बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन – Nepal Press

बेपत्ता दुई पुरुष अझै भेटिएनन्, खोजीमा कुकुर परिचालन

कर्णाली । गलकोट नगरपालिका-६ कायसका क्षेत्रबहादुर बुढाथोकी गत बिहीबारदेखि र बागलुङ नगरपालिका–१ रामरेखाका सोमबहादुर सुनार विगत १७ दिनदेखि बेपत्ता भएका छन् ।

घाँस काट्न जाँदा हराएका ७० वर्षीय बुढाथोकीको खोजीमा तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरिए पनि अवस्था पत्ता लाग्न सकेको छैन । प्रदेश प्रहरी मातहत रहेको कुकुर शाखाबाट दुई तालिमप्राप्त कुकुरसहित प्रहरी खोजीकाममा जुटेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

घरदेखि २० मिनेटको दूरीमा रहेको खरबारीमा घाँस काट्न जानुभएका बुढाथोकी अबेरसम्म घर नफर्केपछि परिवार, स्थानीयवासी र प्रहरी मिलेर तत्कालै खोजीमा लागेका थिए ।

चार दिन बित्दासमेत उहाँ नभेटिएपछि प्रदेश मुकामबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली झिकाएर परिचालन गरिएको हो । बुढाथोकी हराएको ठाउँमा नाम्लो, डोरी र काटेको घाँस भने भेटिएको थियो ।

यस्तै नियमित प्रातःकालीन भ्रमण (मर्निङवाक) मा निस्किएका ४६ वर्षीय सुनार गत जेठ २९ गतदेखि बेपत्ता छन् ।  परिवारका अनुसार रामरेखाबाट मालढुङ्गा जाने क्रममा उनी हराएका हुन् ।  सुनारले सधैं सोही मार्गमा ‘मर्निङवाक’ गर्ने गरेको आफन्त पर्ने भाइ सज्जनकुमार सिंहले बताए ।  ‘दाइ लामो समयसम्म घर नफर्केपछि धेरैतिर खोजी गरियो, स्याङ्जासम्म पुग्यौं, अझै केही पत्ता लाग्न सकेको छैन’, उनले भने ।

परिवारजनको निवेदनपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता सुनारको खोजपडताल जारी राखेको छ । यतिका दिनसम्म उनी नभेटिँदा परिवारका सदस्य चिन्तामा छन् । म्याग्दीको बेनी नगरपालिका-१ अर्जमका स्थायी बासिन्दा सुनार लामो समयदेखि बागलुङमा बस्दै आएका छन् ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *