अध्यागमनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन गृहमन्त्री पौडेलको निर्देशन (भिडियाे) – Nepal Press

अध्यागमनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन गृहमन्त्री पौडेलको निर्देशन (भिडियाे)

काठमाडौं । गृहमन्त्री विष्णु प्रसाद पौडेलले नेपालको अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने बताएका छन् । सोमबार अध्यागमन विभागले गरेको प्रणाली सिर्जित क्यू.आर. कोडसहित छपाई गरिएको भिसाको शुभारम्भ कार्यक्रममा बोल्दै गृहमन्त्री पौडेलले नेपालको अध्यागमनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले विदेशीको पहिलो आँखा अध्यागमनमै पर्ने उल्लेख गर्दै अध्यागमनको सुधार गर्नुपर्नेमा जोड दिए । अध्यागमन प्रशासनलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनको निम्ति कामको योजना बनाएर अघि बढ्नुपर्ने पनि बताए ।

उनले भने,‘नेपाललाई विदेशीले चिन्ने पहिलो दृश्य अध्यागमन हो । एयरपोर्ट हो । हामीले यो भिसा प्रणालीमा त एक प्रकारको सुधार गरेका छौँ र अरु थप सुधार गर्दै जान्छौँ । साथै समग्र अध्यागमन प्रशासनलाई समग्रतामा अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने आवश्यकता छ । हामीले गर्नुपर्ने कामहरुका बारेमा योजनाहरु निर्माण गर्दै जाऊँ ।’

मन्त्री पौडेलले अध्यागमन प्रणालीलाई प्रभावकारी बनाउनका लागि र यसको प्रतिष्ठालाई माथि उठाउनको निम्ति प्रभावकारी भुमिका निर्वाह गर्न निर्देशन समेत दिए । अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले क्यू.आर. कोड सहितको नेपाली कोडबाट सिधै छपाइ गने भिसा प्रणालीको सुरुवात् गरिएको बताए ।

यसबाट विदेशी नागरिकहरुले विश्वको जुन कुनै ठाउँबाट पनि भिसाको लागि आवेदन दिन सक्ने उनी बताउँछन् । उनले विदेशी नागरिकले विवरण नेपाली पोर्टमा राखिसकेपछि भिसामा चाहिने विवरण कन्भर्ट भएर भिसा स्टिकर छपाइ हुने र नयाँ भिसा स्टिकरमा प्रयोग भएको क्यू.आर. कोडले यात्रा गर्ने मानिसको गोप्य सूचनाहरु स्टोर गर्ने भएको हुनाले विश्वसनीय, भरपर्दो र अन्तर्राष्ट्रिय स्तरमा तुलनायोग्य रहेको बताए ।

उनले भने,‘हामीले जारी गरेको नयाँ भिसा स्टिकर सानो छ र यसले नेपाली विशेषता बोकेको छ । एउटा पासपोर्टको पेजमा ३ पटकसम्म भिसा लगाउने भनेको ३ वटा भिसा स्टिकर टाँस्न सकिनेगरीको साइजमा निर्धारण गरिएको हुनाले यो मितव्ययी पनि छ । विद्युतिय भिसा लागु गर्नका लागि तयारी पुरा गरेका छौँ । अध्यागमन विभागले प्रयोग गरेको नेपाली पोर्टल नामक सुचना प्रणालीलाई त्यो अनुसार स्तरोन्नति गरिएको छ ।’

अन्तर्राष्ट्रिय रुपमा भुक्तानी प्रणाली सुचारु नभएकाले तत्कालै विद्युतिय भिसा जारी गर्न नसकेपनि इन्टरनेशनल पेमेन्ट गेटवे सञ्चालन हुन वित्तिकै विद्युतिय भिसा जारी गर्न सकिने उनले बताए ।

विदेशीले नेपाली पोर्ट लग इन गरी भिसा एप्लाइ गर्न सक्ने तथा क्रेडिट कार्ड स्वाव गरेर पैसा तिर्न सकिने उनले जानकारी दिए । त्यसरी तिरेको पैसा महालेखा नियन्त्रकको कार्यालयले तोकेको खातामा जम्मा हुने पनि उनले जानकारी दिए ।

यसरी एप्लाइ गरेको व्यक्तिलाई अध्यागमन विभागले यहीँबाट हेरेर भिसा स्वीकृत/अस्वीकृत गर्न सक्ने र स्वीकृत भएको खण्डमा विभागले जारी गरेको इलेक्ट्रोनिक ट्राभल औथराइजेशन बोकेर नेपाल आउनसक्ने महानिर्देशक भट्टराईले बताए । यात्रुको इलेक्ट्रोनिक ट्राभल अथोराइजेशन हेरेर नेपालको प्रवेश विन्दुमा नेपालको भिसा स्टिकर उपलब्ध गराउन सकिने उनले बताए ।

अध्यागमन विभागको यो सेवाबाट पर्यटकहरुले नेपालमा सहज रुपमा भिसा प्राप्त गर्नसक्ने र पर्यटन क्षेत्रको समेत विकास हुने महानिर्देशक श्रेष्ठले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर