इटहरीको यातायात कार्यालय सार्ने सूचनामा सेटिङको आशंका, घर पहिल्यै तयार ! – Nepal Press

इटहरीको यातायात कार्यालय सार्ने सूचनामा सेटिङको आशंका, घर पहिल्यै तयार !

इटहरी । गत जेठ ११ मा इटहरीको यातायात व्यवस्था कार्यालयले ‘घरभाडा लिने सम्बन्धि सूचना’ सार्वजनिक गर्यो । सूचनामा राजमार्गबाट २ किलोमिटर भित्रको ८ कट्ठा क्षेत्रफलमा फैलिएको घेराबारा सहितको १५ कोठाको घर मागिएको छ । ६ वटा वाथरुम र शौचालय सहितको भवन हुनुपर्ने सूचनामा उल्लेख छ ।

हाल इटहरी २ मा रहेको यातायात व्यवस्था कार्यालयले नयाँ ठाउँमा भवन सार्न उक्त सूचना जारी गरेको हो । तर, सूचना जारी भएर नयाँ घरधनीहरुले आवेदन भर्नु अगाडि नै इटहरीको यातायात क्षेत्र सम्वद्धहरुमा इटहरी ८ को एक घरमा सर्न लागेको गाइगुईं सुरु भयो ।

यातायात कार्यालयका हाकिमहरुबाट ‘ग्रिन सिग्नल’ पाएर निर्माण भएको घरमै यातायात कार्यालय सर्ने धेरैले आशंका व्यक्त गरे । यसो भन्नेमा ड्राइभिङ स्कुल संघ प्रदेश १ समिति नै छ । समितिका अध्यक्ष बाबुराम प्रधानले सूचना आउनासाथ भने, ‘यो सबै सेटिङ नै भएर गरिएको विज्ञापन हो । यातायात कार्यालय अब इटहरी ८ कै बन्दै गरेको भवनमा सर्छ ।’

यातायात कार्यालयले नयाँ भवनमा खोजेको मापदण्ड र त्यो भवनको मापदण्ड एकै भएको, भवन त्यहीँ सार्न सबै मिलाएर औपचारिकताको लागी मात्रै विज्ञापन भएको प्रधान बताउँछन् । पुस मसान्तसम्म इटहरी १० मा निर्माणाधिन यातायात भवन बनिसक्ने भए पनि त्यो अगाडि नै सर्ने सेटिङ भएको ड्राइभिङ संघको दावी छ । विज्ञापनमा घरनक्सा पास नभनेर ‘घरजग्गाको कित्ता खोली चार किल्ला उल्लेख’ गर्ने भन्ने सूचना पनि त्यही इटहरी ८ को अस्थायी घरको लागी बनेको संघले बताएको छ ।

संघ प्रदेश १ प्रधान नेतृत्वको टीमले इटहरीस्थित अख्तियारको क्षेत्रिय कार्यालय, प्रदेश १ को भौतिक पुर्वाधार मन्त्रालयदेखी सुनसरी जिल्ला प्रशासन कार्यालयहरुमा उजरी दिइसकेका छन् । शनिबार पत्रकार सम्मेलन गरेर संघले भवन बनाइरहेको हनुमान कन्स्ट्रक्सनले पुष मसान्तभित्र बनाइ सक्ने बताएको र पुरानो कार्यालयको भवनको सम्झौता पनि नसकिएको भन्दै कार्यालय सार्नु ठुलो आर्थिक चलखेल भएको आरोप लाएको छ । चलखेलमा यातायात व्यवस्था कार्यालयका क्षेत्रिय निर्देशक भीम गौतम र इटहरी कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाको प्रमुख हात रहेको प्रधानले आरोप लागाए ।

सबै नियमानुसार भएको छः यातायात कार्यालय प्रमुख

इटहरीस्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रका प्रमुख प्रेमप्रसाद सापकोटाले भने सबै काम नियमानुसारै भएको जिकिर गरे ।

अहिले कुनै भवनको टुंगो नलागेको भन्दै सापकोटाले हाल बसेको इटहरी २ को घरको सम्झौता असोज १ मा सकिने र एक महिनाअगाडि पुर्वजानकारी दिएर छोड्न सकिने प्रावधान भएको बताए । इटहरी १० मा निर्माणाधिन आफ्नै भवन पनि पुसमा सम्पन्न नहुने सापकोटाको दावी छ ।

उनले भने, ‘भवन सम्पन्न हुन र हस्तान्तरण हुन कम्तीमा दुई बर्ष लाग्छ ।’

भवन बन्न धेरै समय लाग्ने बारेमा पत्रसमेत प्राप्त भएको भन्दै सापकोटाले भवन बनेर मन्त्रालयले हस्तान्तरण गरेको एक महिनामा आफूले कार्यालय सार्ने उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर