निषेधाज्ञाका बीच पनि उपत्यका आउजाउ गर्ने गाडीको ताँती – Nepal Press

निषेधाज्ञाका बीच पनि उपत्यका आउजाउ गर्ने गाडीको ताँती

पास लिएर ७१ हजार सवारीसाधन उपत्यका भित्रिए

काठमाडौं । सरकारले कोरोना नियन्त्रणको लागि वैशाख १६ गतेदेखि निषेधाज्ञा गरेसँगै बाहिरी जिल्लाबाट काठमाडौं उपत्यकामा आवतजावत बन्द गरेको छ । तर निषेधाज्ञाकै बीचमा पनि ३३ हजारभन्दा बढी मानिसहरू उपत्यकामा आउजाउ गरेका छन् ।

निषेधाज्ञा लागेयता नागढुङ्गा नाका भएर ३ सय ८४ बस काठमाडौं भित्रिएको र ४ सय ४३ वटा बस सोही नाका भएर उपत्यका बाहिर गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहायक प्रवक्ता डिएसपी सुनिमजङ शाहले जानकारी दिए ।

कडा निषेधाज्ञा भएको बैशाख महिनामा नै सबैभन्दा धेरै बस नागढुङ्गाबाट उपत्यकामा भित्रिएका छन् । बैशाख १६ गतेदेखि ३१ गतेसम्म १ सय ५९ वटा ठूला बस काठमाडौं नागढुङ्गा नाका भएर भित्रिएको शाहले बताए ।

उनले भने, ‘जिल्ला प्रशासनको अति आवश्यक पास बोकेर आउनेहरुलाई हामीले छोडेका छौं । यस्ता बसले बिच्चलीमा परेकाहरुलाई गाउँ लगिरहेका छन् । यस्तोमा रोक्न पनि मिल्दैन ।

निषेधाज्ञामा ८ सय २७ वटा बस उपत्यकामा आउजाउ भए । बैशाख महिनामा १६९ वटा बसमा ६ हजार ३६०, जेठमा १७० वटा बसमा ६ हजार ८ सय, असारमा ५५ वटा बसमा २ हजार २ सय जना काठमाडौं आएको ट्राफिक प्रहरीको रेकर्ड छ । वैशाखमा १७७ वटा बसमा ७ हजार ८० जना काठमाडौंबाट गाउँ गएका छन् । जेठमा १८९ वटा बसमा ७ हजार ५६० र ७७ वटा बसमा ३ हजार ८० जना काठमाडौंबाट गाउँ गएका छन् ।

नगढुङ्गानाबाट अतिआवश्यकको पास लिएर बस, ट्रक, ट्याङ्कर, एम्बुलेन्स, बाइक र टिपर गरी बन्दको समयमा ७१ हजार ६६५ वटा सवारी साधन काठमाडौं भित्रिएका छन् ।

त्यस्तै सो नाकाबाट अतिआवश्यकको पास लिएर बस, ट्रक, ट्याङ्कर, एम्बुलेन्स, बाइक र टिपर गरी ६३ हजार ८९९ वटा सवारी साधनले हिजोसम्म काठमाडौं छाडेका छन् ।

सरकारले आजबाट उपत्यकामा ठूला सार्वजनिक यातायात सञ्चालन गर्ने भने पनि उपत्यकाबाहिर भने आउजाउ गर्न पाउने छैनन् । बन्दमा पनि अतिआवश्यक सवारी पास लिएका सवारी साधनहरुले भने यात्रु ओसार्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर