लगातार चौथो पटक इटाली युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा – Nepal Press

लगातार चौथो पटक इटाली युरोपियन च्याम्पियनसिपको क्‍वार्टरफाइनलमा

काठमाडौं । अस्ट्रियालाई अतिरिक्त समयमा पराजित गर्दै १९६८ को च्याम्पियन इटाली युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ । अन्तिम १६ अन्तर्गत शनिबार राति लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

निर्धारित समयको पहिलो हाफमा अस्ट्रियामाथि निकै दबाब बनाएको इटालीले दोस्रो हाफमा दबाब सहनु परेको थियो ।

तर, सब्स्टिच्युट खेलाडीको निर्णायक प्रदर्शन प्रेरित इटालीले अतिरिक्त समयको पहिलो हाफमै दुई गोल थप्यो ।

इटालीका लागि ८४औं मिनेटमा डोमेनिको बेरार्डको स्थानमा मैदान प्रवेश गरेका फेडेरिको किएसाले अतिरिक्त समयको पाँचौं अर्थात् ९५औं मिनेटमा अज्जुरीको डेडलक तोडेका थिए ।

उनले लियोनार्दो सपिनाज्जोलाको पासलाई पेनाल्टी एरिया भित्रबाट प्रहार गर्दै गोल गरेका थिए । त्यसको ६ मिनेट नबित्दै अर्का सब्स्टिच्युट खेलाडी माटेओ पेस्सिनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए ।

नियमित समयको ६७औं मिनेटमा निकोलो बेरेलाको स्थानमा मैदान प्रवेश गरेका पेस्सिनाले फ्रान्सेस्को अक्रेबीको पासको सदुपयोग गर्दै अतरिक्त समयको इन्जुरी समयमा गोल गर्दै इटालीको अग्रता दोब्बर पारेका थिए ।

अतिरिक्त समयको पहिलो हाफमा २-० ले पछि परेको अस्ट्रियाका लागि पनि सब्स्टिच्युट खेलाडी सासा कलाड्जिकले ११४औं मिनेटमा एक गोल फर्काए ।  खेलको ९७औं मिनेटमा मार्को अर्नाउटोभिचको स्थानमा मैदान प्रवेश गरेका कलाड्जिकले लुइस साकबले प्रहार गरेको कर्नरलाई हेडरमार्फत् जाली चुमाएका थिए ।

तर, ६१औं मिनेटमा अर्नाउटोभिचले गरेको गोल अफसाइडका कारण भिडिओ असिस्टेन्ट रेफ्रीले रद्द गरिदिँदा अस्ट्रिया दुर्भाग्यशाली सावित भयो ।

जितसँगै २००४ यताका सबै युरोपियन च्याम्पियनसिपमा इटालीले कम्तिमा क्‍वार्टरफाइनलको यात्रा तय गरेको छ । र, सेमिफाइनलका लागि इटालीले पोर्चुगल र बेल्जियमसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर