जिल्ला सभापतिहरुले पौडेललाई भने : तपाईं स्वभाविक उम्मेदवार हो, टिम मिलाउनुस् – Nepal Press

जिल्ला सभापतिहरुले पौडेललाई भने : तपाईं स्वभाविक उम्मेदवार हो, टिम मिलाउनुस्

काठमाडौं । नेपाली कांग्रेसका एक दर्जनभन्दा बढी जिल्लाका सभापतिले वरिष्ठ नेता रामचन्द्र पौडेल आसन्न महाधिवेशनमा स्वभाविक उम्मदेवार भएकोले अन्य आकांक्षी समेतलाई समेटेर लैजानुपर्ने सुझाव दिएका छन् ।

काठमाडौंमा उपलब्ध संस्थापनइतर समूहका १४ जना जिल्ला सभापतिहरुले अन्य आकांक्षीहरुलाई व्यवस्थापन गरेर छिटो उम्मेदवारी घोषणा गर्न समेत आग्रह गरे ।

काठमाडौं चाबहिलस्थित एक होटलमा भएको छलफलमा वरिष्ठ नेता पौडेलले महाधिवेशनको विषयमा केन्द्रीत रहेर सुझाव दिन आग्रह गरेका थिए । छलफलमा सहभागि सबैजसो जिल्ला सभापतिले १३ औं महाधिवेशनमा पौडेलकै नेतृत्वमा महाधिवेशनमा होमिएको स्मरण गर्दै अहिले पनि पौडेलले सबैलाई समेट्नुपर्ने बताएका थिए ।

‘पार्टीमा योगदान गरेको हिसाबले हाम्रो टिमबाट तपाई सभापतिको नेचुरल क्याण्डिडेट हो । यसपटक जसरी पनि महाधिवेशन जित्नुपर्छ, त्यसका लागि अन्य उम्मेदवारहरुलाई पनि मिलाउन तपाईले अग्रसरता लिनुपर्छ’, छलफलमा सभापतिहरुको राय थियो ।

नेपाली कांग्रेस धादिङका सभापति रमेश धमलाले महाधिवेशन कार्यतालिका, क्रियाशील सदस्यता र भावी नेतृत्वबारे वरिष्ठ नेतासँग जिल्ला सभापतिहरुले छलफल गरेको बताए । पार्टीलाई सही ढंंगले नेतृत्व दिन संस्थापन पक्ष असफल भएकोले विकल्प दिन आफूहरु सक्षम हुनुपर्ने जिल्ला सभापतिहरुको धारणा थियो ।

‘अहिलेको संस्थापनबाट पार्टी हित र राष्ट्रिय आवश्यकता सम्बोधन हुन सकेन भन्ने हाम्रो साझा धारणा नै हो । तर, नेतृत्व परिवर्तनका लागि हामीभित्र पनि एकता चाहिन्छ । रामचन्द्र दाईले नेतृत्वमा दावी गर्ने सबै नेताहरुलाई मिलाएर लैजान सक्नुभयो भने मात्रै सफल भइन्छ भनेर हामीले भन्यौं’, धादिङ सभापति धमलाले भने । पौडेल आफैं सभापतिको उम्मेदवार बन्दा वा अरु कसैलाई सघाउँदा पनि संस्थापन विरुद्ध एक टिम लड्नुपर्ने अधिकांशको धारणा रहेको धमलाले बताए ।

छलफलका क्रममा वरिष्ठ नेता पौडेलले आफू र सभापति शेरबहादुर देउवालाई एउटै डालोमा राखेर हेर्ने काम भइरहेकोमा आपत्ति व्यक्त गरे । ‘मैले पार्टी वा सरकारको फस्र्टम्यान भएर काम गरेको छैन । देउवाजीले पटक-पटक त्यस्तो अवसर पाइसक्नुभयो । त्यसैले उहाँको असफलतासँग मलाई जोड्नु अन्याय हुन्छ’, पौडेलको भनाई थियो ।

पौडेलले सभापतिमा दावी गरेका डा. शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालासहित सिनियर र युवा नेताहरुसंग छलफल गरेर आफू अगाडि बढ्ने बताएका थिए । सबै नेतालाई साझा समूह बनाउने विषयमा सुझाव र दवाव दिनसमेत जिल्ला सभापतिहरुसंग पौडेलले आग्रह गरे ।

छलफलमा सभापतिहरुले क्रियाशील सदस्यता वितरणमा धाँधली भएको र उजुरीमाथि छानबिन गर्न पनि ढिलाई भइरहेको भन्दै सचेत हुन पौडेललाई आग्रह गरेका थिए । जिल्ला सभापतिसंग समन्वय गरेर मात्रै क्रियाशील सदस्यताको विवाद टुंग्याउन तथा वडा र पालिकाको अधिवेशन एकै दिन गर्नसमेत उनीहरुको सुझाव छ ।

छलफलमा काठमाडौं, धादिङ, नुवाकोट, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, मोरङ, ताप्लेजुङ, खोटाङ, कालिकोट लगायत काठमाडौंमा उपलब्ध १४ जिल्लाका सभापतिहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर