कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न चिकित्सक संघको माग – Nepal Press

कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले  दोलखाको तामाकोशी गाउँपालिका -४ मालुमा रहेको कोभिड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुमाथि  हातपात गर्ने स्थानीयलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०७८ बमोजिम कारबाही गर्न माग गरेको छ ।

असार १३ गते राति तामाकोशी गाउँपालिकामा स्थित कोभिड १९ अस्पताल मालुमा कार्यरत डा. रोविस कार्की लगायतका अन्य स्वास्थ्यकर्मीहरुमाथि स्थानीयले हातपात गरेका थिए ।

संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०७८ बमोजिम अनुसन्धान कार्यलाई थप प्रभावकारी र दोषीलाई हदैसम्म कारवाही गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पार्न माग गरेको हो ।

संघले बुधबार विज्ञप्ति जारी गर्दै कोभिड(१९ को महामारीमा आफ्नो ज्यानको बाजी लगाउदै स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी यसरी हातपात हुनु अझ ज्यान नै लिने भनी अमानवीय व्यवहार प्रदर्शन गर्नु निन्दनीय घटना भएको बताएको छ ।

जारी विज्ञप्तिमा भनिएको छ,‘यसको जति निन्दा गरे पनि कमै हुन्छ । उक्त घटना पश्चात् यस संघ प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमखसंग निरन्तर समन्वय गरीरहेको व्यहोरा अबगत नै छ। निरन्तर समन्वय र दबाब पश्चात् उक्त अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई स्थानीय सुरक्षाकर्मीहरुले पकाउ गरी थुनामा राखी अनुसन्धान कार्य अगाडी बढाईरहेको छ।’

शनिबार राति १२ वजे तिर स्थानीय केहि युवाहरुले मदिरा सेवन गरी अस्पतालमा कार्यरत डाक्टर रोविस कार्की र कार्यालय सहयोगी टोप वहादुर मिजारलाई हातपात गरेको  थियाे ।

गाउँपालिकाले सञ्चालन गरेको कोभिड अस्पतालमा शनिबार राति मदिरा सेवन गरेका युवाहरु प्रवेश गरी हुलहुज्जत सहित अन्य विरामीलाई पनि उपचार गर्नुपर्छ भन्दै डाक्टर माथि हातपात भएको  थियाे  ।

अस्पतालमा कार्यरत डाक्टरले कोरोनाका विरामी भएकोले भित्र नपस्न आग्रह गर्दै केहि समस्या भए कोरोनाका विरामी भएको ठाँउभन्दा छुट्टै ठाँउमा स्वास्थ्य परिक्षण गरिदिने भनेको तर उनीहरुले पर्खाल नाघेर भित्र प्रवेश गरी कुटपिट गरेको बताइएको छ ।

डाक्टरमाथि हातपात गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियाे । प्रहरीले तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुका गोपाल तिमलसिना, रोशन पोखरेल र विजुले नेपालीलाई नियन्त्रणमा लिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर