महाधिवेशन आयोजक कमिटी भंग भएलगत्तै एमालेका दुवै पक्षका नेताहरू वार्तामा – Nepal Press

महाधिवेशन आयोजक कमिटी भंग भएलगत्तै एमालेका दुवै पक्षका नेताहरू वार्तामा

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षलाई पनि सहभागी गराएर पार्टी एकता कायम गर्न दुवै पक्षका नेताहरू छलफलमा जुटेका छन् ।

यसअघि पनि एकता वार्ताको लागि निरन्तर छलफलमा रहेका नेताहरू दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी भंग भएर असार १८ गते केन्द्रीय कमिटी बैठक बोलाइएपछि पुनः वार्तामा बसेका हुन् ।

ललितपुरस्थित समिट होटलमा संस्थापन पक्षबाट उपमहासचिव विष्णु पौडेल,नेता सुवास नेम्वाङ र शंकर पोखरेल वार्तामा सहभागी छन् । माधव नेपाल पक्षबाट उपमहासचिव घनश्याम भुसाल, सचिवहरू भीम आचार्य, गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे छन् ।

माधव नेपालसहितको बैठक बसेर पार्टीलाई एकताबद्ध बनाएर लैजाने अवसर आएको भन्दै वार्तामा सहभागी नेता नेम्वाङले महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूकै हैसियतमा सबैले आ-आफ्नो ठाउँबाट पार्टी एकताका लागि पहल गर्नुपर्ने बताए ।

यसअघि आयोजक कमिटी बैठक बस्नुभन्दा पहिले पनि पौडेल र भुसालबीच छलफल भएको थियो । नेकपा एकतापूर्व एमालेबाट थपिएका ४१ जना सदस्य र माओवादीबाट थपिएका नेताहरूसहितको बैठक बस्न अनौपचारिक सहमति भएको नेताहरूले बताएका छन् ।

तर, नेपाल पक्षकै कतिपय नेताले भने फेरि पनि जालझेल गर्न खोजिएको र जेठ २ अघिको बैठक बसेर अरुलाई थप्नुपर्नेमा ओलीले झुक्याउन सक्ने आशंका गरेका छन् । नेपाल पक्ष पनि बैठकमा सहभागिता जनाउने वा नजनाउनेबारे आन्तरिक छलफलमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर