देउवालाई ओलीले सोधे- माघ १९ लाई ‘कु’ भन्ने हिम्मत किन भएन ? – Nepal Press

देउवालाई ओलीले सोधे- माघ १९ लाई ‘कु’ भन्ने हिम्मत किन भएन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री बन्ने उत्कट इच्छाका कारण लोकतान्त्रिक मार्ग छोडेको आरोप लगाएका छन् । लोकतान्त्रिक आन्दोलनमा योगदानको इतिहास भएको कांग्रेस पार्टी अहिले ‘प्रचण्डपन्थी’ बनेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

बालुवाटारमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘शेरबहादुरजीले प्रधानमन्त्री हुने उत्कट इच्छाले लोकतान्त्रिक मार्ग छोड्नुभो । केही जाली-फटाहा टिपेर कृत्रिम र अलोकतान्त्रिक मार्गबाट प्रधानमन्त्री बन्न खोज्नुभो । संसदबाट बनेको भए हुन्थ्यो । जनतामा गएर बनेको भए हुन्थ्यो । जनतामा जाने बाटोलाई अवरोध गरेर अन्तैबाट प्रधानमन्त्री बन्न खोज्ने ?’

ओलीले थपे, ‘जनतामा जाने कुरालाई ‘कु’ भन्यो कांग्रेसले । जनतामा जाने प्रस्ताव ‘कु’ हो भने १७ सालको लोकतान्त्रिक अभ्यास के थियो ? कांग्रसले कु भनेको के हो बिर्सिसकेछ । शेरबहादुरलाई सोध्न चाहन्छु ? माघ १९ के थियो । उहाँलाई लोकतान्त्रिक विधिबाट सत्ता हस्तान्तरण गरिएको थियो ? असोज १८ के थियो ? कु थियो कि थिएन ? त्यतिबेला कु भन्ने शब्द उहाँको मुखबाट आउने हिम्मत किन भएन ?’

ओलीले पूर्वराजा ज्ञानेन्द्रमाथि पनि निसाना साँधे ।

‘निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरेर ‘अदक्ष’ कि के अरे ? ‘अ दक्ष’ भएको हुनाले हटाइयो । ‘अक्षम’ हुनाले हटाइदिएँ । जननिर्वाचित प्रधानमन्त्री सक्षम छ कि छैन भनेर निर्णय गर्ने आर्टिफिसियल्ली बनेको तथाकथित गद्दीमा बस्ने व्यक्तिको काम होइन । त्यो जनताको काम हो । त्यतिबेला देउवाले किन ‘कु’ भन्न सक्नुभएन ? अहिले जनताका बीचमा जाने कुरा गर्दा कु भन्या छ । प्रतिगमन भन्या छ । प्रचण्डको भाषासमेत सापटी लिएर । भाषा सापटी मात्रै होइन आफ्नै बनाइसक्नुभो । दया लाग्छ । लोकतान्त्रिक आन्दोलनमा इतिहास भएको पार्टी यस ढंगले प्रचण्डपन्थी भएको देख्दा अचम्म लाग्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर