कोटा प्रणालीले कालोबाजरीसँग सुन किन्न व्यवसायी बाध्य ! – Nepal Press

कोटा प्रणालीले कालोबाजरीसँग सुन किन्न व्यवसायी बाध्य !

रुपन्देही । बजारमा सुन अभाव भएकाले व्यवसाय बचाउँन विचौलियाहरुसँग महंगोमा सुन खरिद गरेको रुपन्देहीका सुन व्यवसायीहरुले बताएका छन् ।

सुनचाँदी व्यवसायका लागि आवश्यक पर्ने कच्चा सुन र चाँदी बजारमा प्रयाप्त नहुँदा कालोबजारी गर्ने गिरोहले मौकाको फाइदा उठाइरहेको उनीहरुको दावी छ । उनीहरु भन्छन्– व्यवसाय बचाउँन कालोबजारीवालासँग महंगोमा किनेर व्यवसाय चलाउनुपरेको छ ।

रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष रामकिसन विश्वकर्माले अहिले सुनको आपूर्तीमा बजार हेरेर कोटा प्रणाली निर्धारण गरिएकाले समस्या आएको बताए । ‘आपूर्तिमा कोटा प्रणालीले समस्या आएको हो, गहनाको माग बढ्ने सिजनमा पर्याप्त सुन नहँुदा कालोबजारी गर्नेले मौका पाए’, अध्यक्ष विश्वकर्माले भने’, ‘अहिले रुपन्देहीमा एक हप्ताका लागि ३ किलो कोटा दिइएको छ, ३ किलो भनेको २५७ तोला हो, जिल्लामा संघमा आवद्ध ५५० व्यवसायी छौं, आधा तोला सुन लिएर के गर्ने ?’

रुपन्देहीमा कम्तिमा ६ किलो हुने उनको भनाइ छ । ‘कोटा बढाउन नेपाल राष्ट्र बैंकमा शाखा कार्यालय भैरहवामार्फत सुनको आपूर्ती पर्याप्त र सहज बनाउन भन्दै ज्ञापनपत्र बुझाएका छांै’, अध्यक्ष विश्वकर्माले बताए ।

बजारमा सुन कोटा प्रणालीबाट आउँदा व्यवसायलाई व्यापार चलाउन गाह्रो भएको सुनचाँदी व्यवसायी संघका सुनचाँदी विज्ञ व्यवसायी परामर्श समितिका संयोजक प्रेम कुमार सेन्चुरीले बताए । ‘निषेधाज्ञापछि सुन आएको छैन, २ महिना भयो सुन नआएको, अहिले कालोबजारी भएको छ, यो नियन्त्रणका लागि पनि सुन कोटा बढाउन र सहज गर्नु पर्छ’ उनले भने’, ‘अर्डर गरेको सुनको गहना बनाएर दिनै पर्यो, सस्तो महंगो भन्ने कुरा भएन, अर्डर हँुदा जुन दर थियो त्यही दरमा दिनु पर्छ, सुन अभाब हुँदा व्यवसायी चिन्तामा छन्, नोक्सानमै व्यवसाय गर्नुपरेको छ ।’

सुन अभाव हुँदा कालोबजारीले पश्रय पाइरहेको र यस्ले ग्राहक, व्यवसायी र राज्यलाई समेत हानि पुरयाईरहेको व्यवसायीको भनाइ छ ।

ठूला डिलरहरु व्यवसायीकहाँ सुन बोकेर आफैं मोल गर्न पुग्ने गरेको र एक तोलामा अहिले ३५ सयदेखि ४ हजार रुपैयाँसम्ममा बढी मूल्य लिएर ठूला डिलरहरुले सुन सप्लाई गरिरहेको एक व्यवसायीले बताए ।
अहिले सुनको मूल्य तोलाको ९० हजार हाराहारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर