नेपालले मोदीभन्दा अर्को राम्रो मित्र र शुभेच्छुक पाउन सक्दैन : चौंथाइवाले – Nepal Press

नेपालले मोदीभन्दा अर्को राम्रो मित्र र शुभेच्छुक पाउन सक्दैन : चौंथाइवाले

दिल्ली । भारतीय सत्तारुढ दल बीजेपीका विदेश विभाग प्रमुख विजय चौंथाइवालेले भारतले नेपाललाई सार्वभौम मुलुकको रुपमा लिएको बताउँदै नेपालका लागि प्रधानमन्त्री मोदीभन्दा राम्रो मित्र अर्को नहुने दाबी गरेका छन् ।

‘नेपालले प्रधानमन्त्री मोदीभन्दा अर्को राम्रो साथी र शुभेच्छुक पाउन सक्दैन’ नेपाल-भारत सम्बन्धको विषयमा एनआइआइसीई नामक थिंक ट्यांक संस्थाले आयोजना गरेको ग्लोबल सम्मेलनमा भर्चुअलरुपमा बोल्दै चौंथाइवालेले भने, ‘केही तहमा गलत बुझाइ भएपनि दुई देशबीचको सम्बन्ध बलियो छ ।’

नेपालसँगको मित्रतापूर्ण सम्बन्धलाई थप प्रगाढ तुल्याउन नेपालसँग भारतले थुप्रै सहमति र सन्धि गरेको उनले बताए । दुबै मुलुकका राजनीतिक दल र नेताले उपयुक्त संवाद गर्नुपर्ने खाँचो पनि उनले औंल्याए ।

‘पछिल्लो समय दुबै मुलुकबीच पूर्वनिर्धारित संवादहरु पनि हुनसकेको छैन’ उनले भने, ‘बीजेपी संवादको थालनी गर्न व्यग्र छ । राजनीतिक नेतृत्वसँग हुने आपसी संवाद प्रभावकारी हुनेछ’ उनले भने ।

भारतले नेपालसँग तीन तहमा सम्बन्ध विस्तार गर्न चाहेको समेत उनले बताए । पहिलो : सरकार-सरकारबीच । दोस्रो : नागरिकबीच र तेस्रो : सांस्कृतिक सम्बन्ध ।

नेपाल संकटबाट गुज्रिँदा तत्कालित भारतीय कांग्रेस नेतृत्वको सरकारले ध्यान नदिएको आरोप लगाउँदै चौंथाइवालेले प्रधानमन्त्री मोदी नेपालसँग थप सम्बन्ध सुधारका लागि तयार रहेको समेत उनले बताए ।

‘मलाई लाग्छ, नेपाल र भारतका राजनीतिक दलहरुको बैमनस्यताले नागरिकको सम्बन्धलाई कुनै असर गर्दैन’ उनले भने, ‘भारत नेपालमा थप परियोजनामा लगानी गरेर सम्बन्धलाई बलियो बनाउन चाहन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर