रिक्त ३ सचिवमा बढुवाका लागि ७ सहसचिवको नाम मन्त्रिपरिषद्मा सिफारिस, प्रशासनतर्फ डा. रेग्मी निश्चित – Nepal Press

रिक्त ३ सचिवमा बढुवाका लागि ७ सहसचिवको नाम मन्त्रिपरिषद्मा सिफारिस, प्रशासनतर्फ डा. रेग्मी निश्चित

प्रशासन सेवातर्फ दामोदर रेग्मी सिफारिस

काठमाडौं । नेपाल सरकारका विभिन्न निकायमा रिक्त ४ सचिवकाे पदपुर्तिका लागि ७ जना सहसचिवको नाम सिफारिस भएको छ । लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा रहेको बढुवा सिफारिस समितिकाे दुई दिन बसेको बैठकले सहसचिवको नाम सिफारिस गरेको हो ।

प्रशासनतर्फ १ जना सचिव बढुवाका लागि जेष्ठताका आधारमा एक जनाको नाम मात्र सिफारिस भएकाे छ।  बनसेवातर्फ एकजना सचिव बढुवाका लागि ३ जना सहसचिव र इञ्जिनियरिङ सेवातर्फ १ जना सचिव बढुवाका लागि ३ जना सिफारिस भएका छन् ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सोमवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले बरिष्ठताका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा.दामोदर रेग्मीको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो ।

एक जना सचिव पदमा बढुवा गर्दा ३ जना सहसचिवको नाम सिफारिस हुने भए पनि जेष्ठताका आधारमा रेग्मीको नाम मात्र सिफारिस गरिएको बढुवा समितिले जनाएको छ । कार्यसम्पादनका आधारमा बढुवा गर्दा एक सचिवका लागि ३ जना सहसचिवको नाम सिफारिस हुने गरेको छ ।

निजामती सेवा ऐनअनुसार कार्यसम्पादन मूल्याङ्कन (८० प्रतिशत) का आधारमा हुने बढुवामा लगातार चार पटकसम्म एक सचिवका लागि ३ वरिष्ठ सहसचिव र पाँचौपटक  एक जना मात्र ज्येष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था अनुसार डा. रेग्मीको नाम मात्रै सिफारिस भएको स्रोतले बतायो ।

वन र इन्जिनियरिङमा दुई सचिवका लागि ६ वरिष्ठ सहसचिवको सिफारिस
आयोगका अध्यक्ष रेग्मीको अध्यक्षतामा मंगलवार सिँहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले कृषि तथा वन सेवातर्फ सहसचिव डा. कृष्णप्रसाद आचार्य, निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको हो । आचार्य र पाण्डे यसअघिको सचिव बढुवामा पनि सिफारिस भएका थिए । बरिष्ठताका आधारमा आचार्य र पाण्डेमध्ये एक जना सचिवमा बढुवा हुनेछन् ।

कृषि सेवातर्फ एक सचिव पदमा तीन जनाकाे नाम
इन्जिनियरिङ सेवातर्फ सहसचिव प्रमिला बज्राचार्य, सुशिलचन्द तिवारी र गोविन्द सिग्देलको नाम सिफारिस भएको छ । उनिहरुमध्ये वरिष्ठताका आधारमा बज्राचार्य बढुवा हुने सम्भावना धेरै छ । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ डा.रेग्मीलाई सचिवमा बढुवा गर्नेछ भने प्राविधिकतर्फ ६ जनामध्येबाट वरिष्ठता तथा कार्यसम्पादनका आधारमा २ जना सचिवमा सिफारिस हुनेछन् ।

लामो समयदेखि रोकिएको सचिव बढुवा सिफारिस लोकसेवा आयोगमा पदाधिकारी नियुक्ति भएसँगै अघि बढेको हो । हाल प्रशासन सेवाका ५, इन्जिनियरिङ सेवाका २ र वन तथा कृषि सेवाका १ गरी आठ सचिव पद रिक्त छन् । राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, वन तथा वातावरण मन्त्रालयमा सचिव पद रिक्त छ भने गण्डकी र कर्णाली प्रदेशमा प्रमुख सचिव पद रिक्त छन् ।

बिहीबारदेखि रक्षा सचिव अनिवार्य अवकाशमा

बिहिबार मात्रै रक्षा सचिव रेश्मीराज पाण्डेले पनि अनिवार्य अवकाश पाउँदैछन् । पाण्डे चालू आर्थिक वर्ष २०७७-०७८ को अन्तिममा अनिवार्य अवकाश पाउने सचिव हुन् । उनको अवकाससँगै प्रशासनतर्फ थप एक जना सचिवको पद रिक्त हुनेछ । बुधबार बस्ने बढुवा समितिको बैठकले प्रशासन सेवातर्फ एक सचिव बढुवाका लागि सिफारिस गर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर