ओमसतिया गाउँपालिकाको बजेट अनिश्चित, तत्काल गाउँसभा नगर्न अदालतको आदेश – Nepal Press

ओमसतिया गाउँपालिकाको बजेट अनिश्चित, तत्काल गाउँसभा नगर्न अदालतको आदेश

रुपन्देही । आन्तरिक विवादका कारण असार १० गते आउन नसकेको रुपन्देहीस्थित ओमसतिया गाउँपालिकालको बजेट अनिश्चित भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासले रुपन्देहीको तत्काल गाउँसभा नगर्न आदेश दिएसँगै बजेट अनिश्चित भएको हो ।

गाउँपालिका अध्यक्ष केवटले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट हिउँदे गाउँसभामा पारित नगरी करोडौं रुपैयाँको योजना गाउँसभाको निर्णय विपरीत स्वेच्छाचारी ढंगले ल्याउन खोजेको भन्दै वडाअध्यक्षहरुले गाउँसभा रोक्न अदालतमा रिट निवेदन दिएका थिए ।

उक्त रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश शिवराज अधिकारीको एकल इजलासले आगामी असार २३ गते दुवैपक्षलाई छलफलको लागि उपस्थित हुन सूचना दिनुको साथै २३ गतेसम्म गाउँसभा नगर्न आदेश दिएको हो ।

गाउँपालिका कार्यालयसहित तीनजनालाई विपक्षी बनाई बेलबहादुर बराल मगर निवेदक दिएको उक्त रिट निवेदनमाथि भएको बहसपछि उच्च अदालतले उक्त आदेश दिएको हो ।

उक्त रिट निवेदनको पक्षमा अधिवक्ता गोविन्द प्रसाद मरासिनीले गरेको बहसपछि जारी गरिएको परमादेशमा ‘यसमा के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? उक्त आदेश जारी हुन नपर्ने कुनै आधार कारण र प्रमाण भए सो समेत साथै यो म्याद सूचना प्राप्त भएको मितिले बाटोका म्यादबाहेकको समयमा विपक्षीहरुलाई आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ लिइ आउन’ भनिएको छ ।

गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्षहरुले गाउँपालिका अध्यक्ष केवटले मनोमानी र एकलौटी रुपमा योजना छनोट र बजेट बांडफांड गर्ने गरेको भन्दै गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर