माधवको अपत्यारिलो दावी र ओलीको टर्रो जवाफ – Nepal Press

माधवको अपत्यारिलो दावी र ओलीको टर्रो जवाफ

ओलीको चौतर्फी प्रहार-निसानामा माधव नेपालदेखि चोलेन्द्रसम्म

काठमाडौं । एमालेको एकताका लागि वार्तालापहरू चल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो केही दिन मौन बसे । छिन्नभिन्न बन्न लागेको एमालेलाई एकीकृत बनाउने अन्तिम प्रयासस्वरूप उनले आफूलाई ‘कुलिङ पिरियड’ मा राखेको अनुमान पनि गरियो ।

तर, आज मदन भण्डारीको जन्मजयन्तीमा डेढ घण्टा लामो सम्वोधन गर्दा ओली जुनरूपमा प्रस्तुत भए, त्यसले एकताको सम्भावना निकै पर धेकेलिएको प्रतीत हुन्छ । कम्तीमा माधव नेपाल र केपी ओली एउटै पार्टीमा अटाउँदैनन् भन्ने प्रष्ट आभास ओलीको अभिव्यक्तिबाट भएको छ ।

त्यसो त ओली र नेपालबीच पार्टीमा विवाद बढेसँगै तल्लो स्तरको आरोप-प्रत्यारोप चल्दै आएको हो । र पनि नेपाली राजनीतिमा नेताहरूबीच आज बाझाबाझ गर्ने र भोलि गम्लङ्ग अंगालो मार्ने आम प्रवृत्ति छ । त्यसैले माधव नेपाल अन्ततः एमालेमा फर्किन्छन् भनेर नेता-कार्यकर्ताको ठूलो पंति अझसम्म आशावादी थियो । एमालेले महाधिवेशन आयोजक कमिटी भंग गर्ने तयारी गरेको समाचारले पनि उनीहरूमा थप आशाको सञ्चार गरेको थियो । तर, आजको आक्रमक भाषणले ओलीको बेग्लै मनस्थिति देखाएको छ । ओली र नेपाल दुवै पक्षले आदर्श मान्ने पार्टीका भूतपूर्व महासचिव मदनकुमार भण्डारीकै जन्मजयन्तीका दिन एकता पक्षधर पार्टी पंतिमा चिन्ता थपिएको छ ।

त्यसो त वरिष्ठ नेता नेपालले आफू ओलीसँग मिल्न नसक्ने स्पष्ट संकेत बारम्बार गर्दै आएका हुन् । दुई दिनअघि मात्रै पत्रकार सम्मेलनमा उनले आफूलाई प्रधानमन्त्री पदकै लागि अफर आएको तर आफूले विपक्षी गठवन्धनलाई धोका नदिने बताएका थिए ।

ओलीबाट प्रधानमन्त्री पदको अफर आएको’ नेपालको अभिव्यक्तिले एमालेको संस्थापन पक्ष तरंगित बनेको थियो । प्रधानमन्त्री पद जोगाउनकै लागि साम दाम दण्ड भेद सबै उपाय लगाइरहेका ओलीले नेपाललाई यस्तो अफर गरेको कुरा पत्यारिलो त थिएन । तर, पनि पार्टी एकताका लागि हदैसम्म लचिलो भएर प्रस्ताव राखी पो हाले कि भन्ने संशय संस्थापनका नेता-कार्यकर्तामा व्याप्त थियो । आजको भाषणबाट ओलीले त्यसलाई चिरिदिएका छन्, त्यो पनि अत्यन्त कठोर भाषामा ।

ओलीले भने, ‘माधव नेपालजस्तो मान्छेलाई प्रधानमन्त्री प्रस्ताव गर्न मलाई बहुला कुकुरले टोकेको छ र ?’

उनी यतिमा मात्रै रोकिएनन् । उनले नेपाललाई ‘लाजसरम पचेको मान्छे’ को संज्ञासमेत दिए ।

‘उनले भने, ‘मान्छे यतिसम्म पनि पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, पार्टी सिध्याउने, विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउन हिँड्ने अनि आफूलाई एमालेको वरिष्ठ नेता भन्ने । यस्तो लाजसरम पचेको मान्छे,’ ओलीले भने ।

मदन भण्डारीको चर्चा गर्ने क्रममा पनि ओलीले नेपालमाथि विभिन्न आरोप लगाए । माधव नेपाल मदन भण्डारीको ‘विरोधी’ भएको उनको परोक्ष दावी थियो । मदन भण्डारीका लेखहरूको संग्रह प्रकाशित गर्दा वाचश्पति देवकोटालाई कारवाही गरेकोदेखि दासढुंगामा दुर्घटना भएको गाडीलाई संग्रहालयमा राख्न नदिएकोसम्म आरोप उनले नेपालमाथि लगाए ।

‘अहिले मदनको जन्मजयन्तीमा विज्ञप्ति निकालेर राजनीतिक फाइदा लिन मात्र खोजेका हुन्,’ ओलीले भने ।

नेपाललाई प्रचण्डको पुच्छरको संज्ञा दिए । नेपाल भविष्यमा प्रचण्डको पार्टीमा मिसिनुको विकल्प नरहेको उनले दावी गरे ।

निसानामा कांग्रेसदेखि सर्वोच्चसम्म

ओलीले आजको सम्बोधनमा कसैलाई बाँकी राखेनन् । कांग्रेसलाई उनले प्रचण्डपथमा हिँडेको आरोप लगाए । कांग्रेसका एक प्रदेश सांसदले आफू नाथुराम गोड्से बन्न तयार रहेको भनेर दिएको अभिव्यक्तिलाई ईंगित गर्दै उनले सो आरोप लगाएका थिए ।

ओलीले भने, ‘नेपाली कांग्रेसका नेताहरू नै नाथुराम गोड्से खोजी गर्ने, भेटिएन भने आफैं हुने भन्ने तहमा पुगेको भनेपछि प्रचण्डपथ नै अँगालेको हो ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने उत्कट इच्छाका कारण लोकतान्त्रिक मार्ग छोडेको ओलीले बताए । प्रचण्डको लहैलहैमा लागेर देउवाले पनि सरकारको कदमलाई ‘कु’ र प्रतिगमन भनेको उनले गुनासो गरे ।

देउवालाई उनले प्रश्न गरे, ‘यदि जनतामा जानु कु हो भने १७ सालको लोकतान्त्रिक अभ्यास थियो ? माघ १९ के थियो ? उहाँलाई लोकतान्त्रिक विधिबाट सत्ता हस्तान्तरण गरिएको थियो ? असोज १८ के थियो ? कु थियो कि थिएन ? त्यतिबेला कु भन्ने शब्द उहाँको मुखबाट आउने हिम्मत किन भएन ?’

केही जाली-फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्न खोजेको आरोप ओलीले देउवामाथि लगाए ।

विपक्षी गठवन्धनका अर्का नेता एमाओवादी अध्यक्ष प्रचण्डलाई पनि ओलीले कठोर प्रहार गरे । जनयुद्धकालका जघन्य अपराधहरूलाई खोतल्दै उनले प्रचण्डलाई छेपारोको संज्ञा दिए । गणतन्त्रका लागि जनयुद्ध लडेर बैंक लुटेको, बच्चादेखि वृद्धसम्मको हत्या गरेको र अहिले आएर राष्ट्रपतिभन्दा राजा ठीक भन्न थालेको ओलीको आरोप थियो ।

‘कहिले कम्फर्टेबल सरकार बनाइदिन्छु भन्ने, कहिले हाम्रा लोकतान्त्रिक छिमेकी देशहरू के हेरेर बसेका छन् किन हस्तक्षेप गर्दैनन् भन्ने, कहिले गणतन्त्र ल्याउने मै हुँ भन्ने र अहिले गणतन्त्रभन्दा राजतन्त्र राम्रो भन्ने । छेपारोले रंग फेर्छ त ।’

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतलाई पनि आलोचनामा ताने । सर्वोच्चमा समेत प्रचण्डपथ प्रवेश गरेको आरोप उनले लगाए ।

सर्वोच्चमा हालै बहसका क्रममा एक अधिवक्ताले बोलेको विषयलाई उप्काएर प्रधानमन्त्रीले न्यायाधीसहरूमाथि प्रश्न उठाएका थिए ।

अधिवक्ता रमण श्रेष्ठलाई ईंगित गर्दै उनले भने, ‘प्रचण्डको एउटा कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको हत्या गर्ने कुरा गर्दा न्यायमूर्तिहरूले किन रोक्न सक्नुभएन ? हिंसालाई प्रोत्साहन गर्ने काम अदालतमा गर्नु हुन्न अथवा विद्वान अधिवक्ताजी तपाईं आफ्ना मुख सम्हाल्नुस भनेर न्यायमूर्तिहरूले सुझाव पनि राख्न सक्नुहुन्न ? आश्चर्य लाग्छ ।’

सर्वोच्चले गरेका फैसलाहरूको पनि ओलीले खुलेर आलोचना गरे । कानून एकातर्फ र सर्वोच्चको फैसला अर्कोतर्फ हुन थालेको उनको टिप्पणी थियो ।

महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटी नमान्ने अदालतको आदेशबारे उनले भने, ‘केन्द्रीय समितिका विभिन्न नाम हुन सक्छन् । जसलाई कार्यकारी अधिकार दिइएको छ, त्यही नै केन्द्रीय समिति हो । यति कुरा पनि बुझिँदैन ?’

ओलीले फैसला जे आए पनि त्यसलाई स्वीकार्नुको विकल्प नरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर