दोस्रो पुस्तालाई सभापति, युवा पुस्तालाई पदाधिकारी : गुरुराज घिमिरे – Nepal Press

दोस्रो पुस्तालाई सभापति, युवा पुस्तालाई पदाधिकारी : गुरुराज घिमिरे

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको सरगर्मी विस्तारै बढ्दै छ । भदौ १६ देखि १९ गतेसम्म हुने महाधिवेशनबाट पार्टीको नेतृत्व लिन कांग्रेस नेताहरुबीच प्रतिस्पर्धा सुरु भएको छ ।

मुलुककै पुरानो प्रजातान्त्रिक पार्टी कांग्रेसको केन्द्रीय संरचनामा मुख्यतः ३ पुस्ताको उपस्थिति देखिन्छ । पार्टीको नेतृत्वमा रहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो पुस्ताको प्रतिनिधित्व गर्छन् ।

सभापतिमा दावी गरिरहेका विमलेन्द्र निधि, डा.शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी, डा.शेखर कोइराला लगायत दोस्रो पुस्तामा पर्छन् । त्यस्तै पदाधिकारीमा दावी गरिहेका र केन्द्रीय समितिमा बाहुल्य रहेका नेताहरु तेस्रो पुस्तामा पर्छन् ।

जसलाई कांग्रेसवृत्तमा युवा पुस्ता नै भनिन्छ । आसन्न महाधिवेशनमा नेतृत्वका लागि भइरहेको चर्चा र सम्भावित समीकरणबारे नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेसंग नेपाल प्रेसका लागि नकुल अर्यालले गरेको कुराकानी प्रस्तुत छ नेपाल टकमा :

महाधिवेशनको चहलपहल सुरु भइसक्यो । सबैले उम्मेदवारी घोषणा गरिरहेका छन् । तपाईको चै दावी के मा छ ?

महाधिवेशन केन्द्रीत भएर धेरै नेताको उम्मेदवारीबारे चर्चा चल्न थालेको छ । अरु नेताले, साथीले चर्चा गर्नेबित्तिकै मैले पनि चर्चा गरिहाल्नुपर्छ भन्ने त छैन । तर राजनीतिज्ञका लागि महाधिवेशन एउटा अवसर पनि हो । मैले आफूलाई नेपाली कांग्रेसको पदाधिकारी भएर योगदान गर्ने स्थानमा उभ्याएको छु । मैले शुभेच्छुक र नेताहरुसंग परामर्श गरिरहेको छु । १४ औं महाधिवेशनमा कांग्रेसको पदाधिकारीमा मेरो दावी रहन्छ । त्यसका लागि म योग्य पनि छु, सक्षम पनि छु ।

कांग्रेसको केन्द्रीय राजनीतिको पछिल्लो पुस्तालाई तपाई प्रतिनिधित्व गर्नुहुन्छ । यो महाधिवेशनमा तपाईंको पुस्ताको स्थान कहाँ देख्नुहुन्छ ?

प्रजातन्त्रको पुनःस्थापनापछि ३ दशक बढी पार्टी र मुलुक चलाइसकेका नेताहरु कांग्रेसमा हुनुहुन्छ । ती नेताहरूले अब विश्राम लिनुपर्छ भन्ने लाग्छ । त्यसमध्ये पहिलो पुस्ताले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्छ । त्यस्तै दोस्रो पुस्ताबाट अहिलेसम्म पार्टी सभापति वा प्रधानमन्त्री नभएका मध्यबाट कांग्रेसको नेतृत्व आओस् भन्ने हो ।

दोस्रो पुस्ता नेताहरुलाई पार्टी सभापतिसहित मुलुकका प्रमुख शासकीय पदहरूमा देख्न चाहेका छौं । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभा अध्यक्ष लगायतका पदहरु दोस्रो पुस्ताका नेताहरूका लागि उपयुक्त हुन्छ । बाँकी पार्टीको सभापति बाहेकका पदाधिकारीमा हाम्रो पुस्ताको उपस्थिति अनिवार्य भइसक्यो ।

उपसभापति, महामन्त्री, सहमहामन्त्री, कोषाध्यक्ष र केन्द्रीय समितिमा युवा पुस्ताको दावी रहन्छ । यो नै कांग्रेसका लागि उपयुक्त हुन्छ ।

यसको मतलब दोस्रो पुस्ताबाट सभापति, युवा पुस्ताबाट पदाधिकारी भन्ने हो ?

ठीक भन्नुभयो । प्रजातान्त्रिक आन्दोलनमा लामो समय योगदान गरेर पनि पार्टी र राष्ट्रको महत्वपूर्ण पदमा नपुगेका दोस्रो पुस्ताका नेताहरूका लागि यसपटक अवसर छ । उहाँहरूले पार्टी र मुलुक हाँक्ने भिजन प्रस्तुत गरेर कार्यकर्ताहरूको मन जिते त्यो भूमिका प्राप्त गर्नुपर्छ ।

जहाँसम्म हाम्रो पुस्ता अथवा कांग्रेसमा युवा पुस्ता जसलाई भनिन्छ, हामीले पार्टीका महत्वपूर्ण पदाधिकारीमा प्रतिनिधित्व गर्नुपर्छ । यसो हुँदा पार्टीमा अनुभवी र युवा पुस्ता दुवैको हिस्सेदारी देखिन्छ । पहिलो पुस्ताका नेताहरुले भने अब अभिभावकीय भूमिका निर्वाह गर्नु उपयुक्त हुन्छ ।

पार्टीभित्र युवा नेताहरूको छुट्टै समूह बनाएर सक्रियता पनि देखाउनुभयो । महाधिवेशनमा सात युवा नेता एकै ठाउँमा हुनुहुन्छ कि जता पाइन्छ त्यतै लाग्ने हो ?

युवाहरूको एलायन्स कायमै छ । यो अझ बढ्छ अब घट्दैन । अरु बेला मिलेर जाने चुनावमा तितरवितर हुने काम यसपालि हुँदैन । हामी जो जो छौं सबैले पार्टीको महाधिवेशनमा उपयुक्त भूमिका खोजेका छौं । यो समूह बाहिरका योग्य साथीहरूले पनि पार्टीमा उचित भूमिका पाउनुपर्छ । एलायन्सका सबैले पद पाउँछन् भन्ने पनि छैन ।

परम्परागत गुटगत जुन अवस्था छ त्यसले पार्टीलाई प्रगति हुन दिएको छैन । गुटका नाममा अस्वस्थ प्रतिस्पर्धा बढेको छ । निहित स्वार्थका लागि गुट बनाउने र गुटमा लागेकाहरुको वैयक्तिक उन्नति र प्रगतिमात्रै केन्द्रमा राखेको पाइयो । यस्तो खालको गुटको राजनीतिले पार्टीलाई फाइदा गर्दैन ।

हाम्रो संयुक्त पहलको उद्देश्य पार्टीमा युवाहरूको ठूलो संख्यालाई निर्णायक तहमा लैजाने, पार्टीको विद्यमान संरचनामा आवश्यक सुधार गर्ने र नेतृत्वलाई पार्टी सही दिशामा लैजान मद्दत गर्ने भन्ने हो । त्यसैले पार्टीका सबै युवा नेताहरुबीच न्यूनतम एजेण्डामा सहकार्य हुन्छ । पार्टीलाई सुदृढ बनाउन सबैको भूमिका रहोस् भन्ने हाम्रो चाहना हो ।

तपाईहरुले नेतृत्वमा परिवर्तनको चर्चा गर्नुहुन्छ । पार्टी सभपाति शेरबहादुर देउवाले त एक कार्यकाल दोहोर्‍याउँछु भन्नुभयो नि ?

नेपाली कांग्रेसको विधानले उहाँलाई सभापतिमा उम्मेदवार बन्न रोक्दैन । विधानले २ पटकसम्म एकै व्यक्ति सभापति हुनसक्ने व्यवस्था गरेको छ । त्यसैले उहाँले दोस्रो पटकका लागि सभापतिमा दावी गर्नु स्वभाविक र अधिकारको कुरा हो । तर एउटा आग्रह के हो भने, देशभरका साथीहरू देउवाले अभिभावकीय भूमिका निर्वाह गरिदिनुपर्‍यो भन्ने आवाज उठाइरहनुभएको छ ।

लोकतन्त्रका लागि लामो समय उहाँले संघर्षसहित योगदान गर्नुभयो । ४ पटक प्रधानमन्त्री भएर मुलुकका लागि काम पनि गर्नुभयो । उहाँले पार्टीका आम साथीहरुको बुझाइ र आग्रहलाई कदर गरेर प्रतिस्पर्धामा नभइदिँदा उपयुक्त हुन्छ । आशा गरौं अन्तिमसम्म उहाँले त्यो सन्देश पनि दिनुहोला ।

महाधिवेशनमा सधैं नेतृत्वको मात्रै चर्चा भइरहन्छ । कांग्रेसको नीति चै सबै ठीकठाक छ कि, सुधार्नुपर्ने केही छ ?

हाम्रो विचार र सिद्धान्त कालजयी छ । यसमा सुधार वा परिमार्जन आवश्यक छैन । समय समयमा पार्टीले लिएको राजनीतिक धार, पार्टीका कार्यक्रम र योजनाबारे पर्याप्त छलफल त हुने नै छ । हामीले अगाडि सार्ने कार्यक्रमबारे विशेष ध्यान दिनुपर्ने छ । जनतालाई आकर्षित गर्ने नीति कार्यक्रम हामीले ल्याउनैपर्छ । त्यो पाटोमा छलफल हुन्छ ।

हामीले पनि नेताहरूलाई भेटेर एकताका लागि दबाब दिएकै छौं । अहिलेसम्म पद लिएका आधारमा सभापतिदेखि उपसभापति, महामन्त्री लगायतका सबै पद उहाँहरूले नै लिनुभयो भने त्यो झन् खतरनाक हुन्छ । त्यसले पार्टीलाई हित गर्दैन ।

अर्को हाम्रो पार्टीको विधानको परिपालना, आवधिक अधिवेशन, भ्रातृसंस्थाहरूको आन्तरिक लोकतन्त्र लगायतका विषयमा हामी चुकेका छौं । यी विषयमा चै महाधिवेशनबाट ठोस धारणा बनाउनुपर्छ । विचार र सिद्धान्तका विषयमा भने हाम्राबीचमा कुनै समस्या छैन । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नीति र आदर्श नै सबैलाई स्वीकार्य छ ।

महाधिवेशनको बेलामा गुट बन्ने भत्कने क्रम सुरु हुन्छ । यस्ता गुटहरूको भविष्य के देख्नुहुन्छ ?

परम्परागत गुटगत जुन अवस्था छ त्यसले पार्टीलाई प्रगति हुन दिएको छैन । गुटका नाममा अस्वस्थ प्रतिस्पर्धा बढेको छ । निहित स्वार्थका लागि गुट बनाउने र गुटमा लागेकाहरुको वैयक्तिक उन्नति र प्रगतिमात्रै केन्द्रमा राखेको पाइयो । यस्तो खालको गुटको राजनीतिले पार्टीलाई फाइदा गर्दैन ।

पार्टी र कार्यकर्ताको आवश्यकता पहिचान गरेर त्यसलाई कार्यान्वयन गराउनका लागि हामीले नयाँ ढंगले सोच्नैपर्छ ।

कांग्रेसमा गुटको उत्पत्ति वा निरन्तरता कुनै नीति वा विचारका लागि नभएर नेताको प्रतिष्ठाका लागि भइरहेको छ । अब त्यो क्रम रोक्नुपर्छ । त्यसो भनेर पार्टीभित्र सबै एकै विषयमा सहमत हुन्छन् भन्ने छैन तर पार्टी हितलाई अधिकतम केन्द्रमा राखेर नयाँ समीकरणको प्रयत्न गर्नुपर्छ ।

सबै गुटमा रहेका सक्षम र योग्य नेताहरुको सल्लाह र परामर्शमा पार्टी हाँक्ने समूह तयार गर्नुपर्छ । पराम्परागत गुटबाट माथि उठेर नयाँ शिराबाट पार्टीलाई अगाडि बढाउन सबै क्रियाशील हुनुपर्छ ।

गुटको जति विरोध गरे पनि गुटगत छलफल बढ्दो छ । तपाईं पनि सभापति देउवाइत्तर गुटमा हुनुहुन्छ । त्यो गुटमा आकांक्षी धेरै छन् । कसरी मिलाउँदै हुनुहुन्छ ?

पहिलो कुरा त एउटै उम्मेदवार चयन गर्नु राम्रो हो । हामीले नेतृत्व परिवर्तको कुरा उठाइरहेका छौं । नेतृत्व परिवर्तनको सवाललाई नारामा मात्रै सीमित नगरेर व्यवहारमा लागू गर्ने हो भने त सबै मिलेर एकजना उम्मेदवार तय गर्नुको विकल्प छैन ।

लोकतान्त्रिक पार्टीभित्र लोकतान्त्रिक अभ्यास छ, हुन्छ नै । त्यसका लागि वैचारिक दृष्टिले एक ठाउँमा उभिएका नेताहरू सबै उम्मेदवार हुँदा जित सम्भव हुँदैन । त्यसैले साझा उम्मेदवार बनाउन नेताहरूका बीचमा पर्याप्त छलफल पनि भइरहेको छ ।

हामीले पनि नेताहरूलाई भेटेर एकताका लागि दबाब दिएकै छौं । अहिलेसम्म पद लिएका आधारमा सभापतिदेखि उपसभापति, महामन्त्री लगायतका सबै पद उहाँहरूले नै लिनुभयो भने त्यो झन् खतरनाक हुन्छ । त्यसले पार्टीलाई हित गर्दैन ।

त्यसैले अहिले सभापतिमा दावी गर्नेमध्ये एक जना सभापतिको उम्मेदवार हुने र अरुले सहयोग गर्ने वातावरण बनाउनुपर्छ । सभापतिको रेस छोड्ने नेताहरुलाई भविष्यमा पार्टीले प्राप्त गर्ने शासकीय पदहरुमा व्यवस्थापन गर्न सकिन्छ । तर सभापतिबाहेकका पदहरुमा हाम्रो पुस्ताको दावी छ । सभापतिमा दावी गरेर तल झर्नु नेताहरुका लागि उपयुक्त हुँदैन । यो कुरा हामीले नेताहरुलाई भनेका छौं ।

सम्भवतः छिट्टै नै हाम्रो समूहबाट साझा निष्कर्ष र उम्मेदवार बनाउन हामी सफल हुन्छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर