मन्त्रीहरुले पनि मोटरसाइकल चढ्नुपर्छ भन्दै भाषण गर्ने जीवनबहादुर शाही अहिले प्राडोमा – Nepal Press

मन्त्रीहरुले पनि मोटरसाइकल चढ्नुपर्छ भन्दै भाषण गर्ने जीवनबहादुर शाही अहिले प्राडोमा

सुर्खेत । २०७७ साल जेठ २२ गतेको कर्णाली प्रदेशसभा बैठकमा बोल्दै तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले भनेका थिए, ‘हाम्रो प्रदेश गरिब छ, मुख्यमन्त्री र मन्त्रीहरुले समेत गाडी होइन, मोटरसाइकल चढ्नु पर्छ ।

त्यसपछि उनले विपक्षी दलको नेताका हैसियतमा प्रदेशसभा सचिवालयबाट पाएको स्कारपियो गाडी पत्रकारको रोहबरमा फिर्ता गरेर मोटरसाइकल चढे । उनले गाडी फिर्ता गरी मोटरसाइकल चढेको विषयले निकै चर्चा पायो ।

तर मोटरसाइकल चढ्न थालेको डेढ महिनापछि फेरि सरकारी गाडीमा हुइँकिन थालेका छन् । त्यो पनि चानचुने होइन, प्राडोमा । मुख्यमन्त्रीबाट सरकारी गाडी उपहार पाएपछि अनैतिक तरिकाले त्यसमा रातो नम्बरप्लेट हालेर चढिरहेका छन् शाही ।

गाडी छाडेर मोटरसाइकल चढ्ने घोषणा गर्दै नेता शाहीले भनेका थिए, ‘जनता खान नपाएर बसिरहेका छन् । हामीले महङ्गा गाडी चढ्नु हुँदैन । मुख्यमन्त्री र मन्त्रीहरुलाई गाडी चढ्नै मन भए पनि सस्ता गाडी प्रयोग गर्न सुझाव दिन्छु ।’

प्रतिपक्षी दलबाट सत्ता पक्षको सांसद भएपछि अहिले उनले लिँदै आएको सबै सरकारी सेवासुविधा फिर्ता लिएको छ । वैशाख ३ गते माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि नेपाली कांग्रेस सत्तापक्षको भयो । त्यसपछि वैशाख ५ गते सचिवालयले प्रतिपक्षी दलको नेताका हैसियतमा शाहीले प्रयोग गरेको गाडी फिर्ता लिएको थियो ।

२०७५ मंसिरमा प्रदेशसभाले पारित गरेको ‘कर्णाली प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’मा सेवा-सुविधासम्बन्धी व्यवस्था छ । ऐनमा प्रदेशसभाका सभामुख, उपसभामुख, विपक्षी दलका नेता, दलको प्रमुख सचेतक, सत्ता पक्षको सचेतक र प्रदेशसभाका विभिन्न समितिका अध्यक्षलाई गाडी सुविधा दिने उल्लेख छ ।

श्रीमतीलाई लोकसेवा आयोगमा नियुक्ति, चौतर्फी आलोचना

कांग्रेस नेता शाहीले कर्णाली प्रदेश सरकामा सहभागी हुने मन्त्रीहरुलाई १३ बुँदे आचारसंहितामा हस्ताक्षर गर्न लगाएर सपथ खान पठाएका थिए । आचारसंहितामा भ्रष्टाचार शून्य सहनशिलताको नीतिलाई अबलम्वन गर्नेदेखि आर्थिक अनुशासन, स्वच्छता, मितव्ययितासँगै सादा जीवन अपनाउनेसमेत उल्लेख गरिएको थियो । तर, आफ्नै श्रीमतीलाई प्रदेश लोकसेवा आयोगमा सिफारिस गरेपछि उनको आलोचना भएको छ ।

सिफारिस समितिका सदस्य रहेका नेता शाहीले श्रीमतीलाई आयोगमा सिफारिस गरेका हुन् । सिफारिस समितिमा प्रदेशका मुख्यमन्त्री र सभामुख पनि थिए ।

नेपाली कांग्रेसका नेता टिएन योगीले लोकप्रियता र मिडिया खपतका लागि जे पनि बोल्नु र व्यवहारमा नउतार्नु दुखद भएको प्रतिक्रिया दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर