जसपा विवाद : दुवै पक्षलाई निर्वाचन आयोगले छलफलमा बोलायो – Nepal Press

जसपा विवाद : दुवै पक्षलाई निर्वाचन आयोगले छलफलमा बोलायो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद समाधानका लागि निर्वाचन आयोगले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । आयोगले अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर दुवै समूहलाई असार २२ गते छलफलका लागि बोलाएको हो ।

उनीहरूलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ को ४ बमोजिम छलफलका लागि बोलाइएको आयोगले जनाएको छ । सो दफामा ‘आयोगले विवादका सम्बन्धित पक्षहरूलाई आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि आयोगमा उपस्थित हुन अवधि तोकी सूचना दिने’ उल्लेख छ ।

यसअघि जसपाको उपेन्द्र यादव नेतृत्वको समूहले आधिकारिकताको दावी गर्दै आयोगमा निवेदन दिएको थियो । असार ४ गते सो निवेदन आएपछि आयोगले महन्थ ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन पत्र लेखेको थियो । ठाकुर पक्षले आइतबार नै आयोगमा जवाफ बुझाइसकेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजनीतिक सहकार्य गर्ने वा नगर्ने भन्नेमा विवाद हुँदा जसपा विभाजनको सघांरमा पुगेको छ । यादव पक्ष विपक्षी गठबन्धनमा सक्रिय छ भने सरकारमै सहभागी भएको ठाकुर पक्षका मन्त्रीहरु सर्वोच्चको आदेशपछि पदमुक्त भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर