कोभिसिल्डको दोस्रो डोज लगाउन ढिला भएपनि आत्तिनु हुँदैन : अक्सफोर्ड खोप निर्देशक पोलार्ड – Nepal Press

कोभिसिल्डको दोस्रो डोज लगाउन ढिला भएपनि आत्तिनु हुँदैन : अक्सफोर्ड खोप निर्देशक पोलार्ड

काठमाडौं । कोभिड-१९ विरुद्धको कोभिसिल्ड (आस्ट्राजेनेका)को पहिलो डोज खोप १४ लाख ज्येष्ठ नागरिकले लगाएका थिए । दुई महिनामै लगाउनुपर्ने दोस्रो डोज अहिलेसम्म उनीहरुले लगाउन पाएका छैनन् ।

उनीहरुले दोस्रो मात्रा लगाउन कहिले पाउँछन् भन्ने जवाफ सरकारसँग पनि छैन । तर, आस्ट्राजेनेका खोप निर्माता कम्पनी अक्सफोर्डका एकजना विज्ञले चाहिँ मानिसलाई लामो समयपछि पनि दोस्रो डोज लगाउँदा सुरक्षित हुने बताएका छन् ।

अक्सफोर्ड खोपका निर्देशक एन्ड्रयु पोलार्डले आस्ट्राजेनेका खोपको दोस्रो डोजको मात्रा लगाउन ढिलाई भएपनि भाइरससँग लड्न सक्ने क्षमता भने कमजोर नहुने बताएको बीबीसीले उल्लेख गरेको छ ।

उनले कोरोनाभाइरस महामारीको उच्च जोखिम भएको बेलामा नेपालमा खोप आपूर्ति नभएकोमा दुःख व्यक्त गरेका छन् । उनले खोप अभावको सामना गरिरहेको नेपालले जतिसक्दो चाँडो खोप प्राप्त गर्नुपर्ने पनि बताएका छन् ।

डेढ दशकभन्दा बढी समयसम्म चिकित्सकहरुसँग मिलेर खोप सम्बन्धी विभिन्न अनुसन्धान पनि गरिरहेका पोलार्डले मानिसहरुलाई धैर्य राख्न आग्रह समेत गरे । ‘पहिलो डोज खोपले उनीहरुलाई महामारीबाट सुरक्षा दिन्छ । हामीले तथ्यांकहरु हेर्ने हो भने पहिलो मात्राको खोप लगाएका मानिसहरु गम्भिर बिरामी हुनबाट सुरक्षित भएको देखिन्छ’ उनले भने, ‘हामीले पहिलो डोज खोप लगाउन एकदम जरुरी हुन्छ । दास्रो डोज खोप लगाउँदा अझ बढी महामारीसँग लड्न सक्ने क्षमता हुन्छ भनेका छन् ।’

उनले नेपालमा आस्ट्राजेनेकाको पहिलो मात्रा लगाएका १४ लाख ज्येष्ठ नागरिकहरुलाई तत्काल नआतिन सुझाव समेत दिए । ‘दोस्रो मात्राको खोप ढिला लगाउँदा चिन्ता लिनुपर्दैन । पहिलो डोज लगाएको ६ महिना वा एक वर्षपछि लगाउने अवस्था आएपनि पहिलो डोजको खोप उत्तिकै प्रभावकारी हुन्छ’ उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *