेलाई समेटेर अघि बढ्ने तयारी – Nepal Press

असार १८ एमाले एकताको डेडलाइन, बैठकमा आउनेलाई समेटेर अघि बढ्ने तयारी

काठमाडौं । नेकपा एमालेको पुनर्मिलनका लागि असार १८ गते ‘अन्तिम डेडलाइन’ हुने भएको छ । २०७५ जेठ ३ अघिकै पदीय हैसियतमा माधव नेपाल पक्षलाई बोलाइएको बैठकमा सहभागी नभएमा त्यहि दिनबाट एकताका औपचारिक प्रयासलाई विश्राम दिइने अध्यक्ष केपी शर्मा ओलीले संकेत गरेका छन् ।

बुधबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग हुनुअघि बसेको बैठकमा अध्यक्ष ओलीले एकताका लागि हदैसम्म लचिलो र अपमानित भएर आफूले पहल गरेको भन्दै अब पनि बैठकमा नआए पर्खेर नबस्ने बताएका थिए ।

माधव नेपाल पक्षका दोस्रो तहका नेताहरुसँगका चरणबद्ध अनौपचारिक छलफलपछि नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र कमिटीहरु ब्युँताएर बोलाइएको बैठकमा नेपाल पक्ष सहभागी नभए एमाले एकता नामको हालसम्मको प्रक्रियालाई च्याप्टर क्लोज गरिने नेताहरुले बताएका छन् ।

बैठकमा सहभागी एक नेताले भने- जेठ १८ गतेको बैठक नै एमाले सग्लै मिल्ने कि नमिल्ने भन्ने कट अफ डेट हुने देखियो । अध्यक्षको आशय पनि त्यो बैठकमा पनि माधव नेपाल आएनन् भने एकताका नाममा थप समय खेर नफाल्ने भन्ने नै रह्यो । पार्टीलाई गतिहीन बनाएर एकताका नाममा बन्धक राख्नु हुन्न भन्ने नै बैठकको स्पिरिट हो । त्यो बैठकमा नआएमा एमाले अघि बढ्छ ।

सर्वोच्च अदालतले कर्णालीका चार सांसदलाई कारवाही गर्ने दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको निर्णयमाथि प्रश्न उठाएपछि अदालतको आदेशको समेत सम्मान गर्दै एमालेले केन्द्रीय कमिटी ब्युँताएको छ । माधव पक्षको माग पनि सम्बोधन हुने र अदालतको आदेशको पनि पालना हुने अर्थमा यो निर्णयलाई लिइएको छ ।

यद्यपी एमालेभित्र माधव नेपाल कुनै पनि हालतमा अब फर्किदैनन् भन्ने निष्कर्ष नेताहरुले निकालिसकेका छन् । नेपालसँग जोडिएका नेताहरुलाई फर्किनका लागि सहज वातावरण बनाइदिन २०७५ जेठ २ अघिकै हैसियतमा बैठक आह्वान गरिएको हो ।

यद्यपी माधव पक्षले जेठ २ अघिको बैठक बसेर त्यस बैठकले एकता प्रक्रियामा समेटिएका माओवादी नेताहरुलाई समेत थप्न सकिने भनिरहेका छन् । अहिले दुवै पक्षका नेताहरुबीच चलिरहेको वार्ता पनि कुन प्रक्रियाबाट बैठक बस्ने र कसरी सम्बोधन गर्ने भन्नेमै केन्द्रित रहेको छ ।

त्यसो त वार्तामा बसेका माधव पक्षका दोस्रो तहका नेताहरुको भूमिकामाथि समेत नेपाल समूहमै संशय व्यक्त गरिएको छ । माधव नेपालसँग लामो समयदेखि निकट रहेका नेताहरुले वार्ताले आफूहरुको भावना प्रतिनिधित्व नगर्ने बताइरहेका छन् ।

रघुजी पन्त, बेदुराम भुसाल, भीम रावल, जगन्नाथ खतिवडा, प्रकाश ज्वाला, राजेन्द्रकुमार राई, विजय पौडेल लगायतका नेताहरुले जेठ २ मा फर्किदैमा एमाले मिल्न नसक्ने भनिरहेका छन् । त्यसमाथि पनि ओलीले बोलाएको बैठकमा जेठ ३ गते थपिएका एमाले र माओवादीबाट एमाले भएकाहरुलाई समेत बोलाइएकाले जान नहुने मत राखेका छन् ।

एमाले उपमहासचिव तथा वार्तामा निरन्तर रहेका नेता बिष्णु पौडेलले भने अब पनि बैठकमा नआउने हो भने माधव नेला पक्षको अर्घेलो बाहेक केही पनि नदेखिने बताएका छन् । उनले अब सबैको हैसियत जेठ २ अघिको एमालेको फर्किएको भन्दै यो मौकालाई एकताको पक्षमा सदुपयोग गर्न आग्रह गरेका छन् ।

माधव नेपाल पक्ष बैठकमा सहभागी हुने वा नहुनेबारे दुबिधा छ । यसबारे छलफल गरेर निर्णय लिन बिहीबार नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठक बस्दैछ । बुधबार राति अबेरसम्म दुवै पक्षका नेताहरु एकता वार्तामा समेत सहभागी रहे ।

माधव नेपाल विपक्षी गठबन्धन छाडेर एमालेमा फर्किन नसक्ने अवस्थामा पुगेकाले अब नेपाल समूहमा रहेका को-को नेता बैठकमा आउछन् भन्ने मात्र बाँकी रहेको एमाले नेताहरु बताउछन् । माधव नेपालसहितको टिम बैठकमा आए तल्ला संरचना र जनवर्गीय संगठनहरुलाई पनि जेठ २ मै फर्काउन सकिने र त्यसका लागि कार्यदल गठन हुनेछ ।

यदि नेपाल पक्ष नआएमा एमाले अहिलेकै संरचनाबाट अघि बढ्नेछ । मात्र एमालेको कमिटीगत संरचना महाधिवेशन आयोजक कमिटीबाट केन्द्रीय कमिटीका रुपमा सन्चालन हुनेछ । त्यसले एकातिर अदालतको आदेश पालना हुनेछ भने अर्कोतिर अब अनुशासन उल्लंघनमा भएको कारवाहीले वैधानिकता पाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर