ओलीको आरोप- विरोधीसँग साँठगाँठ गरेर एमालेमा अस्थिरता ल्याउन खोजे (भिडियाे) – Nepal Press

ओलीको आरोप- विरोधीसँग साँठगाँठ गरेर एमालेमा अस्थिरता ल्याउन खोजे (भिडियाे)

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरू भएको बताएका छन् ।

आज बालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्तिहरू जालझेल, षडयन्त्र, तिकडमका साथ गुटबन्दीमा क्रियाशील भएको टिप्पणी गरेका छन् । अहिले त्यो खेल विरोधीहरुसँगको साँठगाठमा प्रवेश गरेको उनको आरोप छ ।

‘सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्र असाधारण अस्वस्थता सुरू भयो । पदीय आकांक्षाका लागि । अस्वस्थ्य पदीय आकांक्षाका लागि । जालझेल, षडयन्त्र, तिकडमबाट ,पार्टीभित्रको अस्वस्थ्य गुठबन्दीबाट अस्थिरता पार्टीमा पैदा गर्न केही तत्वहरु पार्टीभित्र क्रियाशिल भए’, बैठकमा ओलीले भने, ‘त्यसले पार्टीभित्र असहज वातावरणतर्फ लग्यो । २ बर्ष पूरा भइसकेपछि पर्टीभित्रैबाट राजीनामा माग्न हतारो । अरुको अविश्वास प्रस्ताव राख्ने हैसियत नभएको स्थितिमा राजीनामाको बबण्डर मच्चाउन खोजियो । अस्थिरता ल्याउने खेल सुरू भयो । त्यो खेल अब विरोधीहरूसँगको साँठगाठमा गयो । जे भेटिन्छ त्यसको प्रयोग गर्ने । जे प्रयोग गरेर झटारो हान्न सकिन्छ, पार्टीलाई कमजोर पार्न सकिन्छ त्यो गर्ने । यस खालका प्रयास हुदै आए ।’

पार्टीभित्रैको एक समूहले पार्टी कब्जा गर्ने उद्देश्य साथ आफूलाई साधारण सदस्यता पनि नरहने गरी निष्कासन गरेको ओलीले स्मरण गरे ।

बैठकमा ओलीले पार्टीभित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयकहरू बन्न नदिएर अल्झाउने काम भएपछि आफूले संसद विघटन गरेको उल्लेख गरे । प्रतिनिधिभा पुन:स्थापनापछिको पहिलो दिनको संसद बैठकमा भएका क्रियाकलापको पनि उनले चर्चा गरे ।

ऐतिहासिक रुपमा अभूतपुर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण सरकार जनतामा लोकप्रिय हुँदै गएको ओलीको दावी छ ।

‘योजनावद्ध दृष्टिकोणसहितको विकासको तीव्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिबद्धता र तदनुसारको क्रियाकलापहरूले हाम्रो पार्टी झन बढी लोकप्रिय हुदै अगाडि बढिरहेको छ ‘, उनको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर