जनकपुरमा विपक्षी गठबन्धन र एमालेका युवाहरु आमने सामने भएपछि (तस्वीरहरु) – Nepal Press

जनकपुरमा विपक्षी गठबन्धन र एमालेका युवाहरु आमने सामने भएपछि (तस्वीरहरु)

जनकपुरधाम । जनकपुरमा विपक्षी गठबन्धनका युवाहरुले राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध गरेको प्रदर्शनको प्रतिकारमा एमाले सम्बद्ध युवाहरु सडकमा उत्रिएपछि तनाव सिर्जना भएको छ ।

विपक्षी गठबन्धनका युवाहरु रेल्वे स्टेशनबाट र्याली निकालेका थिए। उनीहरु शिव चोकमा पुगेर कोणसभा गर्ने थाहा पाएपछि एमालेका राष्ट्रिय युवा संघका कार्यकर्ताले भानु चोकमा लखेट्ने प्रयास गरे । तर त्यहाँ ठूलो संख्यामा परिचालित सुरक्षाकर्मीले युवा संघका कार्यकर्ताहरुमाथि बल प्रयोग गरेर भएपनि रोकेका थिए ।

प्रहरीले टसमस हुन नदिएपछि युवा संघका कार्यकर्ता अन्य बाटो भएर जनक चोक पुगे । त्यहाँ पनि सुरक्षाकर्मीले उनीहरुलाई घेरा हाले । त्यति बेलासम्म विपक्षी गठबन्धनका युवाहरु शिव चोक पुगिसकेका थिए । उनीहरु प्रहरीको घेरामा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरे ।

नेपाली काँग्रेस, जसपा, नेकपा माओवादी केन्द,एमालेको माधव पक्ष सहित विपक्षी पाँच दलका २०÷२५ जना युवाहरु मात्र प्रदर्शनमा सहभागी थिए । उनीहरुको प्रतिकार गर्न करिब एक सय बढी युवा संघका कार्यकर्ता उत्रेका थिए ।

युवा संघका कार्यकर्ताले जसपा अध्यक्ष उपेन्द्र यादव मुर्दावाद, सरकार विरुद्ध गतिविधि गर्न पाइदैन, स्थिर सरकार कायम गर, विखण्डनकारी मुर्दावाद,केपी ओली जिन्दावाद जस्ता नारा लगाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर