काठमाडौं उपत्यकाको कोभिड संक्रमणदर १५ प्रतिशतमा झर्‍यो, निषेधाज्ञा २१ गतेसम्म कायम – Nepal Press

काठमाडौं उपत्यकाको कोभिड संक्रमणदर १५ प्रतिशतमा झर्‍यो, निषेधाज्ञा २१ गतेसम्म कायम

काठमाडौँ । उपत्यकामा कोभिड-१९ को संक्रमण दर १५ प्रतिशतमा झरेको छ । संक्रमण दर घटेसँगै कोरोना परीक्षण गर्न आउने नागरिकको संख्या पनि घटेको छ । पहिले दैनिक एक हजार व्यक्तिको परीक्षण गरेको महानगरपालिकामा अहिले मुस्किलले दुई सयले परीक्षण गर्ने गरेका छन् ।

महानगरपालिकाले भने विगतमा जस्तै परीक्षणका लागि प्रत्येक दिन चार व्यक्तिका दरले दुई टोली बनाएर परीक्षण गरिरहेको छ । एक महिनाअघि कोरोना परीक्षण गरिएकामध्ये ७० प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको थियो । अहिले परीक्षण भएकामध्ये १५ प्रतिशत नागरिकमा मात्रै कोरोना पोजेटिभ देखिन थालेको छ ।

उपत्यकाको कोरोना संक्रमणदर १५ प्रतिशतमा झरेपछि निषेधाज्ञा खुकुलो बनाउँदै असार २१ गतेसम्म थपिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमणदर १० प्रतिशतमा झरेमा थप क्षेत्रहरु क्षेत्रहरु खोल्न सकिने र ५ प्रतिशतमा झरेपछि विद्यालयहरु खोल्न सकिने जानकारी नेपाल प्रेसलाई दिए ।

अघिल्ला हप्तामा अत्यधिक कोरोना संक्रमित बढेपछि महानगरले ३२ वडामा १६ परीक्षणस्थल तोकेर परीक्षणलाई तीव्र बनाएको थियो । महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका ल्याब टेक्निसियन राधिका कुइँकेलका अनुसार परीक्षण गर्न आउनेको संख्या घटेको र आउनेमध्येमा पनि थोरैमा मात्र संक्रमण देखिएको छ ।

परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लग्ने र ल्याउने व्यवस्थासम्म महानगरले नै गर्दै आएको छ । यसका लागि पनि नागरिकले पैसा तिर्नु पर्दैन । उक्त एम्बुलेन्स सेवा कोरोनाका बिरामीले मात्रै होइन, अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र अस्पतालबाट घर आउन परेमा पनि महानगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले महानगरपालिकाको हटलाइन ११८० मा सम्पर्क गर्नुपर्ने छ ।

६३ हजार संक्रमित निको

हालसम्म महानगरपालिकामा ६३ हजार ८१ कोरोना भाइरसबाट संक्रमित भएका व्यक्ति निको भएका छन् । हाल महानगरपालिकामा चार हजार ६१ सक्रिय संक्रमित छन् । कोरोना संक्रमणकै कारण हालसम्म ४८४ ले ज्यान गुमाएका छन् ।

महानगरपालिकामा हाल रहेका संक्रमितमध्ये तीन हजार ७२२ होम आइसोलेशनमा छन् भने १३५ संस्थागत आइसोलेशनमा र २२४ ले अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड-१९ को संक्रमणविरुद्ध लड्का लागि महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका १२ अस्पतालले माग गरेअनुरूप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्न सम्झौता गरी सेवा विस्तार गरेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारसम्म काठमाडौँ उपत्यकाका तीन जिल्लामा आठ हजार ५०८ सक्रिय संक्रमित छन् । त्यसमा काठमाडौँमा चार हजार ३९१, भक्तपुरमा एक हजार ७३२ र ललितपुरमा दुई हजार ३८५ सक्रिय संक्रमित छन् ।

अहिले देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ३३६ मा झरेको छ । पच्चीस जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा बढी छ । विभिन्न ३० जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *