तोकिएको समयभित्रै महाधिवेशन गर्ने गरी क्रियाशील सदस्यता टुंगिन्छ : नेता लेखक – Nepal Press

तोकिएको समयभित्रै महाधिवेशन गर्ने गरी क्रियाशील सदस्यता टुंगिन्छ : नेता लेखक

काठमाडौं । आन्तरिक समायोजन लगायत विभिन्न कारणले रोकिएको क्रियाशील सदस्यता वितरणकार्य सबै जिल्लामा सुरु भईसकेकाले समयमै टुंगो लगाएर वडा देखि केन्द्रसम्मको सबै अधिवेशन समय भित्रै सम्पन्न गरिने नेता रमेश लेखकले बताएका छन् ।

आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरू सम्मिलित बैठक कार्यतालिका अनुसार पार्टीको महाधिवेशनलाई सम्पन्न गर्ने विषयमा केन्द्रित भएर छलफल अघि बढेको लेखकले जानकारी दिए ।

क्रियाशील सदस्यता छानविन समितिका संयोजकसमेत रहेका नेता लेखकले आफ्नो समितिको संक्षिप्त मौखिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उनका अनुसार अधिकांश जिल्ला र निर्वाचन क्षेत्रबाट क्रियाशिल सदस्यताको नवीकरण र नयाँ इन्ट्री पनि भइसकेको तथा पार्टीको आन्तरिक समायोजन सम्बन्धी विवादका कारण प्रभावित भएका जिल्लामा पनि काम सुरु भएको छ ।

पार्टीको आन्तरिक समायोजनका कारणले बारा, बर्दियामा पार्टी कार्यालयमा तालबन्दी भएकाले र लामो समयसम्म समायोजन सम्बन्धी विवाद रहेकाले सिन्धुपाल्चोक जिल्लामा क्रियाशिल सदस्यता वितरणको काम अघि बढ्न सकेको थिएन । ती जिल्लामा अहिले काम भइरहेको नेता लेखकले बताए ।

लेखकले भने ‘झण्डै ८ लाख २० हजार क्रियाशील सदस्यताको इन्ट्री भइसकेको छ । अधिकांश स्थानको सदस्यता वेबसाइटमा सार्वजनिक भइसकेको छ । प्राप्त उजुरी र गुनासामाथि छलफल भइरहेको छ । केही कुरामा समान धारणा बन्न नसकेकाले ती विषयमा पदाधिकारी र पुर्व पदाधिकारीसँग छलफल गरेर समाधान धारणा बनाउने प्रयास भइरहेको छ । नेपाली कांग्रेसले जारी गरेको कार्यातालिकाकै समयमा स्थानीय वडा देखि जिल्लातहसम्मका अधिवेशन, प्रदेशतहको अधिवेशन र महाधिवेशन त्यही तालिकामा हुने गरी क्रियाशील सदस्यताको काम सम्पन्न गर्ने कुरामा अगाडि बढेका छौँ । त्यो हामी सम्पन्न गर्छौ भन्ने म विश्वास दिलाउन चाहन्छु । ‘


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर