अस्मिताकाे मृत्यु रहस्यमै: पाेस्टमार्टमले देखायाे हत्या, प्रहरीले भेटेन सुराक – Nepal Press

अस्मिताकाे मृत्यु रहस्यमै: पाेस्टमार्टमले देखायाे हत्या, प्रहरीले भेटेन सुराक

कैलाली । डडेल्धुराको पर्सुराम नगरपालिका-८ स्थित आधारभूत स्वास्थ्य कार्यालय जम्रानीमा कार्यालय सहयोगीको रुपमा कार्यरत अस्मिता धामीको शव भेटिएकाे ११ दिन बितिसकेको छ । तर, अहिलेसम्म प्रहरीले घटनाको सत्य/तथ्य सार्वजनिक गर्न  सकेकाे छैन ।

पोस्टमार्टम रिपोर्टले उनको हत्या भएकाे देखाए पनि प्रहरीले कुनै प्रमाण र सुराक नभेट्दा घटना रहस्यकै गर्भमा रहेकाे हाे । भिसेरा परीक्षण भइरहेको र त्यसको रिपोर्ट आएपछि घटनाबारे तथ्य आउने प्रहरीले बताउँदै आएको छ ।

‘पोस्टमार्टम रिपोर्ट आइसकेको छ । त्यसले हत्या भएको देखाएको छ,’ वडाध्यक्ष गोविन्द बोहराले भने, ‘प्रहरी हत्या गरेको बताए पनि हत्यारा पत्ता लगाउन सकेको छैन ।’

असार २ गते जमरानीबाट खोप पुर्‍याउन जोगबुडा हिँडेकी अस्मिता त्यही दिनदेखि बेपत्ता भएकी थिइन् । ५ गते कार्यालयबाट करिब १ घण्टको दुरीमा रहेको पशुराम नगरपालिका–९ स्थित हट्वानी सामुदायिक वनमा उनको शव भेटिएको थियो ।

‘घटनाको प्रकृति हेर्दा हत्या भएको देखिन्छ,’ स्थानीय वैद्यनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजबहादुर बिष्टले भने, निधारमा डुङ्गाले हानेर मारेको भन्छन् ।’

घटना भएको १३ दिन सम्म पनि प्रहरीले दोषी पक्राउ नगर्दा घटना ओझेलमा पर्ने हो कि भन्ने चिन्ता बढेको उनले चित्ना व्यक्त गरे ।

अस्मिताको साथमा रहेको मोबाइल प्रहरीले शव भेटेको तीन दिनपछि मात्र फेला पारेको थियो । शव भेटिएको स्थानबाट करिब १०० मिटर तल प्रहरीले मोबाइल फेला पारेको थियो ।

‘मोबाइल फुटाउन खोजेको अवस्थमा प्रहरीले ८ गते भेटाएको थियो । तर, त्यसको पछाडि एक हजार रुपैयाँ थियो, त्यो भेटेको छैन,’ वडाध्यक्ष बोहराले भने, ‘उनको खल्तीमा रहेको पैसा र कागज पनि गायब छ ।’

घटना स्थलमा भेटिएको मोबाइल परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । ठोस प्रमाण नहुँदा हत्या भएको भन्न पनि प्रहरीलाई सकस छ ।

‘शव भेटिएको हो, हत्या हो वा होइन भन्ने कुरा अनुसन्धान पछि मात्रै थाहा हुन्छ,’ जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र चन्दले भने, ‘अहिले नै केहि भन्न सकिने अवस्था छैन ।’

मृत्युको कारण प्रष्ट पार्ने आधार अझै फेला नपरेको हुँदा उनले घटनाबारे अझै तथ्यगत रुपमा भन्न सकिने अवस्था नरहेको उनले बताए ।

‘मृतकको शरीरबाट  केही कुरा संकलन भएको छ । घटना स्थलमा केही कुराहरू बरामद भएको छ । ती सबैको अनुसन्धानपछि घटनाबारे थाहा हुन्छ,’ उनले भने ।

स्थानीयले शरीरमा नीलडाम देखिएको, शव फेला परेको स्थानसम्म घिसारेको जस्तो र उक्त स्थानमा मदिराको खाली बोतल फेला परेकाले बताउँदै आइरहेको छन् । तर, प्रहरी अधिकारीले भने अझैसम्म घटनाको सुराकसम्म पाउन सकेका छैनन् ।

घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, संघीय प्रहरी इकाई कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *