भासियो टीकापुर र राजापुर जोड्ने सत्ती पुल, एक महिला बेपत्ता – Nepal Press

भासियो टीकापुर र राजापुर जोड्ने सत्ती पुल, एक महिला बेपत्ता

कैलाली । कर्णाली नदीको बहावले कैलालीको टीकापुर र बर्दियाको राजापुर जोड्ने कर्णाली नदीको सत्ती पुल भासिएको छ । हुलाकी राजमार्ग अन्तर्गतको सो पुलको राजापुर क्षेत्र भासिएको सत्ती प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक लोकेन्द्र चन्दले जानकारी दिएका छन् । उनले भासिएका स्थानमा मरमत प्रयास भइरहेको बताए ।

कटान हुनथालेपछि अहिले पुलमा आवागमन बन्द गरिएको छ । नदी कटान रोक्नका लागि प्रयास भैरहेको स्थानीय भीम बिकले जानकारी दिए । पुल निर्माण भएसँगै राजापुक्षेत्रका भागमा नदीले हरेक वर्षे कटान गर्दै आएको भएपनि यसको दीर्घकालीन उपाय अबलम्बन गरिएको थिएन । पुल निर्माण भएसँगै ती दुई जिल्लाको दक्षिणी क्षेत्रमा यातायात सेवा सञ्चालन भएको थियो ।

पत्रेखोलाले बगाउँदा एक महिला बेपत्ता

दाङको पत्रेखोलाले बगाउँदा एक महिला आज दिउँसोदेखि बेपत्ता भएकी छिन् । पत्रेखोला तर्ने क्रममा बेपत्ता भएकी उनी घोराही ११ निवासी हुन् । उनको अन्य परिचय खुल्न सकेको छैन । घोरोही-११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्रहरी तथा स्थानीय टोलीले खोजी कार्य जारी राखेको छ ।

आज पत्रेखोलामा पानीको बहाब पनि यस वर्षकै उच्च छ । प्रहरीका अनुसार आज दिउँसोदेखि घोराही-तुलसीपुर सडकखण्ड ठप्प छ । पत्रेखोला, सेवार र हापुर खोलामा पानीको बहाब बढेपछि साना तथा ठूला कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।
रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर