सिरहामा १२ दिनमै ४ बालबालिकाको मृत्यु, कोरोनाको तेस्रो भेरियन्टको आशंका – Nepal Press

सिरहामा १२ दिनमै ४ बालबालिकाको मृत्यु, कोरोनाको तेस्रो भेरियन्टको आशंका

जनकपुरधाम । सिरहामा भटाभट बालबालिकाको मृत्यु हुन थालेपछि कोरोनाको तेस्रो भेरियन्ट आइसकेको आशंका गरिएको छ ।

१२ दिनमै सिरहामा १६ वर्ष मुनिका चार बच्चाको मृत्यु भएको सिरहा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. नागेन्द्र यादवले जानकारी दिए । उनका अनुसार स्वास्थ्य जटिल बनेपछि अस्पताल ल्याउने क्रममै चारै बच्चाको मृत्यु भयो । उनीहरूमा रुघाखोकी र ज्वरोको लक्षण देखिएको थियो ।

ती बच्चाहरूको मृत्यु के कारणले भयो भन्ने पुष्टि हुन सकेका छैन । उनी भन्छन्, ‘कोरोनाको तेस्रो भेरियन्टकै कारण उनीहरूको मृत्यु भएको आशंका छ । मृतक बच्चाको पीसीआर परीक्षण गराउँदा कारण खुल्न सक्थ्यो । तर अभिभावकले आग्रह मानेनन् ।’

मृतक बालबालिकाहरू कुन ठाउँका थिए भन्ने रेकर्ड अस्पतालसँग छैन । ‘अस्पताल ल्याउने क्रममै ती बालबालिकाको बाटोमै मृत्यु भयो । भर्ना हुनै पाएनन् । त्यसैले हामीसँग रेकर्ड छैन’, डा. यादवले भने ।

तर मृत्युको कारण पत्ता लगाउन कसैले चासो देखाएका छैन । बच्चाहरूको मृत्युको कारण पत्ता लगाउने दायित्व कसको भन्ने जिज्ञासामा डा. यादवले भने, ‘स्थानीय तहका स्वास्थ्य शाखाको काम हो । आफ्नो गाउँ/नगरमा के समस्या छ भन्ने कुराको रिपोर्टिङ गर्नुपर्ने हुन्छ । तर त्यो भइरहेको छैन ।’

बिरामी परेलगत्तै नजिकको अस्पताल पुग्न, चिकित्सकको सल्लाह अनुसार मात्र औषधि सेवन नगर्न उनको सुझाव छ ।

धनुषामा भने बालबालिकाको मृत्यु भएको कुरा बाहिर आएको छैन । प्रादेशिक अस्पताल जनकपुरधामका मेसु डा. प्रमोद यादवले पछिल्लो समय कोरोनाको लक्षण देखिएका कुनै बालबालिकाको मृत्यु नभएको बताए ।

कोरोनाको तेस्रो भेयिरन्ट आउन एक/डेढ महिना समय लाग्ने उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *