युरो २०२०: अन्तिम १६ बाटै बाहिरियो नेदरल्यान्ड्स, चेक रिपब्लिक क्‍वार्टरफाइनलमा – Nepal Press

युरो २०२०: अन्तिम १६ बाटै बाहिरियो नेदरल्यान्ड्स, चेक रिपब्लिक क्‍वार्टरफाइनलमा

काठमाडौं । नेदरल्यान्ड्सलाई २-० गोलको नतिजामा पराजित गर्दै चेक रिपब्लिक युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ ।

आइतबार अन्तिम १६ अन्तर्गत हंगेरीको बुडापेस्टमा भएको खेलमा १० जना खेलाडीमा सीमित भएको नेदरल्यान्ड्सविरुद्ध सहज जित निकाल्दै चेक टोलीले ९ वर्षपछि क्‍वार्टरफाइनल यात्रा तय गरेको हो ।

पहिलो हाफदेखि नै नेदरल्यान्ड्समाथि निरन्तर दबाब बनाएको चेक टोलीले दुवै गोल दोस्रो हाफमा गरेको हो ।

नेदरल्यान्ड्सका भरपर्दा डिफेन्डर म्याथिस डी लाइटले चेक टोलीको गोल गर्ने मौकामा जानेरै हातले बल तानेपछि भिडियो असिस्टेन्ट रेफ्रीले रातो कार्डका लागि पहल गरेका थिए ।

भिडियो असिस्टेन्ट रेफ्रीको सुझावसँगै साइड स्क्रिनमा रिप्ले हेरेका रुसी रेफ्री सर्जेइ कारासेभले डी लाइटलाई रातो कार्ड देखाएका थिए ।

डी लाइटले रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेपछि डच टोली १० जनामा सीमित भएको थियो ।

दश जनामा सीमित भएको नेदरल्यान्ड्समाथि प्रभुत्व जमाएको चेक गणतन्त्रले मिडफिल्डर थोमस होलेसले ६८औं मिनेटमा गरेको गोलसँगै अग्रता लिएको थियो ।

एक जना खेलाडीको घाटा बेहोरेको डच रक्षापंक्तिमाथि निरन्तर आक्रमण गरेको चेक टोलीका लागि उत्कृष्ट फर्ममा रहेका फरवार्ड प्याट्रिक शिकले दोस्रो गोल गरे । शिकले ८०औं मिनेटमा गरेको गोलसँगै २-० ले पछि परेको नेदरल्यान्ड्सले खेलमा पुनरागमन गर्न नसक्दा घर फर्कनु परेको हो ।

सन् २०१४ को विश्वकपपछि पहिलो पटक ठूला प्रतियोगितामा स्थान बनाएको डच टोलीले समूह चरणका तीनै खेलमा जित हासिल गरेको थियो ।

चेक टोलीले क्‍वार्टरफाइनलमा डेनमार्कको सामना गर्नेछ । डेनमार्क शनिबार भएको प्रि-क्‍वार्टरफाइनलमा वेल्सलाई ४-० को नतिजामा पराजित गर्दै अन्तिम ८ मा पुगिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर