पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा – Nepal Press

पाँच प्रदेशका केही ठाउँमा भारी वर्षा

काठमाडौं । मनसुनी वायु सक्रिय रहेकाले मुलुकका विभिन्न क्षेत्रमा आज बिहानैदेखि पानी परिरहेको छ । मुख्यगरी प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँ-ठाउँमा पानी परिरहेको र थोरै ठाउँमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसपालि खुल्दै, पुनः पानी पर्दै तर देशैभरि ढाक्ने गरी वर्षा भने नहुने मौसमविद् प्रतिभा मानन्धरले बताए । ‘ती प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना रहेकाले दुई दिन सावधानी अपनाउनु पर्ने र त्यसपछि कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सक्रिय हुने देखिन्छ’, उनले बताए ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण जमीन गलिसकेको र विगतमा बाढी पहिरो गएको तथा भूकम्पले क्षति पुर्‍याएको क्षेत्रमा सानो पानीले पनि असर गर्न सक्ने हुँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ ।

पानी रोकिँदै र पर्दै गर्ने भएकाले ठूलो समस्या ननिम्तिए पनि केही ठाउँमा पर्ने भारी वर्षाले असर गर्न सक्ने हुँदा सावधानी अपनाउनु पर्नेछ । अहिलेको समयमा असारे काम गर्न भने निकै सहयोग पुग्ने जनाइएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको जनाइएको छ ।
रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर