असारमसान्तभित्र आवद्ध भएर अवकास वा पेन्सन सेवा रोज्ने सुविधा लिन कोषको आग्रह – Nepal Press

असारमसान्तभित्र आवद्ध भएर अवकास वा पेन्सन सेवा रोज्ने सुविधा लिन कोषको आग्रह

काठमाडौं । सामाजिक सुरक्षा कोषले २०७८ असार मसान्तभित्र योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध भएर अवकाश वा पेन्सन सुविधा रोज्ने व्यवस्था लिन आग्रह गरेको छ । कोषले चालु आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तभित्र आवद्ध भई योगदान सुरु गर्ने योगदानकर्ताले अवकाश हुँदा वा जुनसुकै समयमा रोजगारबाट अन्त्य हुदाँ तत्कालै वृद्धावस्था सुरक्षा योजना अन्तरगत जम्मा भएको प्रतिफलसहितको सम्पूर्ण रकम भुक्तानी लिन चाहेमा एकमुष्ट रुपमा लिन सक्ने जनाएको हो ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ दोस्रो संशोधनबाट २०७८ असार मसान्तसम्म योगदानकर्ताले योगदान सुरु गरेमा कार्यविधिले प्रदान गरेको यो सुविधा लिन सकिने कोषका उप कार्यकारी निर्देशक विवेक पन्थीले नेपाल प्रेससँग बताए । उनका अनुसार २०७८ साउनपछि योगदान सुरु गर्ने योगदानकर्ताका लागि पनि अवकास हुँदाका बखतमा नै अवकास सुविधा योजनामा जम्मा भएको रकम प्रतिफल अर्थात व्याज सहित फिर्ता पाउने व्यवस्था छ ।

योगदानकर्ताले चाहेमा निवृत्तभरण योजनामा सरकारले तोकेको न्यूनतम आधारभूत पारिश्रमिकको ३ गुणा रकम मात्र जम्मा हुने गरी त्यसभन्दा बढी रकम अवकाश योजनामा जम्मा हुने व्यवस्थाबाट जुनसुकै समयमा रोजगारीबाट अलग हुदाँ सम्पूर्ण रकम निकाल्न सकिने व्यवस्था रहेको पनि कोषले जनाएको छ ।

जुनसुकै योगदानकर्ताको १५ वर्ष अर्थात १ सय ८० महिनाभन्दा कम अवधिको योगदान रकम जम्मा भएमा निवृत्तभरण योजनाको रकमसमेत निवृत्तभरण नलिई एकमुष्ट भुक्तानी लिन चाहेमा लिन सक्ने व्यवस्था छ । सम्बन्धित योगदानकर्ताले चाहेमा अन्य अवकास कोषमा रहेकोृ पुरानो रकम कोषमा हस्तान्तरण गर्ने व्यवस्था कार्यविधिले गरेकाले त्यस्तो हस्तान्तरण अनिवार्य नभई स्वेच्छिक प्रावधान रहेको पनि जनाइएको छ ।

तर यति राम्रा सुविधा कार्यविधि संशोधनमार्फत सम्बोधन गरिए पनि पछिल्लो समय सामाजिक सञ्जाल लगायत अन्य माध्यमबाट गलत प्रचार भइरहेकोप्रति कोषको ध्यानाकर्षण भएको छ ।

योगदानकर्ताका लागि निवृत्तभरण अनिवार्य र ६० वर्षभन्दा पहिले नै रोजगारी छोडेमा निवृत्तभरण योजना अन्तरगत रकम निकाल्न ६० वर्ष पर्खनुपर्ने, अन्य अवकास कोषमा रहेको पुरानो रकम समेत कोषमा नै अनिवार्य ल्याउनुपर्ने एवं उक्त रकम निकाल्नका लागि समेत ६० वर्ष नै पर्खनुपर्ने र योदान रकमको साँवा रकम नै प्राप्त नहुने भन्ने लगायतका टिप्पणी गलत भएको स्पष्ट पारेको छ ।

आगामी दिनमा निवृत्तभरण योजनालाई बिमाकिंय मूल्यांकनका आधारमा योगदानकर्तामैत्री र समय सान्र्दभिक बनाउँदै जाने पनि कोषले प्रतिवद्धता जनाउँदै आएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा सबै श्रमिकले पाउनेगरी कानूनी व्यवस्था भएको भन्दै कोषमा श्रमिकको सूचीकरण तथा नियमित योगदान गरी तथा गराएर रोजगारदाता निहीत दायित्विसमेत कोषमा हस्तान्तरण गर्न कोषले अनुरोध गरेको छ ।

श्रम ऐन, २०७४ र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ मा श्रम ऐन लागु हुने सम्पूर्ण क्षेत्रका लागि सामाजिक सुरक्षा कोषमा आवद्धता अनिवार्य व्यवस्था गरिएको छ । यसअघि सरकारले २०७५ साल कात्तिक २६ गतेदेखि निरन्तर राजपत्रमार्फत सूचना प्रकाशित गरी ऐनले निर्धारित समायावधिभित्र कोषमा रोजगारदाता आवद्ध भई श्रमिकलाई समेत आवद्ध गराउन सूचित गर्दै आएको स्मरण गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *