दाङ कांग्रेसमा बढ्यो चुनावी सरगर्मी, खुमबहादुरको विरासत थाम्ने नेताको खोजी – Nepal Press

दाङ कांग्रेसमा बढ्यो चुनावी सरगर्मी, खुमबहादुरको विरासत थाम्ने नेताको खोजी

घोराही । १४ औं महाधिवेशनको तिथि नजिकिँदै जाँदा दाङ कांग्रेसमा चुनावी सरगर्मी बढेको छ ।

कुनै बेलाका कांग्रेसका प्रभावशाली नेता स्व. खुमबहादुर खड्काको गृहजिल्ला दाङमा कांग्रेसको राजनितिलाइ केन्द्रमा समेत अर्थपूर्णरूपमा लिइन्थ्यो । खुमबहादुरको निधनपछि उनको विरासत थाम्ने नेताको भने कमी भइरहेको स्वयं नेता कार्यकर्ताहरू नै महसुस गर्छन् ।

अहिले जिल्लाको राजनीतिमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी हावी भएका छन । उनी महामन्त्री शशांक कोइरालानिकट मानिन्छन् । केन्द्रीय राजनीतिमा सीधै पहुँचका कारण खुमबहादुरपछिको दाङको र केन्द्रीय र राजनीतिमा आफूलाइ बलियो बनाउन लागि परेका छन ।

जिल्लामा आगामी चुनावमा आफ्नो नेतृत्व ल्याउन उनलाई पूरै दबाब छ । नेता गिरीको पक्षबाट नेताहरुको जिल्ला सभापतिमा आकाङ्क्षि बढेकाले नेतृत्व छानेर उम्मेद्वार बनाउन ठूलै सकस छ । उनले कार्यकर्ताबाट पार्टीको सह-महामन्त्रीमा उठ्न सुझाव सल्लाह आएपनि आफूले सबैसँग सल्लाह गरेर नै उम्मेद्वारी टुङ्ग्याउने केही समय पहिले बताएका थिए ।

चुनावी सरगर्मी बढेसँगै जिल्लाका नेताहरूले उम्मेदवारी दावी गर्न थालेका छन् । दाङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति भुपबहादुर डाँगीले जिल्ला सभापतिमा शुरूमै उम्मेदवारीको घोषणा गरिसकेका छन् । उनले पत्रकार सम्मेलनमा नै पार्टीको जिल्ला सभापति र घोराही उपमहानगरको मेयरमा पुन: उठ्ने जानकारी गराएका थिए । ‘गाउँ-वडा तहसम्म पुगेर सबै नागरिकको मन विचार र उनीहरूको चाहना बुझेर नै सभापतिमा उठ्न चाहेको हुँ’, डाँगीले भने ।

महासमिति सदस्य जानकीलाल बस्नेतले आफू दाङ कांग्रेसको नेतृत्व लिन तयार रहेको बताएका छन् । ‘कांग्रेस दाङको नेतृत्व हाक्न तयार छु मेरो उम्मेदवारी अनौठो मान्नु पर्दैन । कांग्रेसलाई सशक्तरूपमा अघि बढाउँदै जिल्लामा कांग्रेसलाई बलियो बनाउँदै कसरी अगाडि बढ्न सकिन्छ त्यो मलाई राम्रोसँग थाहा छ’, बस्नेतले भने । बस्नेत २०४८ सालमा नेविसंघबाट राजनीतिमा छिरेका हुन् ।

उम्मेदवारी घोषणा नगरेपनि कांग्रेसका पुराना नेता खगराज पाण्डे, भोजराज पाण्डे, पार्टीका जिल्ला सचिव शंकर डाँगी, उपसभापति कमानसिंह भारती, नेता भरतबहादुर न्यौपाने, यसअघि जिल्ला सभापतिमा लडेका कमलकिशोर घिमिरे, गेहेन्द्र गिरी नेतृत्वको लागि चर्चामा छन् ।

करिब १२ हजार क्रियाशील सदस्य रहेको दाङमा कांग्रेस केन्द्रीय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार
जिल्ला अधिवेशन आगामी साउन २६ गते हुनुपर्नेछ ।

कोरोना जोखिम कायमै रहेकोले जिल्ला अधिवेशनको प्रक्रियाबारे छलफल चलिरहेको छ । भौतिक उपस्थितिभन्दा पनि प्रविधिको प्रयोग गर्दै अधिवेशन गर्ने कि भनेर विकल्पको खोजी भइरहेको कांग्रेस नेताहरूले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर