लुम्बिनीमा रोपाइँः रोल्पामा ९० प्रतिशत सकियो, कपिलवस्तुमा २५ प्रतिशत मात्रै – Nepal Press

लुम्बिनीमा रोपाइँः रोल्पामा ९० प्रतिशत सकियो, कपिलवस्तुमा २५ प्रतिशत मात्रै

रुपन्देही । नेपालमै धान उत्पादनमा पहिलो प्रदेशका रुपमा रहेको लुम्बिनी प्रदेशमा यो वर्ष करिब ४६ प्रतिशत रोपाई सकिएको छ । ६ पहाडी र ६ तराईका जिल्ला रहेको यो प्रदेशका पहाडी जिल्लाहरुमा धेरै प्रतिशत रोपाइँ सकिएको छ ।

लुम्बिनी प्रदेशमा कुल ३ लाख ३४ हजार ६७५ हेक्टर क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म १ लाख ५३ हजार ३ दशमल ५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो ।

कृषि मन्त्रालयका अनुसार गतवर्ष यो समयमा ४८ प्रतिशत रोपाइँ सकिएको थियो । प्रदेशको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले असार ११ गतेसम्म प्रदेशमा ४५ दशमलव ७ प्रतिशत रोपाइँ सकिएको तथ्यांक राखेको छ ।

प्रदेशको पहाडी जिल्ला रोल्पामा यो वर्ष सबैभन्दा बढी ९० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा धान खेती हुने ४ हजार ८९० हेक्टर क्षेत्रफलमध्ये ४ हजार ४०१ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

त्यसैगरी प्युठानमा ८० प्रतिशत रोपाइँ सकिएको छ । धान खेती हुने ६ हजार २ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार ९ सय ६० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । तराईको बर्दिया र रुकुम पूर्वमा ६३ प्रतिशत रोपाइा सकिएको छ । तर पहाडी जिल्ला गुल्मीमा सबैभन्दा कम ७ प्रतिशत मात्रै रोपाइँ भएको छ । धान खेती हुने कुल १० हजार २४६ हेक्टर क्षेत्रफल मध्ये ८३९ हेक्टरमा मात्रै रोपाइँ सकिएको हो ।

प्रदेशको सबैभन्दा बढी धान खेती हुने कपिलवस्तुमा यो वर्ष २४ दशमलव ९ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । त्यसैगरी दोस्रो धेरै धान खेती हुने रुपन्देहीमा ५५ प्रतिशत रोपाइँ भएको छ ।

कपिलवस्तुमा गतवर्ष यही अवधिमा २७ दशमलव ७ प्रतिशत रोपाइँ सकिएको थियो । जिल्लामा कुल खेतीयोग्य जमिन ८३ हजार हेक्टर क्षेत्रफलमध्ये ७१ हजार ५ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । गतवर्ष भने ६४ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो । यो अवधिमा यस वर्ष १७ हजार ८ सय हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

रुपन्देहीमा ५५ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ यही अवधिमा गत वर्ष ५६ दशमलव ८ प्रतिशत रोपाइँ सकिएको थियो । जिल्लामा कुल ८२ हजार ६२२ खेतीयोग्य जमिनमध्ये ६९ हजार ७०० हेक्टर क्षेत्रलफलमा धान खेती हुने गरेको छ । गत वर्ष भने ६७ हजार ५५० हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको थियो । यो वर्ष ३८ हजार ३ सय ३५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

यसैगरी पश्चिम नवलपरासीमा यो वर्ष ६० प्रतिशत रोपाइँ सकिएको छ । कुल १३ हजार ९०५ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । जिल्लामा २३ हजार १७५ हेक्टर क्षेत्रफलमा रोपाइँ हुँदै आएको छ ।

धान खेती हुने मुख्य जिल्लामध्येकै तराईको जिल्ला दाङमा ६० प्रतिशत रोपाइँ सकिएको छ । जिल्लामा हालसम्म २३ हजार २२६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको हो । जिल्लामा कुल ६९ हजार ९५० हेक्टर खेतीयोग्य जमिनमध्ये ३८ हजार ७१० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । गत वर्ष भने ३७ हजार ९३६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो ।

यसैगरी खर्घाखाँचीमा ५७ दशमलव ८ प्रतिशत, बर्दिया र रुकुम पूर्वमा ६३ प्रतिशत रोपाइँ सकिएको छ । पाल्पामा ३० दशमलव ७ प्रतिशत रोपाई सकिएको छ । धान खेती हुने कुल ९१०० हेक्टर क्षेत्रफलमध्ये २ हजार ७९७ हेक्टर क्षेत्रफलमा रोपाई सकिएको हो ।

लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका वरिष्ठ बाली विकास अधिकृत शालिग्राम गौतमले मौसमले साथ दिए साउनको पहिलो हप्तासम्ममा रोपाइँ सकिने बताए । उनका अनुसार यो हप्ताको अन्यसम्ममा प्रदेशमा ६० देखि ६५ प्रतिशतसम्म रोपाइँ सकिने अनुमान छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर