सपना रोका मगरसहित ‘हाम्रो टिम नेपाल’का १७ जना पक्राउपछि रिहा, के हाे विवाद ? – Nepal Press

सपना रोका मगरसहित ‘हाम्रो टिम नेपाल’का १७ जना पक्राउपछि रिहा, के हाे विवाद ?

काठमाडौं । प्रहरीले ‘हाम्रो टिम नेपाल’का अभियन्ताहरूमाथि धरपकड गरी अनामनगरको पूर्वी गेट अगाडिको सार्वजनिक जग्गा खाली गराएको छ ।  बीबीसीको ‘टप १०० प्रभाशाली महिला’को सूचीमा परेकी सपना रोका मगरसहित १७ जना अभियन्ता पक्राउपछि रिहा भएका छन् ।

 हाम्रो टिम नेपालले सार्वजनिक जग्गा कब्जा गरी काठमाडौं महानगरपालिकासँग समेत समन्वय नगरी टहरा बनाएको आरोप छ । अभियन्ताहरू पक्राउपछि काठमाडौं महानगरपालिकाले टहरा हटाइदिएको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले सार्वजनिक जग्गालाई खुला छाड्ने र हरियाली पार्क निर्माण गर्ने योजनाअनुसार सार्वजनिक जग्गामा बनाएका टहरा काठमाडौं महानगरपालिका व्यवस्थापनको निर्णयअनुसार नै हटाइदिएको जानकारी दिए ।

‘हामीलाई जानकारी भएअनुसार करीब एक वर्षदेखि ‘हाम्रो टिम नेपाल’ समूहका साथीहरूले त्यहाँ टहरा बनाउनु भएको रहेछ,’ ज्ञवालीले भने, ‘स्थानीयको माग अनुसार त्यहाँ हरियाली पार्क निर्माण गर्नका लागि ड्रोइङ-डिजाइन तयारी अवस्थामा छ । हामीले काम अघि बढाउन उहाँहरूलाई पटक-पटक त्यहाँका संरचना हटाउन आग्रह गर्दा पनि अटेर गरेपछि आज हटाएका हौँ ।’

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी धनपती सापकोटाले पनि पटक-पटक उनीहरूलाई आग्रह गर्दा अटेर गरेपछि बाध्य भएर हटाउनु परेको जानकारी दिए ।

‘उनीहरूको अभियानप्रति हाम्रो विमती छैन,’ सापकोटाले भने, ‘तर, अभियानका नाममा सरकारी जग्गा कब्जा गर्ने अनि पार्क निर्माण गर्ने, हरियाली बढाउने हाम्रो अभियानमा अवरोध गर्दै उल्टै अटेर गर्ने कुरा उचित होइन । हामीले उहाँहरूलाई पटक–पटक आग्रह गरेका छौँ । तर, उहाँहरूले हाम्रो आग्रहलाई बेवास्ता गरेपछि बाध्य भएका हौँ ।’

उनले पनि अब त्यो स्थानमा हरियाली पार्क निर्माण हुने बताए । टहरा हटाउने शिलशिलामा केही झडपसमेत भएको थियो ।

तस्विर सौजन्य : अनिम नेपाली


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *