माधव नेपाललाई एमालेमा फर्काउन अन्तिम प्रयास गरिँदै, जेठ २ मा फर्किएको घोषणा असार १६ मा हुने – Nepal Press

माधव नेपाललाई एमालेमा फर्काउन अन्तिम प्रयास गरिँदै, जेठ २ मा फर्किएको घोषणा असार १६ मा हुने

स्थायी कमिटी बैठकमा ब्रिफिङ–अध्यक्ष र प्रधानमन्त्री दिए पनि माधव एमालेमा फर्किँदैनन्

काठमाडौं । नेकपा एमालेले माधव नेपाल समूहलाई पार्टीमै फर्काउन अन्तिम प्रयास गर्ने भएको छ । त्यसको लागि दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गरिने एमाले स्रोतले जनाएको छ ।

माधव नेपाल एमालेमा नफर्किए पनि अरु नेता कार्यकर्तालाई रोक्नका लागि नेपाल पक्षले माग गरे बमोजिम जेठ २ मा फर्किने निर्णयसहित औपचारिक आह्वान गर्ने तयारी अध्यक्ष केपी शर्मा अ‍ोलीको छ ।

सोही प्रयोजनका लागि आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले असार १६ गते आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ । सोही बैठकबाट एकताको लागि अन्तिम प्रयत्न गरिने स्थायी कमिटी सदस्य विष्णु रिमालले नेपाल प्रेसलाई बताए ।

रिमालले भने, ‘माधव कमरेडको कुरा त तपाईंहरूले भिडिओसहित सबैलाई जानकारी गराइहाल्नुभयो । तर, पनि पार्टीले उहाँहरूलाई एमालेमै रहनका लागि हदैसम्म लचिलो भएर सम्बोधन गर्छ । जेठ २ मा जाने भनेर अध्यक्षले आह्वान गरिसक्नु भएकै छ, महाधिवेशन आयोजक कमिटीको बैठकले थप निर्णय गर्छ ।’

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतका पछिल्ला आदेश तथा फैसला र माधव नेपालको क्रियाकलापबारे छलफल भएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले थप निर्णय गर्न फराकिलो र उच्च तहबाट छलफल गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको जानकारी दिए ।

एमाले स्रोतका अनुसार आइतबारको बैठकमा माधव नेपाल एमालेमा नफर्किने निष्कर्ष निकालिएको छ । माधवपक्षीय नेताहरूसँगका वार्तामा सहभागी नेताहरुले बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष वा प्रधानमन्त्री दिए पनि नेपाल एमालेमा नफर्किने निष्कर्ष सुनाएको एक नेताले बताए ।

नेपाल आफैंले शनिबार पत्रकारहरूसँग आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको खुलासा गर्दै तर विपक्षी गठबन्धन छाडेर ओलीसँग मिल्न नजाने प्रष्ट पारिसकेका छन् । नेपाललाई यसबीचमा दोस्रो अध्यक्षको अफर समेत गरिएको तर उनले एकल अध्यक्ष दिए पनि अब एमालेमा नबस्ने जवाफ दिएको ती नेताले बताए ।

ती नेताले भने, ‘माधव नेपाललगायत उनीसँग रहेको एउटा टिम कुनै हालतमा एमालेमा फर्किदैन भन्ने निष्कर्ष रह्यो । तर, जेठ २ मा फर्काएर सबै संरचना क्रियाशील गराउने औपचारिक निर्णय गर्दा धेरै मान्छेको जिम्मेवारी फर्किने भएकाले उनीहरू रोकिन सक्छन् भनेर अन्तिम आह्वान गर्न लागिएको हो ।’

बैठकमा केही नेताले एकताका लागि र माधव नेपाललाई एमालेमा राख्नका लागि अधिकतम लचिलो बन्न अध्यक्ष ओलीलाई सुझाव दिएका थिए । ओलीले सबै प्रयास गर्दा पनि माधव नेपाल विपक्षी गठबन्धनबाट फर्किने ठाउँमा नरहेको बताएका थिए ।

बैठकपछि एमाले प्रवक्ता ज्ञवालीले एमाले विभाजन गर्ने, आफ्नै पार्टीको सरकार विस्थापित गर्न प्रतिपक्षलाई काँधमा बाकेर आफ्नो पार्टी सिध्याउने कर्ममा माधव नेपाल लागिरहे पनि पार्टी एकताको आश अझै आफूहरूले नमारेको बताए ।

उनले भने, ‘प्रतिपक्षलाई श्रेष्ठ बनाउने र एमाले विभाजन गर्ने सिमित नेताको चाहना होला, तर देभरका कार्यकर्ता र जनताको चाहना होइन त्यसैल हामीले अन्तिमसम्म एकताको पहल गर्छौं । अनुशासन उल्लंघनको हद पार गर्दा पनि पार्टीले सहेको छ,यो भनेको एकता नटुटोस् भनेरै हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर