परिवारबाटै सुजिताको हत्या भएको आशंका, खेत खन्दा भेटिए ‘प्रमाण’ – Nepal Press

परिवारबाटै सुजिताको हत्या भएको आशंका, खेत खन्दा भेटिए ‘प्रमाण’

जनकपुरधाम । गत जेठ २० गतेबाट बेपत्ता बनेकी महोत्तरीको लोहरपट्टी नगरपालिका ७ की २६ वर्षिया सुजिता ठाकुरको हत्या भएको आशंका प्रहरीले गरेको छ । उनको घरनजिकको खेतमा प्रहरीले उत्खनन् गर्दा केही सम्भावित प्रमाणहरू फेला परेका छन् ।

हत्या गरेर खेतमा गाडेको आशंकामा प्रहरीले सुजिताकै आफन्तको सहयोगमा उत्खनन् गरेको हो । त्यस क्रममा कपाल, नङ र रगत लत्पतिएको माटो फेला परेको प्रहरी स्रोतले बतायो । शरीर गलाउन मलखाद र नुनको समेत प्रयोग भएको स्रोतको भनाइ छ ।

‘खाल्डो खन्दा अत्यधिक दुर्गन्ध आइरहेको छ’, उत्खनन्मा संलग्न एक प्रहरी जवानले भने, ‘हत्या गरेरै गाडेजस्तो देखिन्छ ।’

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले घरदेखि करिब एक किलोमिटर दूरीमा रहेको खेतमा उत्खनन गरेको थियो । करिब ४ फिट गहिरो खाल्डो खन्दा नै प्रमाणहरू फेला पर्न थालेपछि हत्या आरोपीलाई प्रहरीले खोज्न शुरू गरेको छ । सुजिताको हत्या गरी खेतमा गाडेको आरोप उनका आफ्नै देवर रुपेश ठाकुर र ससुरा पतिराम ठाकुरमाथि लागेको छ ।

‘दाइजो नदिएको र घरायसी विवादका कारण देबर र ससुराले बहिनीलाई मारेछन्,’ सुजिताका भाइ शिवम पाण्डेले भने, ‘यसअघि पनि पटक-पटक कुटपिट गरेका थिए ।’ धनी व्यक्ति भएका कारण गाउँमा रुपेश र उनका बुबा पतिरामले आतंक मच्चाएको उनको आरोप छ ।

सुजिता बेपत्ता भएपछि हत्याको आशंकामा आफन्त प्रहरीमा उजुरी दिन पुगेका थिए । तर, प्रहरीले शुरूमा उजुरी नलिएको र छानविनसमेत गर्न चासो नदिएको भन्दै विरोध भएको थियो ।

सुजिताका आफन्तले पछि अधिकारकर्मीहरूलाई गुहारे । महिला अधिकारकर्मी गुञ्जा रायसहितले मधेसी आयोगमा उजुरी दिएकी थिइन् । आयोगका अध्यक्ष डा. विजय दत्तले सुजिता बेपत्ता घटनाको छानविन गर्न निर्देशन दिएपछि प्रहरीले आज उत्खनन गर्न पुगेको बुझिएको छ ।

‘उत्खनन गर्दा केही प्रमाण फेला परेको छ’, एक प्रहरी अधिकारीले भने, ‘हत्या गरेर यहाँ नै गाडेको जस्तो लागेको छ । तर सुजिताकै हत्या गरेर गाडेको पुष्टि हुन सकेको छैन । उत्खनन गर्न अझै बाँकी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर